मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

आइतबार, ११ चैत २०७४, १५ : १०
आइतबार, ११ चैत २०७४

काठमाडौँ– नेपालमा हुने सुन तस्करीमा पटक–पटक जोडिने नाम हो, चूडामणि उप्रेती । सुन तस्करीबारे नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी अफिसरहरू उनलाई ‘गोरे’ उपनामले चिन्छन् । फागुन पहिलो साता तिनै ‘गोरे’बाट चीनको केरुङ नाका हुँदै ल्याएको ३३ किलो सुन गायव भयो । त्यति ठूलो परिणामको सुन कसैले लुकायो वा लुटियो ? अहिलेसम्म खुल्न सकेको छैन । तर, सोही सुनको भरिया भनिएका मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या प्रकरणमा प्रहरीकै मिलेमतोको सङ्केत देखिएपछि घटना झन् रहस्यको गर्भमा धकेलिएको छ । 

तस्करीको आधा अर्थात साढे १६ किलो सुनको लोभमा प्रहरी अधिकृतले सनमको हत्यापछि ‘शव व्यवस्थापन’को जिम्मा लिएको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालयलाई घट्ना छानविन गर्न निर्देशन दिएका थिए । 

मन्त्रीको निर्देशनपछि अपराध अनुसन्धान विभागका डीआईजी पुष्कल रेग्मीको कमान्डमा बनेको छानविन समितिले आफ्नो काम सुरु गरेको छ । समितिमा अपराध अनुसन्धान विभागका एसएसपी वसन्त लामा, विशेष ब्युरोका डीएसपी सुदीप पाठक र केन्द्रीय अनुसन्धान ब्युरोका इन्सपेक्टर भीष्म हुमागाईं सदस्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

के थियो घट्ना ? 
फागुन १८ गते शुक्रबार महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी, सई बालकृष्ण सन्जेल र एक प्रहरी जवान जहाजको टिकट काटेर विराटनगरतर्फ लागेका थिए । 

फागुन १९ गते शनिबारको दिन थियो, विराटनगर महानगरपालिका–३ स्थित पोखरियामा डीएसपी केसीको कमान्डमा खटिएको सादा पोसाकका प्रहरीले स्कोरपियो गाडीबाट शवसहित तीन जनालाई नियन्त्रणमा लिए । शव फेला परेको करिब आधा घण्टामा महाशाखाले सञ्चार माध्यमलाई त्यसबारे ‘प्रेस रिलिज’ पठाएको थियो, जत्तिबेला पूर्व क्षेत्रका एआईजी पशुपति उपाध्याय घटनाबारे पत्रकार सम्मेलन गर्ने तयारी गर्दै थिए । एआईजी उपाध्यायले पत्रकार सम्मेलनमा भनेको कुरा र महाशाखाले जारी गरेको विज्ञप्तीको बीचमा कुरा बाझिएपछि धेरै प्रहरी अफिसरले शङ्का गरिसकेका थिए, ‘दालमे कुछ काला हैं ।’ 

शुक्रबार अबेर विराटनगर विमानस्थल ओर्लिएका डीएसपी केसी र सई सन्जेल धरानतर्फ लागेका थिए । उनीहरू धरान नपुग्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलललाई फोन गरेर ‘केही सिभिल प्रहरी र मोबाइल भ्यान स्ट्यान्डबाई राख्न’ आदेश दिएका थिए । 

‘मैले धरानको भानुचोकमा दुई जना सिभिल प्रहरी र मोबाइल भ्यान पठाएको थिएँ’ इलाका प्रहरी कार्यालय धारानका डीएसपी रामेश्वर पौडेलले भने, ‘काठमाडौंबाट एसएसपी दिवेश लोहनीले मलाई फोन गरेर टोली स्ट्यान्डबाई राख्नु, आवश्यक परेमा खबर गरौंला भन्नुभएको थियो ।’

महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल धरानको भानुचोकमा पुगे, त्यहाँ डिकीमा शव लुकाएर एउटा स्कोरपियो आइपुग्यो । बा. १२ च ५९३३ नम्बरको स्कोरपियो टेकराज मल्लले चलाएका थिए । गाडी चालक मल्लसँग डीएसपी केसी र सई सन्जेलले केही बेर कुरा गरे, जुन घट्ना वडा प्रहरी कार्यालय धरानका असई टीकाराम कार्कीले देखेका थिए । घटनाको बेला भानुचोकमा ड्युटीमा रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङले बयान लिइसकेको छ । आफ्नो बयानमा कार्कीले भनेका छन्, ‘ड्राइभरसँग केहीबेर कुराकानी गरेपछि प्रहरी चढेको सिभिल गाडी र स्कोरपियो सँगसँगै इटहरी तर्फ लागेको थियो ।’ 

१८ गते राती इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा भानुचोकमा खटिएका प्रहरी हवल्दार भीम दाहाल र प्रहरी जवान राजकुमार श्रेष्ठले पनि छानबिन समितिलाई बयान दिइसकेका छन् । बयानमा क्रममा उनीहरूले राति शुक्रबार राति ३ बजेतिर सेतो स्कोरपियो र प्रहरीको गाडी सँगसँगै इटहरीतर्फ लागेको बयान दिएको बताइएको छ । 

प्रहरी स्रोतका अनुसार भानुचोकमा मोरङका नरेन्द्र कार्की र मोहन काफ्लेलाई प्रहरी नायव निरीक्षक (सई) सन्जेलले भेटेर ‘तिमीहरू घर जाँदा हुन्छ’ भनेपछि उनीहरू आफ्नो बाटो लागेका थिए । कार्की र काफ्ले तिनै व्यक्ति हुन्, जसलाई सुन तस्करले सनम शाक्यसँगै जङ्गलमा लगेर ‘सुन कहाँ छ ?’ भन्दै निर्मम यातना दिएका थिए । यातना दिने क्रममा करेन्ट लगाएपछि सनमको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सनमको मृत्यु भएपछि सुन तस्करका नाइके भनेर चिनिने चूडामणि उप्रेती ‘गोरे’ले जोगाइदिन आग्रह गर्दै अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेललाई फोन गरेपछि डीएसपी केसी कमान्डको टोली घटनास्थल पुगेको बताइएको छ । 

घटनालाई नजिकबाट नियालेका एक उच्च प्रहरी अधिकृतका अनुसार प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेलले सुन फेला परेपछि ३३ किलोमध्येको आधा अर्थात् साढे १६ किलो सुन र शव व्यवस्थापनबापत थप पाँच करोड नगद दिएमा घटना अन्यत्र मोडिदिने सहमती गरेका थिए । 

१८ गते राति इटहरी बास बसेका केसी र सन्जेलले शनिबार बिहान गोरेलाई फोन गरेर ‘घटनास्थलको प्रत्यक्षदर्शी चाहिने भयो’ भन्दै नरेन्द्र कार्की र मोहन काफ्लेलाई इटहरी पठाइदिन आग्रह गरेको बताइएको छ । लगातारको कुटाइले थिलथिलो भएका कार्की र काफ्ले इटहरीमा बास बसेका थिए । तत्काल उनीहरू प्रहरीलाई भेट्न पुगेका थिए । त्यसपछि डीएसपी केसीको टोली शव राखेको गाडीमा कार्की र उप्रेतीलाई पनि राखेर विराटनगरतर्फ लागे । 

विराटनगर पुगेपछि पोखरियामा गुड्दै गरेको गाडीमा शव फेला परेको भन्दै डीएसपी केसी र सन्जेलले स्थानीय प्रहरीको सहयोगमा शव बरामद गरेका थिए । 

काभ्रे स्थायी घर भएका स्कारपियो चालकले प्रहरीमा दिएको दिएको बयान अनुसार ‘गोरे’ले ‘सन्जेल सरले भनेको ठाउँमा स्कारपियो लगेर छाडिदिनु’ भनेका छन् । 

यसरी धरानको भानुचोकमा भेटिएको शवलाई डीएसपी केसी र सई सन्जेलले सेटिङमै  विराटनगर–३ पोखरियामा लगेर घटनास्थलको लोकेशन नै परिवर्तन गरिदिए । 

अपराध महाशाखामा लामो समयदेखि कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेल र चूडामणि उप्रेती ‘गोरे’को बीचमा मामा–भान्जाको सम्बन्ध छ । सन्जेलले गोरेलाई ‘भान्जा’ सम्बोधन गर्छन्, गोरेले उनलाई ‘मामा’ भनेर बोलाउँछन् । 

मृतक सनम शाक्यसँगै कुटाई खाने ३३ किलो सुनको भरिया भनिएका मोरङको उर्लाबारी–७ स्थायी घर भएका नरेन्द्र कार्की, मोहन काफ्ले र ड्राइभर टेकराज मल्ल जिल्ला प्रहरी कार्यालय मोरङको थुनामा छन् । यता, घट्नामा संलग्न प्रहरी अधिकृतहरू प्रजित केसी, बालकृष्ण सन्जेल र अपराध महाशाखाका एसएसपी विदेश लोहनीमाथि डीईआजी पुष्कल रेग्मी कमान्डको टोलीले छानविन गरिरहेको छ । 

सन्जेल– ‘गोरे’ कनेक्सन 
अपराध महाशाखामा लामो समयदेखि कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेल र चूडामणि उप्रेती ‘गोरे’को बीचमा मामा–भान्जाको सम्बन्ध छ । सन्जेलले गोरेलाई ‘भान्जा’ सम्बोधन गर्छन्, गोरेले उनलाई ‘मामा’ भनेर बोलाउँछन् । 

गत वर्ष अपराध महाशाखामा कार्यरत एक खतिवडा थरका इन्सपेक्टरसँग ‘गोरे’लाई सन्जेलले चिनजान गराउँदै भनेका थिए, ‘गोरे मेरो भाञ्जा पनी हो, सङ्गत गर्नुपर्ने मान्छे हो सर, सधैँ काम लाग्ने मान्छे ।’

उपेन्द्रकान्त अर्याल  अपराध महाशाखाको प्रमुख हुँदा सन्जेलले गोरे र अर्यालको बीचमा चिनजान गराएका थिए । नेपाली सेनाको जवानबाट भागेर ‘भगौडा आर्मी’को पहिचान बनाएका चूडामणि उप्रेतीले केही समय दुबई प्रहरीमा पनि काम गरेका थिए । उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख भएसँगै सुन तस्करी सुरु गरेका उप्रेतीलाई सनम शाक्य प्रकरणमा सई बालकृष्ण सन्जेल र डीएसपी प्रजित केसीले नै भगाएको प्रहरी स्रोतको भनाइ छ । 

सुनको भरियामध्येका नरेन्द्र कार्कीलाई ‘गोरे’ले फागुन १२ गते काठमाडौं बोलाएका थिए । काठमाडौंको गौरिघाटस्थित एक घरमा ‘गोरे’ले बन्धक बनाएका नरेन्द्रलाई भेटेर सन्जेलले कञ्चटमा पेस्तोल ताकेर ३३ किलो सुन लुकाएको ठाउँ नदेखाए ‘गोलीले उडाइदिने’ धम्की दिएको छानविन समिति निकट स्रोतको भनाइ छ । १५ फागुनमा सन्जेलकै आदेश बमोजिम गोरेले नरेन्द्र कार्कीलाई जहाँजबाट विराटनगर लगेका थिए । सोही दिन मोहन काफ्ले र सनम शाक्यलाई पनि अपहरण गरेर सिराहाको अज्ञात स्थलमा बन्धक बनाएर ‘गोरे’ले उनीहरूलाई कुटपिट गरेका थिए । त्यही क्रममा सनमको ज्यान गएपछि घटनाले अर्को रूप लिएको बताइएको छ ।

घटनाबारे जानकारी पाएसँगै गृहमन्त्रीले तत्काल छानविन समिति बनाउन प्रहरी प्रमुख अर्याललाई निर्देशन दिएका थिए । अहिले गृहमन्त्री ‘बादल’ आफैंले छानविन समितिसँग पत्यक्ष रिपोर्ट लिएर मनिटर गरिरहेका छन् । 


 
एसएसपीको रिपोर्टिङ, ‘सर, गोरे मन्त्रीको मान्छे हो !’ 
घटनाको अनुसन्धान गर्न गएको प्रहरी नै आर्थिक प्रलोभनमा परेर शव व्यवस्थापनको जिम्मा लिएको सार्वजनिक भएसँगै अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले प्रहरी प्रमुख प्रकाश अर्याललाई ‘प्रहरीको गल्ती नभएको’ रिपोर्ट गरेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी लोहनीले ‘गोरे’ गृहमन्त्रीको मान्छे भन्दै प्रहरीलाई अनावश्यक शङ्का गरिएको बताएका छन् । 

घटनाबारे जानकारी पाएसँगै गृहमन्त्रीले तत्काल छानविन समिति बनाउन प्रहरी प्रमुख अर्याललाई निर्देशन दिएका थिए । अहिले गृहमन्त्री ‘बादल’ आफैंले छानविन समितिसँग पत्यक्ष रिपोर्ट लिएर मनिटर गरिरहेका छन् । 

यसरी, मोरङको उर्लाबारी–७ का सनमको हत्या थप रहस्यको गर्भमा धेकिलएको छ । प्रहरी नायव निरीक्ष (सई) बालकृष्ण सन्जेलको विश्वास गर्दा डीएसपी प्रजित केसीदेखि एसएसपी दिवेश लोहनीसमेत छानविनको दायरामा तानिएका छन् । 

यो पढ्नुहोस्

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप