शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अचला सचदेव : करोडौँकी मालिकको गरिबीमा बित्यो अन्तिम दिन, छोराले वास्तै गरेनन्; ३ महिना अस्पताल बसेपछि भयो मृत्यु

शनिबार, १७ वैशाख २०७९, १३ : ५५
शनिबार, १७ वैशाख २०७९

ए मेरी जोहर जबी गीत त तपाईंले सुन्नुभएको होला । त्यो गीतमा जोहरजबी भने अचला सचदेव थिइन् । बलिउडकी हजुरआमाको रुपमा आफ्नो पहिचान बनाउने अचला सचदेवको निधन आजकै दिन अर्थात् ३० अप्रिल २०१२ मा पुणेको एक अस्पतालमा भएको थियो , उनले आफ्नो करियमा थुप्रै फिल्ममा हजुरआमाको भूमिका निभाएकी छिन् र उनी फिल्ममा सुपरहिट भइन् । तर यति चर्चित हुँदा पनि अचलाको मृत्यु निकै पीडादायी थियो । अन्तिम समयमा उनीसँग कोही पनि भएनन् ।

अल इन्डिया रेडियोमा गरिन् कामः

अचलाको जन्म ३ मे सन् १९२० मा हालको पाकिस्तानमा भएको थियो । सुरुमा अचलाले लाहौरमा अल इन्डिया रेडियोमा काम गरिन्, त्यसपछि उनको ट्रान्सफर दिल्लीमा भएको थियो । यसैबीच अचलाको विवाहमा पुणेमा क्लिफोर्ड डगलस पिटर्ससँग भयो । पिटर्सको मोरिस इलेक्ट्रोनिक्स नामको एउटा कारखाना थियो ।

फेसनेबल वाइफबाट सुरु भयो फिल्मी यात्राः

अचला सचदेव पुणेमै बस्दा फिल्ममा त्यतिबेला सक्रिय भइन् जब उनको फिल्म फेसनेबल वाइफ पर्दामा रिलिज भयो । यो फिल्मपछि अचलाले थुप्रै फिल्ममा काम गरिन् तर उनले सन् १९६५ मा रिलिज भएको फिल्म ‘वक्त’ बाट पहिचान पाइन् । यो फिल्ममा अचलाले बलराज साहनीकी श्रीमतीको भूमिका निभाएकी थिइन् । यो फिल्मको गीत ‘ए मेरी जोहर जबी’ असाध्यै हिट भयो जुन अहिले पनि मानिसले गुन्गुनाउने गर्छन् ।

यशराजसँग पहिलो फिल्म थियो दागः

अचलाले आफ्नो करियरमा कुल १३० फिल्ममा काम गरिन् र यशराज प्रोडक्सनका थुप्रै हिट फिल्ममा अचलाले हजुरआमाको भूमिका निभाएकी छिन् । यशराजसँग उनको पहिलो फिल्म दाग : अ पोयम अफ लभ थियो, त्यसपछि सन् १९८९ मा रिलिज भएको चांदनी, दिलवाले दुल्हनिया ले जाएंगे पनि असाध्यै हिट भयो । उनले प्रेम पुजारी, मेरा नाम जोकर, हरे रामा–हरे कृष्णा, अन्दाजजस्ता हिट फिल्ममा पनि काम गरेकी थिइन् ।

 


 अंग्रेजी फिल्ममा पनि काम गरिन्ः

अचलाले आफ्नो करियरमा केही अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् । सन् १९६५ मा रिलिज भएको उनको फिल्म नाइन हवर्स टु रामा र सन् १९६३ मा आएको मर्चेन्ट आईवेरी द हाउसहोल्डर्स निकै हिट भएको थियो । यस्तै सन् २००३ मा रिलिज भएको फिल्म कल हो न हो अचलाको अन्तिम फिल्म थियो ।

श्रीमानको मृत्युपछि एक्ली भएकी थिइन् अचलाः

सन् २००२ मा अचलाका श्रीमान् क्लिफर्ड डगलस पिटर्सको निधन भयो । त्यसपछि १२ वर्षसम्म उनी पुणेमा पुना क्लब नजिकै कोणर्क एस्टेट अपार्टमेन्टको दुईवटा बेडरुम भएको फ्ल्याटमा एक्लै बस्थिन् । यतिबेला रातीको समयमा मात्रै एक अटेन्डेन्टले उनको रेखदेख गर्थिन् ।

 


जनसेवा फाउन्डेसनलाई फ्ल्याट दान दिइन् तर अन्तिम समयमा कोही साथमा थिएनः

अचलाले पूरा जीवन निकै विलासी तरिकाले बिताइन् तर श्रीमानको निधनपछि उनीसँग कोही रहेन । उनका छोरा अमेरिकामा थिए । अचलाले सन् २००७ मा जनसेवा फाउन्डेशनलाई आफ्नो फ्ल्याट एक शर्तसहित दान दिएकी थिइन् । फाउन्डेशनले उनको अन्तिमसम्म सेवा गनुपर्ने उनले शर्त अघि सारेकी थिइन् । तर यस्तो भएन । ८ सेप्टेम्बर २०११ को कुरा हो, अचला किचनमा पानी लिन जाँदा उनी लडिन् र उनको खुट्टा भाँच्चियो ।

 


उनलाई पूना हस्टिपल एन्ड रिसर्च सेन्टरमा भर्ना गरियो । तर उनी छिट्टै डिस्चार्ज भएर घर पनि गइन् । त्यसपछि अचलाको दिमागमा रगत जम्ने समस्या देखियो । क्वाड्रिप्लेजिया (एक प्रकारको पक्षघात) को लक्षण थियो । २१ अक्टोबर सन् २०११ मा अचलालाई पुनः उपचारका लागि पूना अस्पतालमा भर्ना गर्नुपर्यो । धेरै समयसम्म अस्पतालमा भर्ना भएपछि ९१ वर्षको उमेरमा अचलाले ३० अप्रिल २०१२ मा मृत्युवरण गरिन् । उनको मृत्युपछि नायिका नन्दाले मृत्युअघि उनका छोरालाई कहिलेकाँही अस्पतालमा हेर्न आउने गरेका जानकारी दिइन् । रिपोर्टका अनुसार अचलाले जीवनको अन्तिम चरण चरम गरिबीमा बिताएकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप