शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जसपामा फेरि बल्झियो विवाद, बाबुराम पक्ष बैठकमा अनुपस्थित

बुधबार, १८ फागुन २०७८, १६ : १६
बुधबार, १८ फागुन २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पुनः विवाद सुरु भएको छ । आन्तरिक विवादकै कारण मंगलबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरु सहभागी भएनन् ।  मंगलबार ११ बजेका लागि बैठक बोलाइएको थियो तर तीन बजेसम्म पनि भट्टराई पक्षका कोही नेता बैठकमा सहभागी नहुँदा अध्यक्ष उपेन्द्र यादवले सो समूह बिनैको बैठक राखेको एक नेताले बताए । 

 सोही बैठकबाट फागुन १४ गते तीन शीर्ष नेताबीच भएको सहमतिलाई अनुमोदन गरिएको छ । अनुमोदन गरिएको विषयलाई पार्टीका कार्यालयमा सचिव प्रकाश अधिकारीले आज विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । जसअनुसार केन्द्रीय तथा परिषदको बैठक र विधानको अधिवेशनको मिति तय गरिएको छ । 

यद्यपि फागुन १३ गतेदेखि सुरु भएको कार्यकारिणी समितिमा पेस गरिएको १२ वटा एजेन्डामध्ये तीनवटा मात्र सहमति भएको छ । अरु बाँकी एजेण्डामा सहमति नहुँदा नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । 
डा.भट्टराई पक्षका एक कार्यकारिणी सदस्यले अध्यक्ष यादवले एकपक्षीय ढंगले बैठक राखेकाले सहभागी नभएको बताए । उनले भने, ‘हामीले बैठक स्थगित गर्न भनेका थियौं, जुन जुन विषयमा विवाद छ, ती विषयमा शीर्ष नेताहरुको बीचमा छलफल गरेर मात्र बैठक बसाउन भनिएको थियो, तर उहाँले मान्नुभएन । हिजो महाशिवरात्रि पनि थियो, नेता तथा मन्त्रीहरु त्यसमा पनि व्यस्त रहनु भयो तर उपेन्द्र यादवले बैठक जबर्जस्ती राख्नु भयो । त्यसमा हामी गएनौं ।’

विवादकै कारण बिहीबार कार्यकारिणी समितिको बैठक भए–नभएकै जानकारी गराइएको छैन । कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बैठक स्थगित भएको छ कि जारी छ थाहै छैन । शीर्ष नेताहरुले बोलाएपछि मात्र बैठक बस्ने नबस्ने जानकारी हुन्छ ।’

कार्यकारिणी सदस्य राजकिशोर यादवले भने तयारी नपुगेका कारण आजको लागि बैठक स्थगित गरिएको बताउ ।  शीर्ष नेताहरुबीच आपसमा छलफल गरेर पुनः बैठक बोलाउने उनको भनाइ छ । 
‘शीर्ष नेताहरुको बीचमा छलफल चलिरहेको छ, उहाँको बीचमा सहमति भएपछि अध्यक्षले बैठक बोलाउनु हुन्छ’, उनले भने, ‘अब पार्टीमा कुनै विवाद छैन । सहमतिमै सबै कुरा टुंगिन्छ, छलफल चलिरहेको छ ।’

जसपाका अनुसार स्थानीय तहको निर्वाचमा टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टीका वरिष्ठ नेता अशोक राईलाई दिने निर्णय भएको छ भने केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते बस्ने पनि निर्णय भएको छ । यस्तै संघीय परिषद्को बैठक फागुन २८ गते, विधान अधिवेशन असाढ १ र २ गते बस्ने निर्णय भएको छ । 

 त्यसबाहेक अन्य नौवटा एजेण्डामा कुरा मिलरहेको छैन । सबभन्दा बढी विवाद केन्द्रीय कार्यकारिणीमा पदपूर्ति, कार्यविभाजन र नेतृत्व प्रणालीमा रहेको छ । 
कार्यकारिणी सदस्य महेन्द्र राय यादवले पार्टीको ४० प्रतिशतको हिस्सेदारी खोजेका छन् । जसपाका एकजना केन्द्रीय सदस्यले भने, ‘महेन्द्र यादवले आफू राजपाबाट आएको हुनाले ४० प्रतिशत हिस्सेदारी चाहिएको भन्नुभएको छ ।  उता बाबुराम भट्टराईले ५० प्रतिशत हिस्सेदारी मागि रहनु भएको छ ।’ 

त्यस्तै नेतृत्व प्रणालीमा संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीको विधान अनुसार दुईजना अध्यक्ष हुनुपर्ने प्रस्ताव गरेका छन् । तर दुईजना कार्यकारी अध्यक्ष राख्ने पक्षमा अध्यक्ष यादव छैनन् । जसपाको अन्तरिक विधानमा रहेको दुईजना कार्यकारी अध्यक्षको प्रावधानलाई संशोधन गर्नुपर्ने पक्षमा अध्यक्ष यादव रहेका छन् । त्यसैका लागि विधान अधिवेशन गर्ने मिति तोकिएको छ । 

यसअघि एमसीसीका कारण पार्टीमा दुई लाइन संघर्ष हुँदा पार्टी विभाजनको भय समेत देखिएको थियो । तर, एमसीसीमा जसपा एकठाउँमा जस्तो देखिएपनि बाँकी विषयमा भने विवाद कायम भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप