सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : दलहरूलाई बागीले तनाव, लुटपाटको मिलेन हिसाब

मङ्गलबार, २५ असोज २०७९, २१ : ०१
मङ्गलबार, २५ असोज २०७९

आज मिति २०७९ साल असोज महिनाको २५ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

देशभरका प्रतिनिधिसभा उम्मेदवार

निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो । आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।

बागीको तनाव

सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । 

उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनी ट्रान्सफर लुटपाट​

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान पाँचथरबाट मच्छिन्द्र लिम्बुलाई पक्राउ गरेपछि लुटपाटमा संलग्न भनिएका चारै जना पक्राउ परेका छन् । 

दुवै गठबन्धनलाई राप्रपाको आश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ का बारेमा यतिबेला सर्वत्र चासो बढेको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार बनेका छन् । ओली र डा. अधिकारीबीच २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओली विजयी भएका थिए ।

प्रभुले दिए दुई विकल्प

 केही अघिसम्म लोसपा, जसपा लगायतका दलबाट विभिन्न नेता–कार्यकर्तालाई भित्र्याउँदै मधेस प्रदेशमा आफ्नो पक्षमा ठुलो जनलहर आएको दाबी गरेको नेकपा एमालेलाई प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नै ठुलो झट्का लागेको छ ।

किशोरीको उमेर विवाद

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेरका सन्दर्भमा विवाद देखिएको छ । क्रिकेट संघका अध्यक्ष र स्वयं सन्दीपकै वकिल सुधा रिजालले जाहेरी दिने किशोरीको उमेर १८ वर्षभन्दा बढी भएको दाबी गरेका छन् ।

पार्टी अभिलेखबाट आउट

नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट आउट हुने भएका छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन लागिएको हो ।

सत्यमोहन जोशीको स्वास्थ्य

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । उपचाररत किष्ट अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप