रातोपाटी ब्रिफिङ : प्रतिनिधि छनोटमा माओवादीभन्दा राप्रपा प्यारो, रावलको चर्को असन्तुष्टि
आज २०७८ मंसिर १ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
१. नियमावली संशोधनका लागि न्यायाधीशहरूबीच सहमति
सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति भएको छ । नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच आज सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको छ । एक न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकले नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । जसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषय रहेको छ ।
यता, सर्वोच्च अदालतले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको छ । अब यो कार्यविधिलाई सर्वोच्च अदालतको पूर्ण बैठकले अनुमोदन गरेर सर्वोच्च अदालत नियमावलीको संशोधित व्यवस्था राजपत्रमा प्रकाशन भएपछि गोला प्रक्रियाद्वारा अदालतको पेशी व्यवस्थापन शुरु हुनेछ । सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेशी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएकोमा स्वचालित पेशी व्यवस्थापनमा जानुपर्ने सुझाव विभिन्न अध्ययन समितिले दिएका छन् । तर, स्वचालित पेशी व्यवस्थापन प्रणालीमा जानुपूर्व संक्रमणकालीन प्रक्रियाका रुपमा गोला प्रथा लागू गर्न लागिएको हो ।
२. राईले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
३. जोशीलाई पहिलो विद्युतीय राहदानी
सरकारले आजदेखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) को पहिलो प्रति संस्कृतिविद् सत्यमोहन जोशीलाई उपलब्ध गराएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी दिएका हुन् ।
४. सभापतिमा चुनाव लड्ने महामन्त्री कोइरालाको घोषणा
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । । आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन् ।
यता, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् । विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनद्वारा बुधबार आयोजित कार्यक्रममा उनले पार्टीमा सम्मानको बहस हुने गरेपनि आफूविरुद्ध टिप्पणी गर्नेहरु असभ्य भएको उल्लेख गरे । महामन्त्री शशांक कोइरालाले आजै मात्र एक कार्यक्रममा सभापतिका आकांक्षी रहेका सिंहलाई काठमाडौं बाहिरका नेता कार्यकर्ताले नचिनेको टिप्पणी गरेका थिए । त्यसको जवाफ दिँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उनको भनाइ छ ।
५. सरकारलाई ओलीको प्रश्न
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् । बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा उत्पादन भएको बिजुली आफ्नै देशमा खपत गरौ, बिजुलीका गाडी चलाउ, बिजुली भात पकाऊ भनेको सुनेको भन्दै त्यही अभियान आफुले सुरु गरेकाले अहिले सरकारले नाक ठड्याउन पाएको बताएका हुन् ।
६. पठाओ दुर्घटनामा मृतकका परिवारले पाउने क्षतिपूर्तिबारे के हुन्छ ?
काठमाडौंको कलंकीमा मंगलबार साँझ पठाओ स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भयो । कलंकीस्थित खसी बजारमा बसको ठक्करबाट पठाओ राइडर ३५ वर्षीय राम बहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार साहको मृत्यु भएको थियो । काठमाडौंमा पठाओ दुर्घटनामा राइडर र यात्रुले ज्यान गुमाएको यो पहिलो घटना हो । सो दुर्घटनापछि मृतकका परिवारले पाउने क्षतिपूर्ति र बीमा रकमबारे प्रश्न उठेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको नेपालस्थित पठाओको कार्यालयले जनाएको छ ।
७. एमालेमा पूर्वमाओवादी फ्याक्टर
नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा पूर्वमाओवादी समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका छन् । अध्यक्ष ओलीसँग भएको मौखिक सहमति अनुसार महाधिवेशन प्रतिनिधि छनोट नभएको भन्दै पूर्वमाओवादी नेताहरु चिढिएका हुन् । पूर्वमाओवादी समूहका एक एमाले नेताका अनुसार अध्यक्ष ओलीसँग भएको सहमतिअनुुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने शर्त थियो । त्यसैगरी, जनवर्गीय संगठन र दलित नेता भएको स्थानबाट एक÷एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादीबाट ल्याउने भनिएको थियो ।
८. प्रदेश एकको सभापतिमा लड्ने गुरुराजको घोषणा
नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रदेश एकको सभापतिमा उम्मेदवारी दिने भएका छन् । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता घिमिरेले प्रदेश सभापति हुने घोषणा गरेका हुन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले रातोपाटीसँग भने, ‘केन्द्रमा सहमहामन्त्री कि प्रदेश उपसभापतिको उम्मेदवार बन्ने थियो । अब प्रदेश एकको सभापतिमा उठ्ने भएको छु ।’
९. एमाले प्रतिनिधि चयनप्रति भीम रावलको चर्को असन्तुष्टि
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशन प्रतिनिधि चयनमा कैलाली लगायतका जिल्लामा बेथितिपूर्ण ढंगले भएको भन्दै रद्ध गरी पुन : चयन गर्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेता रावलले पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरितका भएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
१०. ४१२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो