बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

शनिबार, १५ वैशाख २०७५, ११ : ४४
शनिबार, १५ वैशाख २०७५

काठमाडौं–नेपालगञ्जका गोपालबहादुर शाही २०७३ पुस २० गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । दुबईबाट आएका शाहीको साथमा दुईवटा सुटकेस थिए, जसमा ‘सिग्नेचर’ नामक मदिराको बोतल जस्तै आकारको फलामको डिब्बामा निकै व्यवस्थित तरिकाले प्याक गरिएको २८२ वटा सुनका बिस्कुट, १९ वटा औंठी र १८ वटा सिक्रीसमेत गरी कुल ३३ किलो सुन थियो ।  

त्यतिधेरै सुन भएको सुटकेस एयरपोर्ट भन्सारमा छाडेर शाही त्रिभुवन विमानस्थलबाट बाहिरिए । भोलिपल्ट मध्यान्ह बा.२ ज २९१५ नम्बरको ट्याक्सी चढेर एयरपोर्ट पुगेका शाहीले आफ्नो सुटकेस सजिलै भन्सार पार गरेर बाहिर ल्याए । अनि ट्याक्सीमा राखे । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट एसपी मीरा चौधरीको कमाण्डमा खटिएको सादा पोशाकका प्रहरीले उनको ट्याक्सीलाई विमानस्थलबाटै पछ्याइरहेको थियो । 
गौशालाको पिंगलास्थान आइपुगेपछि शाही पक्राउ परे । 

दुबईबाट आएको उक्त सुनको अनुसन्धान गर्दै जाँदा केन्द्रीय अनुसन्धान ब्यूरोले त्यतिवेला त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा ट्वाईसीका रुपमा कार्यरत एसएसपी श्यामबहादुर खत्री संलग्न भएको निष्कर्ष निकाल्यो । 

अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय हाजिर गराइएका खत्री २०७३ माघ २३ गते पक्राउ परे । खत्रीको बर्दी पनि उत्रियो ।

लामो समय निलम्बनमा परेर मुद्दा लडेका खत्री जागिरमा फर्केको केही महिना मात्र भएको छ । 

तर, बिडम्बना उनको निलो बर्दिमा पुनः बहुमुल्य धातु सुनको ‘पहेलो दाग’ लागिसकेको छ ।
००००


२०७४ माघ ९ गते फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थलको गोल्डेन गेट हुँदै बाहिरियो । गोल्डेन गेटबाट स्कुटरमा राखेर पुरानो बानेश्वरतर्फ लैजाँदै गरेको सुन रत्नराज्य क्याम्पस अगाडिबाट एकाएक गायव भयो । थाई एयरवेजका वरिष्ठ टेक्निसियन सानु बन र नाम नखुलेका अर्का एकजनाले बोकेको उक्त सुन अपरिचित समूहले लुटेको बताइएको छ । 

तस्करी गरेर ल्याइएको अनि दिनदहाडै काठमाडौंको मुटुबाट हराएको उक्त सुनमा आफ्नो नाम जोडिएपछि प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामबहादुर खत्री अहिले सम्पर्कविहिन छन् । 

३३ केजी सुन र उक्त सुनसँग जोडिएर हत्या गरिएका सनम शाक्य हत्या प्रकरण छानविन गर्न गृह–मन्त्रालयले गठन गरेको ईश्वर पौडेल नेतृत्वको समितिले खत्रीलाई खोजिरहेको छ । तर, उनी सम्पर्कविहीन छन् । 

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !


छानविन समितिले एसएसपी खत्रीको गाडी चालक प्रहरी जवान शंकर पुरीलाई नियन्त्रणमा लिएर थुनामा राखेको छ । 
 

००००० ००००० ०००००

डीआईजीको बर्दी खोल्नासाथ प्रहरी खोरमा
करिब दुई साताअघि मात्र डीआईजीको बर्र्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् कि, ‘म प्रहरी हिरासमा पुग्छु ।’
तर, समयले उनलाई डीआईजीको बर्र्दी खोलेको ११औं दिनमा हिरासतको बाटो देखाइदिएको छ । 

३३ किलो सुन तस्करीको मुख्य नाइके चुडामणी उप्रेती गोरेसँग पटक–पटक सम्पर्क गरेर सुन तस्करीको हिस्सा लिने गरेको अभियोगमा छानविन समितिले निरौलालाई नियन्त्रणमा लिएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । 

गृह मन्त्रालयमा बयान लिने अधिकारीले निरौलालाई सोधे, ‘सुन तस्करका नाइके चुडामणी उप्रेती ‘गोरे’ भन्नेलाई चिन्नुहुन्छ ?’ 
उक्त प्रश्नको जवाफ दिँदै निरौलाले भनेका छन्, ‘अँ.. चिन्छु, मेरो साथी नेत्र उप्रेतिको छोरा हो, ‘गोरे’ । बयानका क्रममा उनले चुडामणि उप्रेती ‘गोरे’का बाबु र आफूसँगै बिएस्सी पढेको र एकदमै ‘मिल्ने साथी’ भन्ने ब्यहोराको बयान दिएको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।  

‘चुडामणि उप्रेतीलाई राम्रोसँग चिन्छु, उसका बुबाको मिल्ने साथीको नाताले मलाई पनि सुन तस्करीमा मुछ्न खोजेको थियो’ निरौलाको भनाई उदृत गर्दै समितिका एक सदस्यले रातोपाटीसँग भने, ‘तर मैले गोरेलाई तिमी यस्तो काम छाड, तिमी सुध्रिनुपर्छ भनेर सम्झाएको थिएँ ।’ 

सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

निरौलाले ‘गोरे’ लाई चिनेको र तस्करी नगर्नका लागि समेत सम्झाएको बयान दिएपछि पक्राउ पूर्जीसमेत थमाएर निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा पठाएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर संगठित अपराध मुद्दामा अनुसन्धान गरिएको छ । 

गोविन्द निरौलाले त्रिभुवन विमानस्थल सुरक्षा गार्डको प्रमुख भएर बस्दादेखि नै संगठित रुपमा सुन तस्करी शुरु गरेको छानविन समितिले ठहर गरेको छ ।

२०७३ पुस २१ मा त्रिभुवन बिमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्यूरोले पिंगलास्थानबाट बरामद गर्दा निरौला विमानस्थलमै थिए । त्यतिवेला उनको सेकेन्ड म्यान रहेका श्याम खत्रीको बर्र्दीमा लागेको सुनको दाग फैलिँदै अहिले निरौलासम्म पुगेको छ । 

००००० ००००० ०००००

‘मिजासिला’ एसपीदेखि ‘ब्राण्डेड’ सईसम्म 
दुबईबाट आएको र पछि काठमाडौंको रत्नराज्य स्कूल नजिकैबाट हराएको भनिएको ३३ किलो सुनको तस्करीमा संलग्न देखिएको खुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) विकासराज खनालदेखि महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल सम्मलाई छानविन समितिले हिरासतको बाटो देखाइदिएको छ । 

नेपाल प्रहरीमा ‘मिजासिलो स्वभाव’का अफिसरको परिचय बनाएका प्रहरी उपरिक्षक (एसपी) विकासराज खनाललाई समितिले नियन्त्रणमा लिएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । खनाल २०७३ पुसमा त्रिभुवन विमानस्थलमा थिए, सोही बेला देखि नै सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ सँग उनको निरन्तर सम्पर्क–सम्बन्ध देखिएको छानविन समिति सदस्य बताउँछन् । 

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

तस्करीको सुन हराएपछि यातना दिएर मारिएका सनम शाक्यको शव ब्यवस्थापन गर्नका लागि भन्दै ‘शंकास्पद आर्थिक बार्गेनिङ’ गरेको पुष्टि भएसँगै प्रहरी प्रधान कार्यालयले एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसीलाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाएको छ । 

केही दिनअघिम्म प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको महाशाखाका सई बालकृष्ण सञ्जेल अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् । ‘नाइक’ ब्राण्डका कपडा र जुत्ता लगाउने सञ्जेल अपराध महाशाखामा रहँदा ‘ब्राण्डेड सई’को रुपमा परिचित थिए । 

००००० ००००० ०००००


गोरे’ सँगसञ्जयको उठबस
३३ किलो सुन तस्करीमा संलग्न अर्का बर्दीधार हुन् डीएसपी सञ्जय राउत ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा कार्यरत राउत सुन तस्करी छानविन गर्न बनेको समितिसमक्ष बयान दिने क्रममा भागेका थिए । तर, पछि आफै सम्पर्कमा आए । 

वैशाख ११ गते साँझ मन्त्रालयमा बयान दिने क्रममा बहाना बनाएर भागेका राउतलाई समितिले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखेको छ । २०७३ पुसमा विमानस्थलमा कार्यरत रहँदादेखि नै उनको सुन तस्कर ‘गोरे’ सँग उठबस रहेको छानबिन समितिले  ठहर गरको छ । 

यसरी बहालवाल सई, डीएसपी, एसपी र एसएसपीको निलो बर्दीमा सुन तस्करको मतियारको दाग लाग्दै गर्दा एउटा प्रश्न उठेको छ, ‘कहिलेदखि चलिरहेको थियो बर्दीको आडमा तस्करी ?’

यो प्रश्नको सही उत्तर खोज्न सकियो भने मात्र ‘अब कहिले रोकिन्छ ?’ भन्ने प्रश्नको जवाफको अनुमान गर्न सकिन्छ ।  

००००० ००००० ०००००

यो पनि पढ्नुहोस् 

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप