शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा !

एमालेको नयाँ साइबर सेना – आईटी आर्मी
मङ्गलबार, ०५ साउन २०७८, २१ : ०४
मङ्गलबार, ०५ साउन २०७८

आज २०७८ साउन ५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा; एमालेले बनायो ‘आइटी आर्मी’, एमाले बैठक : माधव समूहलाई कारवाहीबारे भएन निर्णय, जसपा संसदीय दलको बैठकबाट विधान पारित, अर्को बैठकले नेता चयन गर्ने; कक्षा १२ को परीक्षा निर्धारित, भौतिक उपस्थिति मै परीक्षा सञ्चालन हुने लगायत छन् ।

१. बिहान प्रचण्ड बालुवाटारमा, साँझ देउवा खुमलटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीचको भेटमा गठबन्धन दलहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा सहमति भएको बताइएको छ । मंगलबार नै प्रधानमन्त्री देउवा खुमलटारस्थित प्रचण्डको निवासमा पुगेका छन् । उनी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खुमलटार पुगेका हुन् ।

 


 

 

 


२. एमालेले बनायो ‘आइटी आर्मी’

सरकारबाट हालै बाहिरिएको नेकपा एमालेले ‘आइटी आर्मी’ नामक संगठन बनाएको छ । सामाजिक सञ्जाललाई लक्षित गर्दै एमालेले मंगलबार चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय संगठन निर्माण गरेको हो । लामो समय माओवादीमा रहेर पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी र प्रभु साहले ‘आइटी आर्मी’ गठनको औचित्य प्रस्ट्याउने क्रममा न्यायालयको भूमिकाप्रति असन्तुष्टि जनाएका थिए ।

 


३. एमाले बैठक : माधव समूहलाई कारवाहीबारे भएन निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ एमाले सांसदमाथिको कारवाहीबारे थप निर्णय गर्न सकेन । सोमबार बसेको बैठकले आफ्ना पार्टीका २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि मंगलबार बसेको बैठकमा त्यसबारे थप निर्णय हुन नसकेको हो । एमालेका प्रवक्ता प्रदीप नेपालका अनुसार २४ घण्टाको अवधि नगुज्रिएका कारण कारवाहीबारे मंगलबार छलफल नगरिएको हो । बुधबार फेरि बस्नेगरी बैठक स्थगित भएको छ ।

 

४. जसपा संसदीय दलको बैठकबाट विधान पारित, अर्को बैठकले नेता चयन गर्ने

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । संसदीय दलको नेता चयन तथा सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन भने अर्को बैठकले गर्ने बताइएको छ । जसपाका ३४ सांसदमध्ये बैठकमा २० सांसद उपस्थित थिए । बैठकले महन्थ ठाकुर पक्षले माफी नमागेसँग सो पक्षसँग एकता नगर्ने निर्णयसमेत गरेको छ ।

 

५. कक्षा १२ को परीक्षा निर्धारित, भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । भदौ ९ सम्म सञ्चालन हुने परीक्षामा परीक्षार्थीहरुले होम सेन्टरबाटै परीक्षा दिन पाउने छन् ।

 

६. भेटवार्तामा विप्लवको दौडधुप, मंगलबार ओलीसँग छलफल

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले केहीदिन यता राजनीतिक भेटवार्ता तीव्र तुल्याएका छन् । सोही क्रममा मंगलबार उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । पछिल्ला दिनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

 


७. ओलीलाई महन्थ ठाकुरको धन्यवाद, देउवालाई ध्यानाकर्षण

जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले आफूहरुको माग पूरा गर्न सकारात्मक पहल गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै आफूहरुको माग पूरा गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गरेका छन् ।

८. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा सुचारु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारबाट ओपीडी सेवा सुचारु भएको छ । प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदलसँग प्रारम्भिक चरणको वार्तापछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमलाई सांकेतिक रुपमा मात्र निरन्तरता दिँदै ओपीडी सेवा सुचारु गरेका हुन्

९. तीन हजार १०८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने एक हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

१०. र, यो पनि

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता विवादबारे निर्णय भएपछि मात्र सरकारमा सहभागी हुने भएको छ ।

मंगलबार सेयर बजार परिसूचक ९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से २ हजार ९८५.५७ बिन्दुमा झरेको हो ।


मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर मंगलबारदेखि सर्वसाधारणका लागि खुलेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप