मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

बिहीबार, ०६ वैशाख २०७५, १२ : १२
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौँ । फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एल.बी मगर । २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन् । त्यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ ले उक्त सुन पुरानोबानेश्वर सम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए । सानु तिनै हुन् जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । 

५५ बर्षिय सानु बन थाई एयरवेजका बरिष्ठ टेक्निसियन हुन् । सानु बन स्कुटरको पछाडी थिए, स्कुटर चलाउने ब्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कूलमा पुगेको मात्र के थियो, त्यहिँबाट बनले ‘गोरे’ लाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए । 

‘गोरे’ ले सुन लुटिएको कुरा पत्याएनन्, अनि बनलाई रातदिन टर्चर दिन थाले । ‘संगठीत रुपमा भएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण’ छानविन गर्न बनेको समितिका एक सदस्यका अनुसार समितिले सानु बनलाई टर्चर दिएको भिडियो फेला परेको छ । उक्त भिडियोमा ‘गोरे’ ले बनलाई भनेका छन्, ‘सुन लुकाएको ठाउँ देखाइस् भने तलाईं बक्सिस दिन्छु, के बक्सिस थाहा छ ? तलाईं जीवन बक्सिस दिन्छु ।’ 

हरेक दिनको टर्चर अनि ‘गोरे’ले जीवन नै सिध्याउने धम्की दिन थालेपछि बनले आत्महत्याको बाटो रोजेको हुनसक्ने छानविन समितिका एक सदस्य बताउँछन् । माघ २२ गते थाई एयरवेजको ग्राउण्ड ह्याण्डेलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै गुडिरहेको इन्धन बोक्ने एआर–२७ नम्बरको ट्याङ्करमा दौडिएर उनी चक्कामूनि पसेको सिसिटीभी फुटेजमा देखिन्छ । 

सानु बनका छोराले आफ्नो बुबाले आत्महत्या नै गरेको समितिका सदस्यहरुलाई बताएका छन् । समितिका एक सदस्य भन्छन्, ‘उनको छोरालाई हामीले बोलाएर सोधपुछ गरेका थियौँ, आत्महत्या नै गरेको भनेर घटना स्थापित गर्ने शर्तमा मात्रै उनले हामीलाई सहयोग गर्ने बताएका छन् ।’ 

मृतक शाक्य ‘गोरे’ को एकाउन्टेन्ट 

फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका मोरङको उर्लाबारी–७ का सनम शाक्य सुन तस्कर ‘गोरे’को एकाउन्टेन्ट भएको तथ्य खुलेको छ । समितिको छानविनका क्रममा शाक्य समेतको मिलेमतोमा सुन गायब गराइएको भन्दै ‘गोरे’ ले उनलाई यातना दिएको खुल्न आएको छ । यातना दिने क्रममा शाक्यको मृत्यु भएसँगै ‘गोरे’ र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेलको बीचमा शव व्वस्थापनकै लागी पाँच करोडबाट शुरु भएको बार्गेनिङ दुई करोडमा टुंगिएको छानविन समितिएका एक सदस्यले बताएका छन् । समितिसमक्ष बयान दिने क्रममा सञ्जेलले हत्यारा पक्राउ गर्न र शव बरामद गर्नका लागि आफुले राम्रो उद्देश्य राखेर (गुड फेथमा) त्यस्तो बार्गेनिङ गरेको बताएका छन् । यद्यपि छानविनको क्रममा शंकास्पद भूमिका देखिएको र प्रहरी प्रधान कार्यालयको लिखित आदेशबिना कार्यक्षेत्र ख्यालै नगरीकन धरान पुगेको भन्दै महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रधान कार्यालयले महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ । 

पूर्व डिआईजी अनुसन्धान घेरामा, प्रकाश अर्यालसँग पनि बयान लिइने

धरानको जंगलमा सनम शाक्यको मृत्यु हुनुअघि उनले बोलेको र यातना दिएको भिडियो समितिले फेला पारेको छ । उक्त भिडियोमा सनमले ‘डिआईजी गोविन्द मामा’ भनेर पूर्व डिआईजी गोविन्द निरौलाको नाम लिएका छन् । 

चैत २६ गते अवकास पाएका डिआईजी निरौलामाथि पनि अनुसन्धान भईरहेको समितिका एक सदस्यले बताएका छन् । पछिल्लो पटक प्रहरी प्रधान कार्यालय सरुवा हुनुअघि निरौला त्रिभुवन विमानस्थलमा कार्यरत थिए । 

पुरानो बानेश्वर स्थित ‘गोरे’ ले सुन लुकाउने अड्डामा छापा मार्ने क्रममा भेटिएको डायरीमा सुन तस्करीमा पैसा लिएर सहयोग गर्दै आएका प्रहरी अधिकारीको नाम कोड भाषामा लेखेको भेटिएको छ । ‘त्यस्तो कोड भाषालाई डिकोडिङ गर्न सक्ने मान्छेको खोजीमा छौं’ समितिका एक सदस्य भन्छन्, ‘कत्तिपय प्रमाणहरु हामीले परिक्षणका लागी ल्याबमा पठाएका छौं, पक्राउ परेकाहरुमध्येको अक्षर मिल्न सक्छ की त्यो पनि हेर्दै छौँ ।’ 

काठमाडौं उपत्यका मात्रै कार्यक्षेत्र भएको अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेश लोहनीले तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको आदेशले पूर्वमा गएको बयान दिएका छन् । ‘पूर्वमा त्यहीँ स्थानिय प्रहरी हुँदाहुँदै लिखित आदेश बिना किन महाशाखाबाट प्रहरी पठाइयो भन्नेबारे प्रश्न उठेको छ’ समितिका एक सदस्य भन्छन्, ‘तत्कालिन प्रहरी प्रमुख प्रकाश अर्यालसँग पनि बयान लिन्छौं ।’ 

बाजेको सेकुवामा ‘गोरे’को मिटिङ 

३३ केजी सुन तस्करी प्रकरणमा ‘बाजेको सेकुवा’का सञ्चालक चेतन भण्डारी पनि मुछिएका छन् । चुडामणि उप्रेति ‘गोरे’ ले चेतनलाई भाञ्जा भन्छन् । पछिल्लो समय काठमाडौं उपत्यका र बाहिर समेत ‘सेकुवा चेन’ विस्तार गर्दै आएका भण्डारी समेत ३३ किलो सुनको लगानीकर्ता मध्येको एकजना रहेको समितिका एक सदस्यले बताएका छन् । 

सुन तस्करहरुको मिटिङ अधिकांस समय एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरमै हुने गरेको बताइएको छ । उक्त मिटिङमा पटक–पटक चेतन भण्डारीको पनि उपस्थिति देखिएपछि छानविन समितिले उनको बैंक खाता र सम्पत्ति रोक्का गरेको छ । 

चुडामणि उप्रेतिले धेरैजसो फ्लाई दुबई र थाई एयरवेजबाट सुन ल्याउँथे । छानबिन समितिका एक सदस्यका अनुसार ‘गोरे’ ले प्रतिमहिना १० पटकसम्म सुन ल्याउने गरेको खुल्न आएको छ । 

गृह–मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले अहिलेसम्म सुन तस्करीको चेनमा जोडीएका १९ जनालाई पक्राउ गरेर संठगित अपराध तथा कर्तव्य ज्यान मुद्दा चलाएको छ । अहिलेसम्म पक्राउ परेकाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन, भारतीय नागरिक महाविर गोल्यान, एल बी मगर, आरके ज्वैलर्सका सञ्चालक राजेन्द्र शाक्य रहेका छन् । केही दिनअघि शाक्यसँगै पक्राउ परेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा रहस्यमय मृत्यु भएको थियो । चौधरी सहित उक्त सुन प्रकरणमा मृत्यु हुनको संख्या ३ पुगेको छ । 

यो पनि पढ्नुहोस् 

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप