शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

शनिबार, २४ चैत २०७४, १९ : ५०
शनिबार, २४ चैत २०७४

काठमाडौं । तस्करीको ३३ किलो सुन गायब भएसँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’मा शंकास्दप भूमिका देखिएका एसएसपी दिवेश लोहनीसहित तीन सुरक्षा अधिकारी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले पत्राचार गरेर एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर हुन निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी अधिकृतहरुलाई हेडक्वार्टर तानिएको प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।  

फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।

फागुन १९ गते विराटनगरको पोखरीयाबाट महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल समेतको टोलीले शाक्यको शव बरामद गरेको थियो । ‘सनम हत्या प्रकरण’मा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै गठित छानबिन समितिको सिफारिसमा एसएसपी लोहनीसहित तीन अधिकृतलाई महाशाखाको जिम्मेवारीबाट हटाईएको छानबिन समितिमा रहेका एक उच्च अधिकृतले जानकारी दिएका छन् । 

शाक्यको हत्या प्रकरणमा प्रहरीकै मिलेमतोको संकेत देखिएपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डिआईजी पुष्कल रेग्मीको कमाण्डमा छानबिन समिति निर्माण गरेको थियो । छानबिन समितिमा गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल, एसएसपी बसन्त लामा, विशेष ब्यूरोका डिएसपी सुदिप पाठक र केन्द्रिय अनुसन्धान ब्यूरोका इन्सपेक्टर भीष्म हुमागाई सदस्य रहेका छन् ।

समितिले चैत २० र २१ गते एसएसपी लोहनी प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल र प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रजित केसीसँग बयान लिएको थियो । 

तस्करीको आधा अर्थात साँढे १६ किलो सुनको लोभमा प्रहरी अधिकृतले सनमको हत्यापछि ‘शव व्यवस्थापन’को जिम्मा लिएको सुचना पाएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालयलाई घटना छानबिन गर्न निर्देशन दिएका थिए । 

यो पनि पढ्नुहोस् 

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

 

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप