सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा पूर्वमाओवादी फ्याक्टर : वरिष्ठ उपाध्यक्षसहित २५ केन्द्रीय सदस्य नपाए विद्रोह !

‘प्रतिनिधि छनोटमा माओवादी भन्दा राप्रपा प्यारो’
बुधबार, ०१ मङ्सिर २०७८, १८ : २८
बुधबार, ०१ मङ्सिर २०७८

नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा पूर्वमाओवादी समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका छन् । अध्यक्ष ओलीसँग भएको मौखिक सहमति अनुसार महाधिवेशन प्रतिनिधि छनोट नभएको भन्दै पूर्वमाओवादी नेताहरु चिढिएका हुन् ।

पूर्वमाओवादी समूहका एक एमाले नेताका अनुसार अध्यक्ष ओलीसँग भएको सहमतिअनुुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने शर्त थियो । त्यसैगरी, जनवर्गीय संगठन र दलित नेता भएको स्थानबाट एक÷एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादीबाट ल्याउने भनिएको थियो ।

तर, ओलीसँग भएको उक्त सहमतिविपरीत महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओली पक्षले एकलौटी गरेको पूर्वमाओवादी समूहको गुनासो छ । ओली पक्षले कतिपय जिल्ला र प्रदेशमा पूर्वमाओवादीका धेरै पुराना कार्यकर्तालाई छाडेर भर्खर राप्रपाबाट पार्टी प्रवेश गरेकाहरुलाई महाधिवेशन प्रतिनिधि बनाएको उनीहरुको गुनासो छ ।

‘ओलीलाई माओवादीभन्दा राप्रपा प्यारो’

पूर्वमाओवादी नेताहरुका अनुसार शंकर पोखरेलको गृहजिल्ला दाङबाट मात्रै पूर्वमाओवादीबाट २३ जना आउनुपर्नेमा १ जनामात्रै प्रतिनिधि छानिएका छन् । असन्तुष्ट समूहका ती नेताले भने, ‘दाङमा हाम्रो राम्रो छ । तर, त्यहाँ ध्रुव आचार्यजस्ता सिनियरलाई ल्याएनन्, राप्रपाबाट अहिले भर्खर आएकालाई प्रतिनिधि बनाइयो । उहाँहरुका लागि हामी भन्दा राप्रपा प्यारो देखियो ।

ती नेताले असन्तुष्टि पोख्दै भने, ‘झापामा हाम्रै कारण एमालेमा पाँच हजार भोट बढेको छ, तर एकजना पनि प्रतिनिधि दिएनन् । यस्तो धेरै ठाउँमा भएको छ । रामबहादुर थापा बादल इञ्चार्ज रहेको बागमतीबाटै काठमाडौं र काभ्रेबाट एकैजना पनि पूर्वमाओवादीका नेता महाधिवेशन प्रतिनिधिमा परेनन् ।’

असन्तुष्ट ती नेताले रातोपाटीसँग भने, ‘महाधिवेशन प्रतिनिधिको सबै सूची आइसकेको त छैन, देशभरबाट १५० जना जति आउँछन् भन्ने हाम्रो आँकलन थियो, अहिलेसम्म १ सय जति आएका छन् । मधेसबाटै हाम्रा महाधिवेशन प्रतिनिधि आएनन् ।’

ती नेताका अनुसार सिन्धुलीबाट तीनजना र सुर्खेतबाट चार तथा  बादलको गृहजिल्ला चितवनबाट २ जना मात्रै महाधिवेशन प्रतिनिधि आएका छन् । मधेसबाट ३०–४० जना आउने अनुमान गरिएकोमा त्यहाँ ओली समूहले एकलौटी गरेका कारण अति कम प्रतिनिधि छानिएका छन् ।

 


लेखराज​ भट्ट इञ्चार्ज रहेको सुदूर पश्चिमका जिल्लाहरुमा पनि ओली पक्षले झेली गरेको पूर्वमाओवादी नेताको गुनासो छ । ती असन्तुष्ट नेताले भने, ‘केपी ओली निकट कर्णबहादुर थापाले सुदुरपश्चिममा अब लेखराज भट्ट पनि होइन, भीम रावल पनि होइन, अबको नेता म हुँ भनेर एकलौटी गरे ।’

महाधिवेशन प्रतिनिधि छनोटमा विभेद भएको बताउँदै पूर्वमाओवादी नेता भन्छन्, ‘विद्यार्थी संगठनबाट ५ जना प्रतिनिधि छानिँदा एकता प्रक्रियाबाट आएका एकजना पनि राखेनन् । ओलीबाले भनेको लागु भएन । यो हिसावले अब केन्द्रमा चुनाव लडियो भने हाम्रो पक्षको कोही आउँदैन भन्ने निष्कर्ष छ ।’

सहमति पालना नभएको गुनासो

‘अब सहमतिमा, प्रतिस्पर्धामा र विचारमा पनि आउन गाह्रो भयो । एमालेकै १० भाइ पनि को कता लागे । दुईचार ठाउँ आए तर ओली पक्षकै बीचमा झगडा भयो’, पूर्वमाओवादीका ती नेता भन्छन्, ‘हाम्रा मान्छे कतै पनि ल्याएनन्, उनीहरुले माओवादीका चारजना नेताबाट आएका भन्दा पनि एमालेसँगै जोडिएकालाई ल्याए । महाधिवेशन प्रतिनिधि छनोटमा भनेजस्तो भएन । हाम्रो १० प्रतिशत पनि नहुने भयो ।’

एमालेमा असन्तुष्ट देखिएका ती नेता अगाडि भन्छन्,  ‘ओलीजीले भिडियो सन्देश जारी गरेर सहमति भन्ने तर, एकलौटी गर्ने जस्तो देखियो । यस्तै हो भने हामी चुनावमा जाने कि नजाने भनेर सल्लाह गर्न बाध्य हुन्छौं ।’

 


पूर्वमाओवादी नेताका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक–एकजना, जनवर्गीय संगठनबाट एक–एक र दलित नेता भएको ठाउँबाट एक जना महाधिवेशन प्रतिनिधि लिने भनेर अध्यक्ष ओलीसँग मौखिक सहमति नै भएको थियो । त्यसक्रममा पूर्वमाओवादीका नेताहरुले चुनावी प्रतिस्पर्धा नगर्ने र ओलीलाई सहयोग गर्ने सर्त अघि सारेका थिए । ‘त्यसो गर्दा ५ जना प्रतिनिधि छानिँदा एकजना हाम्रो हुनुपर्छ भनेका थियौँ,’ ती नेताले रातोपाटीसँग भने, ‘ओलीले म भित्र पनि भन्छु बाहिर पनि भन्छु भन्नुभएको थियो । तर, भिडियो सन्देशमा पनि उच्चस्तरीय समझदारी कायम गर्नु पनि डेमोक्रेसी हो भनेर अर्मूत कुरा गर्नुभयो ।’

एमालेका लागि जे भए पनि पूर्वमाओवादीका लागि यो महाधिवेशन  नेकपाको निरन्तरता र एकताको महाधिवेशन नै भएको ती नेताले बताए । यही कारण तलबाटै पूर्वमाओवादीतर्फका प्रतिनिधिहरु आउनुपर्ने आफूहरुले शर्त राखेको उनले बताए ।

वरिष्ठ उपाध्यक्षसहित २५ जनाको दाबी

यसैबीच, पूर्वमाओवादीले आगामी महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बताउनुपर्ने बताएको छ । एकताका क्रममा हाल एमालेमा पूर्वमाओवादी समूहका २५ जनाको उपस्थिति छ । आगामी महाधिवेशनमा कम्तीमा २५ सै जनाले वैधानिकता पाउनुपर्ने सो समूहको माग छ ।  

रातोपाटीसँगको अनौपचारिक कुराकानीमा सो समूहका एक नेताले भने, ‘केन्द्रीय कमिटीमा हामी २५ जना छौं, बादलजीसहित चारजना स्थायी कमिटीमा छौं, यो टोलीलाई महाधिवेशनमा ग्यारेन्टी भएन भने हामी चुनावमै जाने कि नजाने भन्ने निश्चित छैन ।’  

तलैसम्म पार्टी एकताको भाव झल्काउनका लागि पूर्वमाओवादी समूहबाट रामबहादुर थापा बादललाई बरिष्ठ उपाध्यक्ष बनाइनुपर्ने आफूहरुको अडान रहेको बताउँदै ती नेताले भने, अहिले स्थायी कमिटीमा रहेका चारजना र प्रभु साहसमेत स्थायी कमिटीमा पर्नैपर्यो । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा पनि हाम्रो दाबी छ । २१ केन्द्रीय सदस्यलाई महाधिवेशनले नेतृत्वमा समेट्न जरुरी छ ।’   

‘सहमति नभए बाटो लाग्छौं’

पूर्वमाओवादी पक्षले अब महाधिवेशनमा सहमतिबाटै आफूहरुको व्यवस्थापन गर्न ओली तयार भए उनैलाई साथ दिने रणनीति बनाएको छ । तर, सहमति नगरे फरक ढंगबाट सोच्ने नेताहरुको भनाइ छ ।

‘एमालेका तीन–चारवटा गुटमा हामी पर्न चाहँदैनौँ’ रातोपाटीसँग नाम उल्लेख नगर्ने शर्तमा एक नेता भन्छन्, ‘हाम्रा २५ जना मान्छे  केन्द्रीय कमिटीमा मिलाउन नसके अधिकांश फर्कन्छन् । विप्लव, प्रचण्ड, बाबुराम र नेकपा एस पनि छ, सही ढंगले मिलाएनन् भने एमालेबाट आधा मान्छे फर्किन्छन् । ठूला नेता नफर्के पनि तलका धेरैले एमाले छाड्छन् ।’

अहिले बादल, भीम रावल र घनश्याम भुसाल जस्ता नेताहरुले समेत मानेको हुनाले त्यही सेन्टिमेन्टका आधारमा ओलीको पक्षमा लहर चलेको बताउँदै ती नेताले भने, ‘तर, यसैगरी पेल्दै र एकलौटी गर्दै जाने हो भने यिनको लहर बन्द गर्न हामी एक–दुईजना काफी छौं । हामीले प्रचण्ड र ओलीमा केही फरक रहेनछ भन्दिने हो भने यिनको लहर स्वाट्टै घट्छ । हामीलाई त सडकमा हिँड्न केही आपत्ति छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप