शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ निर्देशन

बुधबार, १८ फागुन २०७८, १७ : १२
बुधबार, १८ फागुन २०७८

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरुलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पूँजीबजार सुधार्न विभिन्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

बिहीबार अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजार सुधार्न दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका हुन् । प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वलाई कसैको दबाब र प्रभावमा परेर काम नगर्न पनि अर्थमन्त्रीले आग्रह गरे । शर्माले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पूँजीबजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिए । पूँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले पूँजीबजारमा लगानी भएको रकम ठूला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘जनतामा भएको पैसा पूँजीबजारमा त आयो । अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पूँजी लगानी गर्ने विषयमा तपाईंहरू (धितोपत्र बोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पूँजीबजारको आवश्यकता हो ।’

अर्थमन्त्री शर्माले पूँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरेका छन् । ‘पूँजीबजारमा राजनीति गर्नु हुँदैन । यसलाई स्वचालित ढङ्गले चल्न दिनुपर्छ,’ उनले थपे, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन ।’ मन्त्री शर्माले कार्यभार सम्हाल्ने बित्तिकै पूँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको पनि उल्लेख गरे ।

इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबारजस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पूँजीबजारमा नदेखिन गरी काम गर्न पनि अर्थमन्त्रीले निर्देशन दिए । ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ,’ उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’

साना लगानीकर्ताको पूँजीबजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन पनि अर्थमन्त्रीले दिएका छन् ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पूँजीबजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए । त्यस्तै, राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमी कमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए । उनले अन्तरराष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडी बढाउन निर्देशन दिए ।

धितोपत्र बोर्डमा नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरुलाई सु–सुचित गर्ने बताए । उनले साक्षरताकै अभावमा लगानीकर्ताहरु हल्ला गर्ने वा हल्लाको पछि लाग्ने प्रवृत्ति देखिएको उल्लेख गरे । त्यस्तै, ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाइ छ । नेप्सेमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडी बढाउने प्रतिबद्धता जनाए ।
नेप्से र सेबोनका प्रमुखलाई अर्थमन्त्रीका ११ निर्देशन :

१) कोभिड–१९ को महामारीबीच पूँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पूँजी बजारलाई कसरी अघि बढाउने भन्ने विषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पूँजीबजार सञ्चालन भएको छ भन्ने अध्ययन गर्ने । 

२) पूँजीबजारबाट कसरी पूँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पूँजी निर्माणका लागि पूँजी संकलन गर्ने व्यवस्था मिलाउने ।

३) २० कात्तिक ०७५ देखि नयाँ टीएमएस भित्रिएको छ । यसले केही सहजता ल्याए पनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।

४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पूँजीबजारमा प्रवेश गर्ने बाटो खुला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।

५) सूचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।

६) अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।

७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ वर्ष भयो ।

८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।

९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा ट्रेडेट फाण्डको शुरुवात गर्ने । 

१०) ब्रोकरलाई मार्जिन ल्यान्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्यान्डिङ प्रकृया अगाडी बढाउने ।

११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने । पूँजीबजार सम्बन्धी जनचेतना, पूँजीबजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप