शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँको मेयरमा काँग्रेस नेताहरूको दौडधुप सुरु, पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म आकाङ्क्षी

बुधबार, १८ फागुन २०७८, १३ : ३७
बुधबार, १८ फागुन २०७८

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेसभित्र चुनावी चहलपहल बढ्न थालेको छ । काँग्रेसले केन्द्रीय समिति बैठकबाटै स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै चुनावी चहलपहल बढ्दै गएको हो ।

गत फागुन ३ गते काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि ‘घर–घर जाऊ काँग्रेस जिताऊ’ नारा तय गरेको फागुन २० गते देखि चैत २० गतेसम्म निर्वाचन अभियान चलाउने निर्णय गरेको थियो । चुनावी मिति नजिकिँदै जाँदा संघीय राजधानी काठमाडौँमा काँग्रेसको तर्फबाट उपयुक्त उम्मेदवारको खोजी सुरु भएको छ । काँग्रेसले कसलाई उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक छलफल नगरे पनि आकाङ्क्षीहरूले भने लबिङ थालिसकेका छन् ।

काठमाडौँमा काँग्रेसको तर्फबाट आधा दर्जन बढी नेताहरूले आकांक्षा देखाएका छन् । जसका पूर्वमन्त्रीदेखि, बहालवाला उपमेयर, वडाध्यक्ष र महानगरपालिकामै जोडिएर यसअघि काम गरेका नेताहरू रहेका छन् । संघीय राजधानीको महानगर भएकाले पनि काठमाडौँ महानगरको चुनावलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा बलियो दाबेदारको रूपमा पूर्वमन्त्री तथा संघीय सांसद रहिसकेका भीमसेन दास प्रधानसमेत रहेका छन् । प्रधानले आफू मेयरका लागि स्वाभाविक दाबेदार रहेको रातोपाटीलाई बताए । तर, यसबारे पार्टीभित्र कुनै छलफल भने भइनसकेको उनको भनाइ छ ।

‘महानगरमा जित्ने उम्मेदवार पनि चाहिन्छ । विगतमा पनि बलियो उम्मेदवार चाहिन्छ भनेर मैले भनेकै हो’, उनले भने, ‘पार्टीले चाहन्छ भने म चुनाव लड्न तयार छु ।’ अघिल्लो स्थानीय तह निर्वाचनमा पनि प्रधान मेयरको दाबेदार रहेका थिए तर अन्तिम समयमा पार्टीले राजुराज जोशीलाई टिकट दिएको थियो । तर उनलाई एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले मेयरमा पराजित गरेका थिए ।

आफू ‘पोटेन्सियल क्यान्डिडेट’ का रूपमा हेरिएकाले पनि चुनाव उठ्नपर्छ भनेर धेरैले सुझाव दिइरहेको पनि प्रधानले बताए । तर उनी खुलिसकेको अवस्था भने छैन । जातीय भोट निर्णायक रहने भनिने काठमाडौँमा चुनाव जित्नका लागि नेवार समुदायको उम्मेदवार भए सहज हुने कतिपयको भनाइ छ ।

गत संघीय निर्वाचनमा प्रधान काठमाडौँ क्षेत्र नम्बर ६ बाट १६ हजार ७८५ मतका साथ विजयी भएका थिए । सो क्षेत्रमा काँग्रेसका शीर्ष नेताहरूले चुनाव लड्न लागेकाले पनि उनलाई मेयरतर्फ टिकट दिनेबारे छलफल भएको काँग्रेसका नेताहरू बताउँछन् । विगतमा काठमाडौँ ६ बाट चुनाव लड्न काँग्रेस नेता अर्जुन नरसिंह केसीलगायतले आकांक्षा देखाएका थिए । हाल काठमाडौँ जिल्ला सभापति रहेका सबुज बानियाले पनि त्यसतर्फ चासो देखाएको बताइन्छ । काँग्रेसभित्र कृष्ण प्रसाद सिटौला समूह मानिने प्रधानलाई सबै सन्तुलन मिलाएर टिकट लिन भने चुनौती रहेको काँग्रेसकै नेताहरू बताउँछन् ।

यसैगरी हालकी उपमेयर हरिप्रभा खड्गीले पनि  मेयरको उम्मेदवार बन्न चासो देखाएकी छन् । उनले उपमेयरका रूपमा राम्रो कार्यसम्पादन गरेकाले स्वाभाविक रूपमा आफू मेयरको दाबेदार रहेको जिकिर गर्दै आएकी छन्  । प्रकाशमान सिंह निकट मानिने उनको काँग्रेस सभापति शेरबहादुर देउवासँग समेत राम्रो सम्बन्ध रहेको बताइन्छ ।

काठमाडौँ महानगरपालिकामा एमालेका मेयर शाक्यले खड्गीले निरन्तर ठक्कर दिँदै आएकी छन् । उनले पुरातात्त्विक सम्पदा पुनर्निर्माणलगायतका सवालमा लिएको अडान चर्चाको विषय समेत बनेको थियो ।

यसैगरी हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल पनि मेयरको दौडमा रहेका छन् । काठमाडौँ क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत रहेका उनी प्रकाशमान सिंहको विश्वासपात्र मानिन्छन् । काठमाडौँको टिकट वितरणमा सिंहको हस्तक्षेपकारी भूमिका रहने तथा उनी विश्वासपात्र पनि मानिने भएकाले उनलाई पनि बलियो दाबेदारको रूपमा हेरिएको छ । बाक्लो जनघनत्व रहेको वडाका रूपमा रहेको वडा नम्बर १६ मा उनको राम्रो प्रभाव रहेको छ भने समग्र महानगरमै राम्रो छवि रहेको छ ।

उनको कार्यशैलीको विषयलाई लिएर फरक पार्टीको भएपनि मेयर विद्यासुन्दरले समेत प्रशंसा गर्दै आएका छन् । हालै एक अन्तरवार्तामा मेयर शाक्यले मुकुन्द रिजालले गरेको कार्यको प्रशंसा गर्दै जनप्रतिनिधिले यसैगरी काम गर्नुपर्ने बताएका थिए ।

यसैगरी यसअघि मेयरमा पराजित राजुराज जोशीले पनि पुनः दोहोरिने आकांक्षा देखाएका छन् । उनको पनि महानगरमा राम्रो प्रभाव रहेकाले आन्तरिक समीकरण मिलाउन सके सकारात्मक नतिजा निकाल्न सकिने काँग्रेस नेताहरूको भनाइ छ ।

यस्तै हालका काठमाडौँ महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा महानगर कमिटीका सभापति नीलकाजी श्रेष्ठ पनि मेयरको दौडमा रहेका छन् । उनी पनि प्रकाशमान सिंह निकट मानिन्छन् । पूर्व सांसद तीर्थराम डंगोल, सपना जोशीलगायत पनि मेयरको आकाङ्क्षी रहेको बताइएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेसले मेयर पद गुमाएको थियो भने उपप्रमुख जितेको थियो । यस्तै १४ वटा वडामा विजयी भएको थियो । काँग्रेसका उम्मेदवार राजुराज शाक्य विद्यासुन्दर शाक्यसँग पराजित भएका थिए । शाक्य ६४ हजार ९१३ मत ल्याएर विजयी हुँदा राजुराजले ४५ हजार २६९ मत ल्याएका थिए ।

यस्तै उमपेयरमा खड्गीले ५८ हजार ९५२ मतका साथ विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठ ३४ हजार मतका साथ पराजित भएका थिए । काठमाडौँमा राप्रपा र एमालेको मेयर तथा उपमेयर पदमा गठबन्धन रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप