प्रदेश एकको सभापतिमा लड्ने गुरुराजको घोषणा, त्रिपक्षीय भिडन्तको सम्भावना
नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रदेश एकको सभापतिमा उम्मेदवारी दिने भएका छन् । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता घिमिरेले प्रदेश सभापति हुने घोषणा गरेका हुन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले रातोपाटीसँग भने, ‘केन्द्रमा सहमहामन्त्री कि प्रदेश उपसभापतिको उम्मेदवार बन्ने थियो । अब प्रदेश एकको सभापतिमा उठ्ने भएको छु ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेलले घिमिरे प्रदेश सभापतिमा उम्मेदवार बन्न लागेका हुन् । प्रदेश सभापतिको प्रस्ताव आएको हो भन्ने प्रश्नमा उनले भने, ‘प्रस्ताव आएर नै म चर्चा भएको हो । तयारीका लागि यतिबेला विराटनगरमा छु ।’
घिमिरेले आफू सर्वसम्मत रुपमा प्रदेश सभापति हुन चाहेको पनि बताए । म जत्तिको नेताले प्रदेश सभापति बन्छु भन्दा शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला दाइले समर्थन गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । मेरो प्रयास पनि सर्वसम्मत सभापति बन्ने छ ।’ तर प्रदेश १ मा देउवा समूहले केन्द्रीय सदस्य अमृत अर्याल, पूर्व सांसद रामहरि खतिवडामध्ये एकलाई अगाडि सार्ने छलफल थालेको छ ।
प्रदेश एकमा बलियो उपस्थिति रहेका सिटौला समूहले उद्धव थापा र सुधीर शिवाकोटीमध्ये एक जनालाई अगाडि सार्न खोजेको छ । देउवा समूहभित्र प्रदेश एकमा कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्ने विषयमा पनि छलफल भइरहेको छ ।
सिटौला समूहले नेतृत्व आफूलाई दिन तयार हुने समूहसँग मात्र सहकार्य गर्ने योजनामा छ । अन्य प्रदेशको तुलनामा प्रदेश एकमा राम्रो मानिएको पौडेल समूह सिटौलालाई नेतृत्व दिन तयार छैन । तत्कालीन फोरम लोकतान्त्रिक राप्रपाको सुनील थापा समूह काँग्रेसमा जोडिएकाले आफ्नो उपस्थिति बलियो बनेको देउवा पक्षको बुझाइ छ । देउवा पक्ष पनि सिटौलालाई नेतृत्व दिन तयार देखिएको छैन । यस्तो अवस्थामा प्रदेश एकमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
घिमिरेले आफू प्रतिस्पर्धाका लागि पनि तयार रहेको बताए । उनले भने, ‘ पार्टीभित्र मेरो नाममा सर्वसम्मति भएन भने पनि म चुनाव लड्न पनि तयार नै छु । चुनाव लडिन्छ ।’
प्रदेश कार्यसमिति लागि प्रदेश अधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिले मत हाल्न पाउँछन् । प्रदेश कार्यसमितिको उम्मेदवार बन्न पनि दुईमध्ये एक तहको प्रतिनिधि बन्नुपर्ने काँग्रेसको विधानमा व्यवस्था छ ।
प्रदेश कार्यसमितिले जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबीच आवश्यक समन्वय गर्ने अधिकार प्राप्त गरेको छ । यस्तै तीनवटै तहका निर्वाचनमा प्रदेशभित्र पार्टीका सबै निकायलाई परिचालन, समन्वय र निर्देशन दिने अधिकार प्रदेश कार्यसमितिलाई दिइएको छ ।
प्रदेश कार्यसमितिलाई विभिन्न तहको निर्वाचनमा पार्टीका तर्फबाट आएका उम्मेदवारको नाम रायसहित केन्द्रीय समितिमा सिफारिस र निर्णय गर्ने अधिकार दिइएको छ । नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी चयनको निर्णय गर्ने अधिकार पनि प्रदेश नेतृत्वलाई दिइएको छ ।
प्रदेश सभापति पनि शक्तिशाली पद भएको नै मानिएको छ । बलियो टिममा केन्द्रीय सहमहामन्त्रीको उम्मेदवार हुन नपाइने अवस्थामा केन्द्रीय नेताहरुको पहिलो रोजाइ प्रदेश सभापति पद हुन पुगेको छ ।