शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को निर्णय : एमसीसीदेखि संयुक्त अधिराज्यसँग वार्ताका लागि प्रतिनिधिमण्डल गठनसम्म

बुधबार, १८ फागुन २०७८, १५ : ४१
बुधबार, १८ फागुन २०७८

सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आबद्ध राजनीतिक दलहरू, प्रमुख प्रतिपक्ष दल, अन्य राजनीतिक दलहरू, सभामुख तथा सांसदहरूलाई सरकारले धन्यवाद दिएको जानकारी दिए । 

त्यसै गरी सहयोग र सद्भाव राख्ने नेपालीहरू, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायीलाई पनि सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरिएको उनले उल्लेख गरे । प्रवक्ता कार्कीले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरूप छिमेकी राष्ट्रहरू लगायत अन्य कुनै पनि राष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको बताए । त्यसै गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय संघ संस्थाहरूप्रति पनि सरकारले आभार व्यक्त गरेको उनले जानकारी दिए ।

बैठकले विभिन्न प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुसीप्रसाद थारुलाई तोक्ने निर्णय गरिएको छ । त्यसै गरी राजस्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य एवम् अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्यमा भूपेन्द्रप्रसाद अर्याललाई नियुक्त गरिएको उनले बताए ।

सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका मागहरूका बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरिने भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिको सदस्यमा दुर्गाप्रसाद भट्टराई, प्रा.डा. कुसुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले नेपाल र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्रको फागुन २६ र २७ गते हुने प्रथम बैठक तथा नेपाल र ओमानको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्रको चैत्र १ गते हुने प्रथम बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको उनले बताए । उनले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि भूमिकास्थान नगरपालिका वडा नं. ७ चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षकहरू तथा कर्मचारीका विषयमा जाँचबुझ गर्न गठित समितिको निष्कर्ष र राय सुझाव कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिइएको छ । मन्त्रिपरिषद् बैठकले रेडियोधर्मी(उपयोग तथा नियमन) नियमावली, २०७८ स्वीकृत गर्ने, पुल निर्माण(डिजाइन र निर्माण सम्झौता) दर विश्लेषणको नर्म्स स्वीकृत गर्ने र राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्याँस फिलिङ्ग स्टेशन स्थापनासम्बन्धी मापदण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गर्ने लगायतका विविध निर्णय गरिएको प्रवक्ता कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप