३३ किलो सुन तस्करी प्रकरण : राजनीतिक संरक्षणबिना तस्करी सम्भव छ ?
काठमाडौं– ‘३३ किलो सुन प्रकरणमा सई, डीएसपी, एसपी र डीआईजी तानिए ठीक छ । तर यत्ति ठूलो प्रकरण तत्कालीन आईजीपी, गृहसचिव र गृहमन्त्रीसम्म नपुगी कसरी सही निष्कर्षमा पुग्ला ? फेरि पनि सानालाई ऐन, ठूलालाई चैन नहोस् गृहमन्त्रीज्यू !’ विष्णु रिजालले सामाजिक सञ्जाल (फेसबुक)मा सोमबार यस्तो स्टाटस पोस्ट गरेका थिए ।
रिजाल एमाले प्रचार विभाग सचिव छन् । उनी माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको प्रेस सल्लाहकार थिए, अर्थात राज्यसंयन्त्रका भित्री कुरामा उनी अहिले पनि अपडेट हुन्छन् । त्यसैले उनको आशङ्का सामान्य हुँदैन ।
रिजालको स्टाटसबाट के विश्लेषण गर्न सकिन्छ भने, सुन तस्करीको छानविन गर्न बनेको सहसचिव नेतृत्वको समितिले ‘ठूला माछा उम्काउने र सानालाई मात्र जालमा हाल्ने’ गरी प्रतिवेदन बुझाउनेमा बौद्धिक तबरबाट आशङ्का बढ्दै गएको छ ।
अर्थमन्त्री हुँदा कृष्णबहादुर महराले सुन तस्करीमा पक्राउ पर्नेहरूलाई ‘भुरा माछा’ भनेका थिए । त्यसपछि सुन तस्करीमा ‘भुरा र ठूला माछा’ को बहस सुरु भएको हो । महराले भनेजस्तै ठूला माछा को हुन् ? सुन तस्करीको दुनियाँमा यो अझै अन्यौल नै छ ।
आशङ्का नहोस् पनि कसरी ? गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौलालाई नियन्त्रणमा लिए पनि त्यसभन्दा माथिल्लो लेयरमा देखिएका तस्करका मतियारलाई अनुसन्धानको दायरामा ल्याउन सकेका छैनन् ।
सङ्गठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकाहरूलाई ६० दिनभित्र अदालतमा मुद्दाको फाइलसहित बुझाइसक्नुपर्छ । सनम शाक्यको शव बरामद भएको भोलि (बुधबार) ६० दिन पुग्दैछ ।
गोविन्द निरौलाभन्दा माथिल्लो निकायका सुन तस्करका मतियारको थियो ? के राजनीतिक नेतृत्वको संरक्षणविना यत्ति ठूलो तस्करी सम्भव थियो ? यसबारे समितिका सदस्यहरू केही बोल्नै चाहँदैनन् ।
‘ओपन सेक्रेट’ के हो भने तस्करहरूले राज्यको शक्तिकेन्द्रको रूपमा हालिमुहाली गर्दै आएका छन् । सुन तस्कर हुन् या सुपारी तस्कर, राजनीतिक नेताहरूको संरक्षणमा उनीहरूले कर्मचारी संयन्त्रसँग प्रयोग गर्छन् अनि आफ्नो तस्करीको लाइन चलाउँछन् ।
‘तस्करहरू राज्यका शक्तिकेन्द्र हुन्’, नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘एयरपोर्ट लाने, डीआईजी, एआईजी बनाउने ब्रोकर यिनै तस्कर हुन्, ब्रोकरलाई पोलिसी मेकरहरूले प्रभावित पार्छन् ।’
तत्कालीन सरकारले उपेन्द्रकान्त अर्याललाई हटाएर राजेन्द्रसिंह भण्डारीलाई आईजीपी बनाउन लागेको चर्चा चलेको थियो । त्यतिबेला तस्करहरूले ‘पैसा चाहिए हामीलाई भन्नुहोला’ भन्दै आफूलाई अफर गरेको कुरा स्मरण गर्दै पूर्व एआईजी भन्डारी भन्छन्, ‘यिनीहरू राज्यका शक्तिकेन्द्र हुन् । अहिलेको छानविन समितिबाट काम हुन्छ जस्तो मलाई लाग्दैन । तस्करको जालो तोड्न न्यायिक आयोग गठन गर्नुपर्छ ।’
हामीले पूर्वएआईजी भण्डारीलाई सोधेका थियौं, ‘राजनीतिक नेतृत्वको संरक्षणबिना यत्ति ठूलो तस्करीको लाइन चलाउन सम्भव छ ?’
‘राजनीतिक मिलेमतोबिना यस्तो तस्करीको कल्पना पनि गर्न सकिँदैन’ भण्डारी भन्छन्, ‘हैन भने एउटा नेतृत्व आउँदा तस्करीमा संलग्न समातेर अनुसन्धान गर्ने, अर्को पोलिटिकल नेतृत्व हुँदा संरक्षणमा तस्करी गराउने ? यो अर्गनाइज्ड हैन स्टेट एरेन्ज क्राइम हो ।’
अच्यूतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानको समयमा भएको ‘आईजीपी लफडा’को समयमा राजनीतिक नेतृत्वमा रहेकाहरूले तस्करी गर्नका लागि आईजीपी परिवर्तन गर्न खोजेको प्रसङ्ग राजधानीका गल्ली र चिया दोकानहरूमा चल्ने गरेको थियो । अहिले त्यो लेबलबाट चर्चा हुन छाडेको छ तर ओपन सेक्रेट कुरा के भने ‘पोलिसी मेकरको संरक्षणबिना अहिलेको तस्करी भएकै छैन ।’
राजनीतिक नेतृत्वको संरक्षणविना यत्ति ठूलो तस्करीको लाइन नचल्ने कुरामा सहमत छन्, पूर्व गृहसचिव उमेश मैनाली । ‘सामान्यतया राजनीतिक नेतृत्वको संरक्षणबिना त्यो सम्भव हुँदैन । किनकि त्यो मेसनिरीले धेरै ठूलो रिस्कमा काम गर्नुपर्ने हुन्छ’– पूर्व गृह–सचिव मैनाली भन्छन्, ‘राजनीतिक नेतृत्वबिना तस्करी नै हुँदैन भन्ने चाहिँ हैन तर नेतृत्वको संरक्षणबिना त्यो काम फत्ते गर्ने सम्भावना धेरै कम हुन्छ ।’
ब्युरोक्र्याट्स र प्रहरीमा केही दुस्साहसी अफिसर नहुनेचाहिँ हैनन् तर पोलिसी मेकर र राजनीतिज्ञहरूको संलग्नता बेगर असम्भव जस्तै हुने सुन तस्करीमा जोडिएका नेतृत्वलाई कानुनी दायरामा ल्याउने हिम्ममत समितिले किन गर्न सकेको छैन् ?
विगतमा कतिपय घटना कस्ता हुने गरेका थिए भने राजनीतिक नेतृत्वले मोटो रकम कमिसन खान्थे । अनि अनुसन्धान गर्दै जाँदा कर्मचारीतन्त्रका उच्च अधिकारीको मात्रै संलग्नता पुष्टि हुन्थ्यो । त्यसैको उदाहरण थिए, सुडान काण्डमा जेल परेका ओमविक्रम राणा । नेपाल प्रहरीको इतिहाँसमा ‘सोझो’ अफिसरको छवी बनाएका राणा राजनीतिक कोपभाजनको शिकार भएका थिए ।
‘विगतमा राजनीतिक नेतृत्व पनि सेटिङमा संलग्न थियो भन्नेकुरा सञ्चार माध्यममा आएकै विषय हुन्’ पूर्वगृह–सचिव श्रीकान्त रेग्मी भन्छन्, ‘सेटिङ मिलाएर गरेको अवस्थामा राजनीतिक नेतृत्वको पनि संलग्नता हुन्छ ।’
पछिल्लो समय २०७४ फागुन ९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल अगाडिबाट हराएको ३३ किलो तस्करीको सुन कसको संरक्षणमा तस्करी गरिएको थियो ?
त्यसमा राजनीतिक तहबाट को–को संलग्न थिए ?
त्यसको छानविनका लागि न्यायिक आयोग गठन भएमा मात्र तस्करीको जरो पहिल्याउन सम्भव छ ।
अन्यथा अहिलेको ‘कर्मचारी समिति’ सुनका भरिया र प्रहरीलाई नियन्त्रणमा लिनेभन्दा अगाडि बढ्ने देखिँदैन् ।
विगत हेर्ने हो भने नेपालमा पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध रहेको पाइन्छ ।
नेपाल ४० को दशकमा नै सुनको ‘ट्रान्जिट’ बनिसकेको थियो भन्ने गरिन्छ ।
राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा र नरबहादुर गुरुङ हङकङबाट सुन ल्याउँदाल्याउँदै विमानस्थलमा समातिएको इतिहास छ ।
०५१–०५६ मा नेपाल सुन तस्करी बढी भएको थियो ।
खुमबहादुर खड्का, वामदेव गौतम र रवीन्द्रनाथ शर्माजस्ता नेता सुन तस्करीको विवादमा तानिएका थिए । कृष्णबहादुर महरा तस्करलाई ‘भुरा’ भनेर विवादमा तानिएका थिए ।
ईश्वरले देखेनन्, सुन थन्क्याउने ‘गोरे’की प्रेमिका !
काठमाडौंको गौरिघाटमा बस्छिन् रक्षा भण्डारी ।
सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’को प्रेमिका भनेर चिनिने रक्षा भण्डारीलाई बेला–बेला गोरेले सुन ल्याएर राख्न दिन्थे ।
तस्करीको सुन थन्क्याउने र गोरेले भनेको मान्छेबाट पैसा लिने अनि उनले भनेको ठाउँमा पैसा दिन जाने भण्डारी अहिले पनि ‘गोरे’को सम्पर्कमै रहेको बताइएको छ । तर सुन छानविन गर्न बनेको समितिले अहिलेसम्म उनलाई पक्राउ गरेको छैन ।
‘गोरे’ निकट स्रोतका अनुसार सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिमा गोरेको पहुँच रहेको पाइएको छ ।
समितिका संयोजक पौडेल आफैंले ‘गोरे’लाई अदालतमा उपस्थित गराउने गरी छानविन अगाडि बढाएका छन् ।
समितिमा रहेका प्रहरी अधिकारीले दुबईमा रहेका गोरेको भाइ, श्रीमती र कलकत्तामा रहेको गोरेको फ्ल्याटको लोकेसन पत्ता लगाइसकेको अवस्थामा संयोजक पौडेलले ‘अहिले छाडिदिनुस्’ भन्दै दुबई र
कलकत्तामा इन्टेलिजेन्स अफिसर पठाउन आनाकानी गरिरहेको समितिका एक सदस्यले बताएका छन् ।
समितिले रक्षा भण्डारीको सम्पत्ति रोक्का गरेको भए पनि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छैन् । उनी अहिले गौरिघाटमै रहेको बताइएको छ ।
त्यति मात्र हैन, ‘गोरे’का परिवारका सदस्यलाई समेत समितिले बोलाएर सोधपुछ गर्न सकेको छैन ।
‘ओपन सेक्रेट’ राजनीतिक नेतृत्वको आडमा तस्करीको लाइन चलाइरहेका गोरे सेटिङमै अदालत पुगेर कतै धरौटीमा छुटेर फेरि तस्करीको लाइन चलाउने त हैनन् ? प्रश्न उठेको छ ।
के सुनका भरियाले मात्रै जेल बसेर तस्कर छाती खोलेरै हिँड्ने परम्पराको अन्त्य होला ?
यो पनि पढ्नुहोस्
पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’
तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !
सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !
रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा
३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !
३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१
‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !
३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर (पत्रसहित)
सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु
सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !
सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना