शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापा–५ मा दुवै गठबन्धनलाई राप्रपाको आश

कसलाई सहयोग गर्ला राप्रपाले ?
मङ्गलबार, २५ असोज २०७९, १२ : ००
मङ्गलबार, २५ असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ का बारेमा यतिबेला सर्वत्र चासो बढेको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार बनेका छन् । ओली र डा. अधिकारीबीच २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओली विजयी भएका थिए ।

एमालेले झापामा यस पटक राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा–५ मा राप्रपाले ओलीलाई सघाउने र झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने गरी यी दुई दलबीच तालमेल भएको हो ।

झापा–५ बाट २०७४ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री ओलीले ५७ हजार १३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार डा. अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । ओली त्यसबेला माओवादी र राप्रपाको समर्थनमा उम्मेदवार बनेका थिए ।

अहिले परिस्थिति फेरिए पनि प्रतिस्पर्धी उही छन् । यसपटक एमाले र राप्रपाको संयुक्त उम्मेदवार ओली छन् भने सत्ता गठबन्धन ४ दलको तर्फबाट कांग्रेसका अधिकारी पुनः ओलीसँग प्रतिस्पर्धामा उत्रिएका छन् । यी दुई पात्रको दोस्रो भिडन्तबाट परिणाम कसको पोल्टामा आउँछ, अहिले नै भन्न सकिँदैन ।

यद्यपि गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर प्रमुख पदमा विजयी भएका राप्रपाका नेता राम थापाको भूमिकालाई धेरैले नजिकबाट नियालिरहेका छन् । थापाले आफू नगरपालिकाको प्रमुख पदमा साझा उम्मेदवार बन्दा सत्ता गठबन्धन दलसँग संघ र प्रदेशको निर्वाचनमा सहयोग गर्ने बचन दिएका थिए । सोही बचन अनुसार थापाले सत्ता गठबन्धनसँगै तालमेलको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल भएन । अन्ततः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष ओलीबीच आपसी तालमेलको सहमति भयो ।

राप्रपाकै प्रदेश अध्यक्षसमेत रहेका थापाका लागि अहिले निकै असहज परिस्थिति सिर्जना भएको छ । ‘म आफै द्विविधामा छु । गएको स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धनसँग तालमेल गरेर चुनाव जितेको सत्य हो । मैले त्यो बेलामा पनि आउने संघको चुनावसम्म गठबन्धनसँग तालमेल रहन्छ भन्ने प्रतिबद्धता थियो । म आफू यो प्रदेश प्रमुख भएको हिसावले राप्रपाको प्रदेश समिति र मेरो व्यक्तिगत प्रतिबद्धता हो,’ थापा भन्छन्, ‘तर, गर्दै जाँदा झापाको ५ नम्बर र दमकको कारणले अन्यत्र पनि तालमेल नहुने अवस्था आयो र पार्टीको अवस्था नै धरापमा पर्ने भयो भने मैले विचार गर्नुपर्छ, ५ दलीय गठबन्धनका साथीहरुले पनि बुझ्नु पर्छ, मलाई माफी दिनुपर्छ । मैले यो कुरा पनि पहिले नै भनेको छु ।’

‘राजेन्द्र लिङ्देनको मामलामा मैले उहाँलाई पार्टी अध्यक्ष हुनबाट रोक्न खोजकै हुँ, उहाँले पनि मलाई मेयरमा रोक्न खोज्नु भएकै हो,’ पार्टी अध्यक्ष लिङ्देनसँगको सम्बन्धबाट जानकारी दिँदै थापा भन्छन्, ‘तर, अब लामो समय भइसकेको छ । हामी विनविन सिच्युएसनमा छौं, त्यो मनमुटावलाई छोडेर हिँड्नुपर्छ ।’

थापाले सत्ता गठबन्धन दलसँग एमालेसँग तालमेल गर्नुपरेकोमा माफी दिनुपर्ने बताएका छन् । तर, उनले आफू दमक प्रमुखमा जितेसँगै दमकमा ओली र एमालेको अहमता तोडिएको घोषणा गरेका थिए । ‘दमकमा केपी ओली र एमालेको अहमता निकै बढेको थियो । मैले जे गरे पनि हुन्छ, मैले जे बोल्छु त्यही हुन्छ भन्ने भ्रम र अहमता ओलीमा थियो । गठबन्धनले योपल्ट ओलीको अहमता तोड्ने काम गरेको छ’, थापाले भनेका थिए । तर, यसपटक पार्टी अध्यक्ष लिङ्देनको कदमका कारण थापा एमालेको अहमता तोड्ने कि एमालेलाई नै भोट दिने भन्ने द्विविधामा परेका छन् ।

दमकका प्रमुख थापालाई एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुखको रुपमा पनि सम्बोधन गर्दैनन् । ‘एमालेसँग थापाको सम्बन्ध राम्रो छैन,’ सत्ता गठबन्धनका एक नेता भन्छन्, ‘उहाँलाई बैठकमा तथा नगरसभामा सम्बोधन गर्दा पनि कुर्सीमा बसिरहनु भएका चियरपर्सन भन्छन् ।’ उनै थापाले एमालेलाई कसरी भोट माग्लान् भन्ने विषय सोच्न पनि नसकिने उनको भनाइ छ ।

थापाको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्रै होइन आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि विगतमा राम्रो सम्बन्ध थिएन । राप्रपाको अधिवेशनको समयमा लिङ्देनलाई पराजित गर्न थापाले निकै जोडबल गरेका थिए । यता, लिङ्देनले पनि दमकको प्रमुखमा विजयी गराउनका लागि थापालाई खासै सहयोग गरेका थिएनन् ।

‘राजेन्द्र लिङ्देनको मामलामा मैले उहाँलाई पार्टी अध्यक्ष हुनबाट रोक्न खोजकै हुँ, उहाँले पनि मलाई मेयरमा रोक्न खोज्नु भएकै हो,’ पार्टी अध्यक्ष लिङ्देनसँगको सम्बन्धबाट जानकारी दिँदै थापा भन्छन्, ‘तर, अब लामो समय भइसकेको छ । हामी विनविन सिच्युएसनमा छौं, त्यो मनमुटावलाई छोडेर हिँड्नुपर्छ ।’

लिङ्देन पनि झापा ३ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । उनको क्षेत्रमा एमालेले सघाउने भएको छ ।

लिङ्देन र ओलीलाई जित्नैपर्ने दबाबका कारण गठबन्धन भए पनि पार्टीको तल्लो समितिका कार्यकर्ता तथा समर्थकलाई त्यति सहज देखिँदैन । त्यही भएर झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि लिङ्देनका विरुद्धमा एमाले नेता डम्बर बहादुर गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गिरी एमालेको प्रदेश कमिटी सदस्य तथा स्थानीय तह निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेदवार हुन् ।

यता, सत्ता गठबन्धन दलका नेताहरू झापा–५ मा राप्रपाले सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउनेमा ढुक्क देखिन्छन् । ‘हामीले सानो दुःखले राम थापालाई दमक प्रमुखमा जिताएका छैनौं नि, यो कुरा उनले पनि बुझेका छन्,’ गठबन्धनका तर्फबाट झापा ५ (ख)बाट प्रदेशसभाका उम्मेदवार बनेका माओवादी नेता रेवतराज पुरी (गगन)ले भने, ‘हामीलाई सघाउने कुरामा कुनै द्विविधा छैन ।’

एमालेका नेताहरू भने दुई पार्टीबीच संस्थागत सहमति भइसकेको हुनाले राम थापाले निःशर्त एमालेलाई सहयोग गर्ने बताउँछन् । झापा ५ (क) का एमाले उम्मेदवार हिक्मतकुमार कार्कीले आचारसंहिताले मेयरलाई निर्वाचनमा परिचालन हुन रोक लगाएको भए पनि छलफलबाट सघाउने सहमति भइसकेको बताए । ‘एमालेलाई उहाँले नसघाउने भन्ने कुरै आउँदैन । एमालेले राप्रपालाई झापामा एउटा संघ र दुईवटा प्रदेशसभामा सघाउने भएको छ,’ कार्कीले भने, ‘उहाँहरुलाई हामीले सघाउने र हामीलाई उहाँहरुले सघाउने कुरा हुन्छ ।’

संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समयमा थापा एमालेका उम्मेदवारसँग मात्रै होइन, सत्ता गठबन्धनका उम्मेदवारसँग पनि पुगेका थिए । थापाले दुवै पक्षलाई माला र खादा लगाएर शुभकामना दिएका थिए । ‘उहाँले दुवै पक्षका उम्मेदवारलाई शुभकामना दिनुभयो भन्ने सुनेको हुँ, हामीलाई पनि खादा माला लगाइदिनु भयो,’ कार्कीले भने, ‘मेयर हो, साझा बन्न खोज्नु स्वाभाविक हो ।’ कार्यपालिकामा एमालेसँग भएको मनमुटाव पुरानो भइसकेको कार्कीको भनाइ छ ।

गठबन्धन दलहरुसँगको गोप्य छलफलमा थापाले आफूले एमालेको विरुद्धमै भोट खसाल्ने बताउने गरेका छन् । ‘उनी गठबन्धनको बलमा प्रमुखमा विजयी बनेका हुन्, अब गठबन्धनलाई सहयोग गर्ने बेलामा पछाडि हट्दैनन् भन्ने विश्वास छ,’ माओवादी केन्द्रका नेता विरेन्द्र बस्नेतले भने ।

मतको अवस्था कस्तो ?

झापा–५ मा गत स्थानीय निर्वाचनमा एमाले वडाध्यक्षका उम्मेदवारको मत जोड्दा ४१ हजार ६१९ मत देखिन्छ । यस्तै कांग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीले २ हजार हाराहारी मत ल्याएको छ । एमाले अध्यक्ष ओलीलाई उक्त क्षेत्रमा राप्रपाले सबै भोट खन्याएको अवस्थामा गठबन्धन सहज ढंगले पराजित हुने देखिन्छ ।

यद्यपि ओलीको क्षेत्रमा भर्खरै स्थानीय तह निर्वाचनमा गठबन्धनको भोट पाएर जितेका राप्रपाका नेता राम थापाको पकड छ । थापा र एमालेबीच राम्रो सम्बन्ध छैन । यस्तै झापा–५ मा एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७९८ छ भने गठबन्धन दलका प्रमुखहरूले पाएको मत ५५ हजार ७८८ छ ।

२०७४ सालमा प्रदेश निर्वाचन क्षेत्र (क)बाट भने एमालेकै हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अनिल कृष्ण प्रसाईंले १८ हजार ६३६ मत ल्याएका थिए । यस्तै निर्वाचन क्षेत्र (ख)बाट पनि एमालेकै अर्जुन राईले ३० हजार ९७३ मत ल्याउँदा कांग्रेसका राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत ल्याएका थिए । वाम गठबन्धन हुँदा पनि त्यसबेला उक्त क्षेत्रमा माओवादीका तर्फबाट कुनै उम्मेदवारी परेको थिएन ।

यो पटक भने एमालेबाट झापा क्षेत्र नम्बर ५ (क)बाट हिक्मतकुमार कार्की तथा सत्ता गठबन्धनबाट जीवनकुमार राई तथा क्षेत्र ५ (ख)बाट सत्ता गठबन्धनको तर्फबाट माओवादी नेता रेवतराज पुरी (गगन) र एमालेको तर्फबाट होमबहादुर थापा उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप