बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा को–को छन् पदाधिकारीका दाबेदार ?

सोमबार, १४ असार २०७८, १२ : ५४
सोमबार, १४ असार २०७८

आगामी भदौ १६ देखि १९ गतेसम्म हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तिथि नजिकिँदै जाँदा सभापतिका लागि होडबाजी शुरु भइसकेको छ । यससँगै उपसभापति, महामन्त्री र सहमहामन्त्रीका दाबेदारहरू पनि मैदानमा उत्रन थालेका छन् ।

काँग्रेसको नयाँ विधानले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (कलस्टर) बाट निर्वाचित भएर आउने व्यवस्था गरेको छ । कुल १६ जना पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनीत गर्ने प्रावधान छ ।

​पार्टीको नयाँ विधानमा दुईजना निर्वाचित महामन्त्रीको प्रावधान राखिएपछि महामन्त्री पदमा आकर्षण चुलिएको छ । काँग्रेसको युवा पंक्तिको विशेष आकर्षण महामन्त्री पदमा देखिएको छ । अधिकांश युवा नेताहरूको रोजाइमा महामन्त्री परेको छ । महामन्त्रीमा नअटाउने परिस्थितिको पूर्वानुमान गरेका कतिपय नेताले उपसभापतिमा दाबी गरेका छन् ।

सभापति पदमा देउवालाई विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले चुनौती दिएका छन् भने पौडेललाई शशाङ्क कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङलगायतले चुनौती दिएका छन् । तथापि, शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबैले सभापतिको उम्मेदवार भन्ने बताइसकेको स्थितिमा काँग्रेसभित्र देउवा र पौडेललाई नै दुई मुख्य समूह मानिँदै आएको छ ।

अब देउवा समूह र रामचन्द्र पौडेल समूहबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क–कसले दाबी गर्दै छन् भन्ने चर्चा गरौँ–

देउवा टिम : उपसभापति र महामन्त्रीका दाबेदार

देउवा टिमबाट सभापतिपछि दोस्रो पद (दुईजना उपसभापति) मा चार जनाको दाबी छ । वर्तमान उपसभापति विजयकुमार गच्छदार, वर्तमान महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू एनपी साउद र ज्ञानेन्द्र कार्कीले उपसभापतिमा आकांक्षा देखाएका छन् ।

त्यसमध्ये पनि उपसभापतिमै दाबी राख्ने गच्छदार र खड्का छन् भने साउद र कार्कीले महामन्त्रीको विकल्पमा सहमति जनाउन सकिने बताउँदै आएको छन् ।

देउवा टिमबाट महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, नेता बालकृष्ण खाण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्र कार्की र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ ।

कार्की र साउदले विकल्पसहित महामन्त्रीमा दाबी प्रस्तुत गरेको पाइन्छ । खाण, लेखक र शर्माले भने पहिलो र अन्तिम विकल्प महामन्त्री पदलाई बनाएको देखिन्छ । यद्यपि लेखक र शर्मा महामन्त्रीबाट रिङआउट भएको अवस्थामा खुला सहमहामन्त्रीको दाबेदारमा झर्न सक्ने काँग्रेसवृत्तमा चर्चा छ ।

त्यसैगरी देउवा टिमबाट खुल्लातर्फको सहमहामन्त्रीमा वीरबहादुर बलायर, मोहन बस्नेत, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराईलगायतको दाबी छ । त्यस्तै केन्द्रीय सदस्य बाहिरबाट तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, पूर्वसांसद रामहरि खतिवडालगायतको पनि दाबी छ ।

यद्यपि यसमा यसअघि पदाधिकारी नभएर महामन्त्रीमा दाबी गरिरहेकाहरुलाई खुला सह–महामन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

 

 

पौडेल टिम : उपसभापति र महामन्त्रीका दाबेदार

रामचन्द्र पौडेलको टिममा पनि महामन्त्रीमा दाबी राख्ने अधिकांश नेताले रिङआउट पछिको परिस्थिति हेरेर दाबी पेस गरेका छन् ।

रामचन्द्र पौडेलको टिमबाट पूर्वसहमहामन्त्रीद्वय अर्जुननसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू र महेश आचार्यको नाम उपसभापतिका रूपमा चर्चामा छ ।

तर, पौडेल समूहबाट महामन्त्रीमा रिङआउट हुने अवस्था आएमा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङलगायतले पनि उपसभापतिमा पनि दाबी गर्न सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

पौडेल समूहबाट दुईजना महामन्त्रीका लागि आधा दर्जन बढी नेताको दाबी छ । जसमा केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेल, दीपक गिरीलगायत छन् ।

पौडेल टीममा महामन्त्रीका दाबेदारको उम्मेदवारी सभापतिको उम्मेदवार को र कतिजना हुन्छन् भन्नेसँग जोडिएको छ ।

सिटौला अझै ‘रिजर्भ’मा

१३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका कृष्णप्रसाद सिटौला अहिलेसम्म ‘रिजर्भ’मा बसे पनि उनीनिकट नेताहरू सिटौलाले देउवा र पौडेल खेमामा आफ्नो स्थान खोजिरहेको बताउँछन् ।

सिटौला चुनावी मैदानमा जान्छन् कि कुनै टीमसँग पावर सेरिङमा व्यवस्थापन गर्छन्, यकिन छैन ।  तर उनीनिकट नेता गगन थापा र प्रदीप पौडेल भने रामचन्द्र पौडेल पक्षबाट पदाधिकारीमा लड्ने मुडमा देखिन्छन् । उनीहरु रामचन्द्र पक्षको आन्तरिक छलफलमा पनि नियमितजसो सहभागी हुँदै आएको पाइन्छ ।

सहमहामन्त्रीमा दर्जनाैँको दाबी

नेपाली काँग्रेसको विधानले ८ जना सहमहामन्त्रीको प्रबन्ध गरेको छ । एकजना खस आर्य, महिला, दलित, मुस्लिम, आदिवासी जनजाति, मधेसी, थारु र पिछडिएको क्षेत्रबाट गरी ८ जना सहमहामन्त्री चुनिन्छन् ।    

खस आर्यतर्फको सहमहामन्त्री : खस आर्यतर्फको सहमहामन्त्रीमा देउवा समूहबाट वीरबहादुर बलायर, मोहन बस्नेत, सुरेन्द्र पाण्डे र गोविन्द भट्टराई लगायतको दाबी छ । त्यस्तै तरुण दलका पूर्वअध्यक्ष उदय शमशेर राणा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र पूर्वसांसद रामहरि खतिवडाले पनि देउवा समूहबाट खस आर्य तर्फको सहमहामन्त्रीमा दाबी गरेका छन् ।

त्यसैगरी रामचन्द्र पौडेल पक्षबाट खस आर्य सहमहामन्त्रीमा ठूलो संख्यामा दाबी देखिन्छ । महामन्त्रीबाट पछि फर्किनुपर्ने अवस्थामा धेरैको नजर सहमहामन्त्रीमै देखिन्छ । अधिकांशले सह–महामन्त्रीको बार्गेनिङका लागि पनि महामन्त्रीमा दाबी गरेका छन् ।

दलित सहमहामन्त्री : देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार सहमहामन्त्रीका दाबेदार हुन् । यसमध्ये पनि मानबहादुर र मीनबहादुरबीच तीव्र होडबाजी छ । मानबहादुर पुराना नेता हुन् भने मीनबहादुर देउवा टिमका जुझारु युवा नेतामा पर्छन् ।

रामचन्द्र पौडेल समूहबाट दलित कोटाको सहमहामन्त्रीमा केन्द्रीय सदस्य जीवन परियार, निवर्तमान सांसद प्रकाश स्नेही, राष्ट्रियसभाका पूर्वसांसद विजुल विश्वकर्मा दाबेदार देखिएका छन् । कास्की निवासी परियार दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । बझाङका स्नेही र दाङका विश्वकर्मालाई केन्द्रीय समिति प्रवेशको अवसर जुरेको छैन । उनी दलित आयोगका पूर्वअध्यक्ष हुन् ।

मुस्लिम सहमहामन्त्री : मुस्लिम कोटाको सहमहामन्त्रीमा देउवा समूहबाट केन्द्रीय सदस्यहरु फर्मूल्लाह मन्सुर र अत्तहर कमाल मुसलमानबीच हानथाप छ ।

१४ औँ महाधिवेशनबाट देउवा टीममा आएका बाराका मन्सुर मुस्लिममा बलियो पकड भएका नेता हुन् । यस्तै कपिलवस्तुका मुसलमान पनि पार्टीभित्र राम्रै जनमत भएका नेता मानिन्छन् ।

पौडेल पक्षबाट भने मुस्लिम कोटाबाट सहमहामन्त्रीको दाबेदार मैदानमा उत्रिसकेको अवस्था छैन । पौडेल पक्षबाट मुस्लिम कोटाको सहमहामन्त्रीमा बलियो उम्मेदवारका रूपमा हेरिएका अफ्ताव आलम जेलमा छन् । अरु दाबेदार निस्किएका छैनन् ।

महिला सहमहामन्त्री : देउवा समूहबाट चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतलगायतको नाम सहमहामन्त्रीका रूपमा चर्चामा छ ।

त्यस्तै पौडेल समूहबाट कमला पन्त, रत्न शेरचन, सरिता प्रसाईं  र किरण यादवलाई महिला सहमहामन्त्रीको दाबेदारका रूपमा हेरिएको छ ।

जनजाति सहमहामन्त्री : आदिवासी जनजातिको कोटाबाट हुने सहमहान्त्री पदमा देउवा समूहबाट भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामा प्रमुख दाबेदार हुन् ।

पौडेल समूहबाट सहमहामन्त्रीका रूपमा हेरिएका कल्याण गुरुङले सभापति र धनराज गुरुङले महामन्त्रीमा दाबी गरेको अवस्था छ । यस्तै तरुण दलका पूर्वअध्यक्षद्वय महादेव गुरुङ र विनोद कायस्थको नाम पनि सहमहामन्त्रीका रूपमा चर्चामा आए पनि उनीहरुको दाबी प्रष्टरुपमा आइसकेको छैन ।

मधेसी सहमहामन्त्री : देउवा समूहबाट महेन्द्र यादव, महेश चौरसिया, जंगीलाल राय र रामसरोज यादवलाई मधेसी कोटाबाट सहमहामन्त्रीको सम्भावित दाबेदारका रूपमा हेरिएको छ । यीमध्ये महेन्द्र र महेश प्रबल दाबेदार हुन् ।

पौडेल समूहबाट केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव, अमरेश सिंहका साथै पूर्वकेन्द्रीय सदस्यद्वय रामचन्द्र तिवारी र रामकुमार चौधरी मधेसी कोटाबाट सहमहामन्त्रीका दाबेदार हुन् ।

थारु सहमहामन्त्री : देउवा समूहबाट रामजनम चौधरी र योगेन्द्र चौधरीको नाम थारु कोटाको सहमहामन्त्रीका रूपमा चर्चामा छ ।

पौडेल पक्षले कृष्णप्रसाद सिटौलासँग नजिक मानिने उमाकान्त चौधरीलाई सहमहामन्त्रीमा ल्याउने सम्भावना छ । उमाकान्त देउवासँग पनि निकट भएकाले उनको विकल्पमा जाँदा महासमिति सदस्यबाटै उम्मेदवार बनाउनेपर्ने देखिन्छ । त्यो अवस्थामा कैलालीका पूर्वसभासद बुद्धिसागर चौधरी पनि पर्न सक्ने सम्भावना देखिन्छ ।

पिछडिएको क्षेत्रको सहमहामन्त्री : पिछडिएको क्षेत्रबाट चुनिने एकजना सहमहामन्त्रीका लागि देउवा समूहबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही र पूर्वसांसद राजीवविक्रम शाहीको दाबी छ । हुम्लाका जीवन र जाजरकोटका राजीवमध्येबाट एक जना देउवा पक्षबाट सहमहामन्त्रीको उम्मेदवार हुने पक्का रहेको नेताहरू बताउँछन् ।

रामचन्द्र पौडेल समूहबाट पिछिडिएको क्षेत्रको सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे, अछामका रामबहादुर बिष्ट र कालिकोटका भुपेन्द्रजंग शाहीलाई दाबेदारका रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप