शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

आइतबार, २५ चैत २०७४, १३ : ०१
आइतबार, २५ चैत २०७४

काठमाडौँ । नेपालमा हुने सुन तस्करीमा पटक–पटक जोडिने नाम हो, चुडामणि उप्रेती । सुन तस्करीबारे नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी अफिसरहरु उनलाई ‘गोरे’ उपनामले चिन्छन् । फागुन पहिलो साता तिनै ‘गोरे’ले चीनको केरुङ नाका हुँदै ल्याएको ३३ किलो सुन गायब भएसँगै मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या भयो । 

शाक्यको हत्यासँगै प्रहरीको भूमिकामाथि नै प्रश्न उठाउँदै गृह मन्त्रालयले गठन गरेको सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितीले चुडामणी उप्रेतीले सुन स्टोर गर्ने भनिएको पुरानो बानेश्वरस्थित एक घरमा छापा मारेको छ ।

शुक्रबार सादा पोशाकका प्रहरी लिएर पुरानो बानेश्वरमा रहेको एक घरको दुईओटा कोठामा छापा हान्दा समितिले उप्रेतीबारे थप नयाँ तथ्य फेला पारेको छ । 

काठमाडौँको गौरीघाटमा आलिसान महल बनाएका उप्रेतिले बानेश्वरमा सुन स्टोर गर्नका लागी लिएको दुईओटा कोठाबाट सुनका बिस्कुट बोक्न प्रयोग हुने वेस्टकोट र पैसा गन्ने मेशिन नै फेला परेको बताइएको छ । 

‘दश ओटा सुनका बिस्कुट सुरक्षित रुपमा लुकाएर लगाउन सकिने वेस्टकोट भेटिएको छ, जुन वेस्टकोटको भित्री भागमा सुरक्षा अधिकारीले थाहा नपाउने गरी दायाँ र बाँया कोखातर्फ ५–५ ओटा बिस्कुट बोक्न सकिन्छ’ गोरेको घर छापा हान्न गएका एक प्रहरी अधिकृत भन्छन्, ‘अर्को अचम्म लाग्दो केछ भने, ‘सामान्यतया सहकारीहरुमा समेत नहुने पैसा गन्ने मेशिन गोरेको कोठामा भेटियो ।’  

उनको कोठामा फरक–फरक ब्यक्तिको नाममा एकैपटकमा ७० लाख ८५ हजारसम्म बैंक डिपोजिट गरेको बैंक भौचर समेत ठूलो संख्यामा भेटिएको छ । सह–सचिव पौडेल नेतृत्वको समितीले उनको कोठमा भेटिएका भौचर, पैसा गन्ने मेशिन र सुन बोक्ने स्टकोट बरामाद गरेर थप अनुसन्धान गरिरहेको छ । 

पक्राउ पर्नेको संख्या १० पुग्यो  

तस्करीको ३३ किलो सुन प्रकरणमा संलग्न थप १० जनालाई छानविन समितिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बिहीबार र शुक्रवार काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छानविन समितीमा रहेका एक उच्च अधिकृतले बताएका छन् । समितिमा अपराध अनुसन्धान विभागका डिआइजी पुष्कल रेग्मी, अपराध अनुसन्धान विभागका एसएसपी बसन्त लामा, विशेष ब्युरोका डिएसपी सुदीप पाठक, केन्द्रिय अनुसन्धान ब्युरोका इन्सपेक्टर भिष्म हुमागाई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रायलका उप–सचिव भविश्वर पाण्डे र कानुन अधिकृत भोजराज दाहाल सदस्य छन् । 

तस्करीको आधा अर्थात साढे १६ किलो सुनको लोभमा प्रहरी अधिकृतले सनमको हत्यापछि ‘शव ब्यवस्थापन’को जिम्मा लिएको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालयलाई घटना छानविन गर्न निर्देशन दिएका थिए । सुन तस्करका नाइके गोरे र उनले तस्करी गरेर ल्याएका उक्त सुन अझै फेला परेको छैन । गोरेलाई प्रहरीले नै सूचना चुहाएर भगाएको बताइएको छ, प्रहरी स्रोतका अनुसार उनी अहिले भारतमा लुकेर बसेका छन् । 

यो पनि पढ्नुहोस् 

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप