बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आज दिनभरका प्रमुख खबर (भिडियोसहित)

सोमबार, १४ असार २०७८, २३ : २६
सोमबार, १४ असार २०७८

शुभसन्ध्या ! आज असार १४ गते सोमबार । तपाईंले थाहा पाउन आवश्यक आज दिनभरिका केही मुख्य समाचार रातोपाटीडटकमको सन्ध्याकालीन ब्रिफिङका रुपमा यहाँ प्रस्तुत गरेका छौं – 

आजका मुख्य घटनाक्रमहरूमा निषेधाज्ञा थप गर्ने उपत्यकाका सिडिओहरुको निर्णय, सार्वजनिक यातायात सञ्चालनबारे व्यवसायीहरुको असन्तुष्टि, कोरोना संक्रमणको दैनिक अपडेट, संवैधानिक इजलासको नियमित बहस, केपी–माधव भनाभन, बुद्धिजीवीसँग विपक्षी गठबन्धनको अन्तरक्रियालगायत छन् । 

भिडियो हेर्नुहोस्

१. खुकुलो भयो निषेधाज्ञा, सार्वजनिक यातायात चल्ने

काठमाडौं उपत्यकाभित्र मंगलबारदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि लागु हुनेगरी २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिने भएको हो । 

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्नुपर्ने छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । त्यस्तै निजी सवारी साधनहरु कार, जीप, भ्यानमा बढीमा ४ जना र ट्याक्सीमा बढीमा ३ जना मात्र बस्न पाइने छ । मोटरसाइकल/स्कुटर पनि जोर–बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने छ । 

खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, स्टेशनरी÷पुस्तक पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । डिपार्टमेन्टल स्टोर, लत्ताकपडालगायत अटोमोबाइल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न सकिने छ । अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ ।

विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुनेगरी आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने छ । सभा, सम्मेलन र गोष्ठीहरु भने खुल्ला गरिएको छैन । यो आदेश असार २१ गतेसम्मका लागि लागु हुनेछ ।

२. सबै सवारी साधन चलाउन पाउनुपर्ने यातायात व्यवसायीको माग

सरकारले असार १५ गते मंगलबारदेखि २५ सीटभन्न्दा बढी क्षमताका ठूला सवारी साधनलाई मात्रै चल्न दिन निर्णय गरेपछि यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै उनीहरुले सच्याउन आग्रह गरेका छन् । सरकारले निर्णय नसच्याए उनीहरुले देशैभर सबै किसिमका सवारी साधन असार १८ गतेदेखि चलाउने घोषणासमेत गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । साना सवारी साधनहरु लामो समयदेखि बन्द रहँदा व्यवसायीहरु र मजदुरहरु मर्कामा परेको हुनाले सरकारले साना व्यवसायी र मजदुरमाथि विभेद गर्न नहुने उनीहरुको तर्क छ । 

 ३. कोरोना अपडेट : २४४४ संक्रमित, ४२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जना गरी कुल ११ हजार ६४० जनाको परीक्षण गर्दा  यो संख्यामा संक्रमण पुष्टि भएको हो ।  यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना छन् ।


कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना पुगेको छ । 

४. संवैधानिक इजलासमा सत्तापक्षको बहस

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमाथि सोमबार महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरे । सोमबारदेखि सत्तापक्षको बहस सुरु भएको छ । मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नेछन् ।  पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ । सोमबारको बहसमा बडालले संविधानको धारा ७६ (५) मा दलीय निर्देशन ह्विप लाग्ने दाबी गरे ।  बडालले उपधारा ५ अनुसार स्वतन्त्ररुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दाबी लिएर जान सक्ने व्याख्या गरे । 

५. ओली–नेपाल भनाभन

प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबीच एकअर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम जारी रहेको छ । सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षी राजनीतिक दलका शीर्ष नेतासहित सर्वाेच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तीखो शब्दवाण प्रहार गरे । विशेष गरी पार्टीकै शीर्ष नेता माधवकुमार नेपालमाथि खनिएका ओलीले माधव नेपाल प्रचण्डको पुच्छर भएको र उनी काँग्रेसमा प्रवेश गर्ने टिप्पणी गरे । उनले नेता नेपाललाई प्रचण्डको पुच्छर, लाज सरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भनेर टिप्पणी गरे । माधव नेपाललाई प्रधानमन्त्री बनाउन आफूलाई बहुलाहा कुकुरले नटोकेको ओलीले बताए ।
नयाँ बानेश्वरमा बुद्धिजीवीहरुसँगको छलफलमा रहेका नेता नेपालले ओलीको अभिव्यक्तिमाथि टिप्प्णी गर्दै उनका भनाइहरु रेकर्डमा राख्नुपर्ने बताए ।  नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने ओलीले दिएका अभिव्यक्तिमाथि ध्यान दिन आग्रह गरे । उनले ओलीका टिप्पणी सही भए जनताको अदालतमा उभिन तयार रहेको बताए ।

६. काँग्रेसमा महाधिवेशनको सरगर्मी
आगामी भदौ १६ गतेदेखि शुरु हुने नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी बढेको छ । यसक्रममा सोमबार काँग्रेसका बरिष्ठ नेताले डा. शेखर कोइराला र सुजाता कोइरालासँग बेग्लाबेग्लै छलफल गरेका छन् । पौडेल पक्षबाट साझा उम्मेदवारका तय गर्न उनीहरुवीच छलफल भएको हो । डा. शेखर कोइरालाले आफूलाई सभापति बनाएर पौडेललाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन् । सुजाताले रामचन्द्र र कृष्णप्रसाद सिटौलाबीच मिलाप गर्न सुझाएकी छिन् । 
यससँगै काँग्रेसभित्र देउवा पक्ष र पौडेल पक्ष दुबैतिरबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दाबी पेश गर्ने नेताहरुको संख्या बढ्न थालेको छ ।

७. विपक्षी गठबन्धन र बुद्धिजीवीबीच छलफल
आज नयाँ बानेश्वरमा विपक्षी गठबन्धनका नेताहरुले कानूनविद एवं बुद्धिवीवीहरुसँग अन्तरक्रिया गरे । विभिन्न पेशागत संगठनका बुद्धिजीवीहरुले विपक्षी पाँच दलीय गठबन्धनको भविश्यबारे प्रश्न उठाए । बुद्धिजीवीहरुको सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता अशोक राई र जनमोर्चा नेतृ दुर्गा पौडेलको सहभागिता थियो ।

८. नेपालमा किन आए दुईवटा रहस्यमय हेलिकप्टर !
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुईवटा सेता हेलिकप्टर ६ महिनादेखि रोकिएका छन् । सैनिकका जस्ता लाग्ने यी हेलिकप्टरहरु कहाँबाट आए र किन रोकिए ? रातोपाटीले सोधिखोजी गर्दा यी हेलिकप्टरहरु कीर्गिस्तानबाट बिक्रीका लागि ल्याइएको तर हालसम्म विक्री नभएको पाइएको छ । 

९. अन्य खबरहरु :
आज गृह मन्त्रालयले नेपाल प्रहरीका सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफरिस गरेको छ । निर्वाचन आयोगमा जसपाका अध्यक्ष महन्थ ठाकुरले आफू एक नम्बरको अध्यक्ष रहेको भन्दै दाबी पेश गरेका छन् । अनामनगरको सरकारी जग्गामा बनेका घर टहरा महानगरपालिकाले हटाएको छ । 

प्रदेश १ को प्रदेशसभा बैठक माओवादीले अवरुद्ध गरेको छ । कर्णालीमा एमालेको विवादका कारण बजेटमाथिको छलफलमा ढिलाइ भएको छ । 
र, मौसम विज्ञान विभागले बुधबारदेखि भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।  

१०. र, यो पनि :
दलित युवती रुपा सुनारलाई दलित भएकै कारण घरबेटीले कोठा भाडा नदिएको विषयमा सामाजिक बहस चलिरहेका बेला विश्लेषक तुल्सीदास महर्जनले रातोपाटीको विचार पृष्ठमा यसबारे सारगर्भित विश्लेषण प्रस्तुत गरेका छन् ।

महर्जन लेख्छन्, ‘नेवार जाति सधैँ गोर्खाली जातीय खस अहंकारवादी राज्यसत्ताबाट उत्पीडनमा पर्दै आयो ।  रुपाको बिद्रोहलाई नेवार जातिविरुद्धको कदमका रुपमा व्याख्या गर्नु सरासर गलत छ । रुपा सुनारको विद्रोह नेवार जातिविरुद्ध होइन, उनको विद्रोह जातीय विभेदविरुद्धको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप