बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसी पारित गरेकोमा अमेरिका खुसी, देउवामाथि खनिए झलनाथ

बुधबार, १८ फागुन २०७८, २० : ४९
बुधबार, १८ फागुन २०७८

 

आज २०७८ फागुन १८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१ अमेरिकाद्वारा एमसीसी पारित गरेको स्वागत

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्ट परियोजनासम्बन्धी सम्झौता नेपालको संसदबाट पारित गरेकोप्रति स्वागत गरेको छ ।  अमेरिकाको वासिङ्टनस्थित मुख्यालयले प्रतिनिधिसभाबाट पारित भएको उक्त सम्झौताको एक विज्ञप्तिमार्फत स्वागत गरेको हो।  ‘एमसीसी पारित गर्ने सम्पूर्ण अधिकारी सार्वभौम अधिकार नेपाल सरकारमा निहित रहेको थियो’, एमसीसीको विज्ञप्तिमा भनिएको छ, ‘यो पारित गरेसँगै एमसीसीको ५ वर्षे कार्यक्रम कार्यान्वयन गर्ने दिशामा काम गर्न बाटो खुलेको छ ।’ 

२ मन्त्रिपरिषद्को निर्णय

सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आबद्ध राजनीतिक दलहरू, प्रमुख प्रतिपक्ष दल, अन्य राजनीतिक दलहरू, सभामुख तथा सांसदहरूलाई सरकारले धन्यवाद दिएको जानकारी दिए । 

३ देउवामाथि खनिए झलनाथ

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् । विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् । 

४ एमसीसी सम्झौताविरुद्ध साना वाम दलले सार्वजनिक गरे विरोधका कार्यक्रम

एमसीसी सम्झौताका विरुद्ध साना वामपन्थी दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।

५ जसपामा फेरि बल्झियो विवाद

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पुनः विवाद सुरु भएको छ । आन्तरिक विवादकै कारण मंगलबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरु सहभागी भएनन् ।  मंगलबार ११ बजेका लागि बैठक बोलाइएको थियो तर तीन बजेसम्म पनि भट्टराई पक्षका कोही नेता बैठकमा सहभागी नहुँदा अध्यक्ष उपेन्द्र यादवले सो समूह बिनैको बैठक राखेको एक नेताले बताए । ​

६ कमल थापाद्वारा १६ जनालाई पदाधिकारीमा मनोनयन

राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन् । 

७ काठमाडौँको मेयरमा काँग्रेस नेताहरूको दौडधुप सुरु

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेसभित्र चुनावी चहलपहल बढ्न थालेको छ । काँग्रेसले केन्द्रीय समिति बैठकबाटै स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै चुनावी चहलपहल बढ्दै गएको हो ।​

८ पेट्रोलियम पदार्थ विस्थापन

गत वर्खायाममा नेपालमा ३०० मेगावाटसम्म बिजुली खेर गयो । अर्कातिर, खनिज इन्धनमा भारतमाथि निर्भर नेपालले चालू आर्थिक वर्षको ७ महिनामा भारतबाट पेट्रोल ३३ अर्ब ५६ करोड, डिजेल ७२ अर्ब ९६ करोड, एलपीजी ग्यास ३४ अर्ब ६९ करोड र मट्टितेल ७४ करोड रुपैयाँभन्दा बढीको आयात ग¥यो ।​

९ नेप्सेमा ६४ अंकको पहिरो,

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६४ अंकको पहिरो गएको छ । कुल ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ६३.९८ अंकको गिरावट आएको हो ।​

१० अर्थमन्त्री शर्माको ११ निर्देशन

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरुलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पूँजीबजार सुधार्न विभिन्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप