शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आलोपालो सरकार चलाउन मुख्यमन्त्री राई तयार, ६ महिनापछि काँग्रेसको दावी

बुधबार, ०१ मङ्सिर २०७८, १८ : ०१
बुधबार, ०१ मङ्सिर २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व लागि आलोपालो चलाउन केन्द्रमा रहेको पाँच दलीय गठबन्धनले सहमति गरेमा आफूलाई  स्वीकार्य हुने बताएका छन्। तर उनले अहिलेसम्म केन्द्रमा प्रदेशको सरकारको नेतृत्व आधा आधा गर्ने बिषयमा कुनै भद्र सहमति भने नभएको प्रष्ट पारे । बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेश सभा सचिवालयमा संचारकमीहरुसँग संक्षिप्त कुराकानी गदै मुख्यमन्त्री राईले उक्त अभिव्यक्ति दिएका हुन् ।

गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेसले यसअघि प्रदेश १ को सरकारको नेतृत्व आधा आधा हुनुपर्ने माग राख्दै आएको छ । बिशेष गरी कांग्रेस नेता शेखर कोइराला समूहले प्रदेश सरकारको नेतृत्व आधा कार्यकाल कांग्रेसले पनि गर्न पाउनुपर्ने माग उठाउँदै आएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राईले एक साताभित्र मन्त्रिपरिषद बिस्तार हुने पनि बताएका छन् । उनले बढीमा ११ सदस्यीय मन्त्री परिषद बनाउने गरी गृहकार्य भइरहेको पनि जानकारी दिए । मुख्यमन्त्री राईले भने,‘अबको साता दिनभित्र मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।’

हाल रहेको सात मन्त्रालयलाई टुक्र्याएर ११ मन्त्रालय बनाउने गठबन्धनको नयाँ सरकारको तयारी छ । मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री राई कार्तिक १६ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले चार मन्त्री र एक राज्यमन्त्रीको मन्त्रिमण्डल सोही दिन गठन गरेका थिए ।

मन्त्रीको आकांक्षी धेरै

मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । गठबन्धन दलअन्तर्गत माओवादी केन्द्रबाट झलकसिंह दर्लामी, रामकुमार राई, धीरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ मन्त्री बन्ने दौडमा छन् । त्यस्तै, काङ्ग्रेसभित्र देउवा र देउवा इतर पक्षबीच सरकारको नेतृत्व गर्ने विषयमा विवाद छ । ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, बिन्दिया कार्की, शेखरचन्द्र थापा मन्त्री बन्ने दौडमा छन् । देउवा समूहका हिमाल कार्की यस अघिको मन्त्रिमण्डलमा सहभागी भइसकेकाले अब बिस्तार हुने मन्त्रिमण्डलमा कृष्णप्रसाद सिटौला पक्षका सराबगीको सम्भावना बलियो छ ।

सरकारको नेतृत्व गरेको पार्टी नेकपा एसबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बू मन्त्री बन्ने लाइनमा छन् । हाल प्रदेश सरकारमा काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री रहेका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्वाहाङ्फे सामाजिक विकास राज्यमन्त्री रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप