बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेतादेखि न्यायालयसम्म ओलीको हमला

माधव प्रचण्डको पुच्छर, काँग्रेसले प्रचण्डपथ नै अँगाल्यो
सोमबार, १४ असार २०७८, १७ : ००
सोमबार, १४ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले  विपक्षी राजनीतिक दलका शीर्ष नेता मात्रै होइन  सर्वोच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तिखो शब्द बाण प्रहार गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएका हुन् ।

डेढ घण्टा सम्बोधन गरेका ओलीले अधिकांश समय काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेताहरूको आलोचनामै खर्चिए ।

सम्बोधनका क्रममा ओली सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यशैली र राजनीतिक व्यवहारमाथि प्रहार गर्न पुगे । उनले नेता नेपाललाई प्रचण्डको पुच्छर, लाज सरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भनेर टिप्पणी गरे ।

जननेता मदन भण्डारीलाई साक्षी राखेर ओलीले आफूबाहेक अरू सबै नेता, संवैधानिक निकाय र बुद्धिजीवी कोही पनि ठिक बाटोमा नहिँडेको टिप्पणी गर्न भ्याए । उनले आफू बाहेक अरू सबै राजनीतिक दल र तिनका नेताहरू झुट र बेइमानीको राजनीतिबाहेक केही नगरेको दाबी गरे । प्रधानमन्त्री ओलीले कसलाई के भने ? ओलीको भनाइका मुख्य अंश जस्ताको त्यस्तै :

१.माधवकुमार नेपाल

–मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् ।

–मलाई बहुला कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?

–यिनी एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् ।

–जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ । काँग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ ।

–माधव नेपाल भन्ने एकजना काँग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबै जसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ ।

–आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिस्ट आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने । यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।

–बेसरमको पनि हद हुन्छ नि !

२.पुष्पकमल दाहाल ‘प्रचण्ड’

– प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार .. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रङ्ग एकएक छिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रङ्ग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रङ्ग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रङ्ग फेर्छ त ।

–कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ कहिले –यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्देनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ ।

–कथाको पात्रजस्तो “निलवर्ण संघार” ।

– अहिले प्रचण्डपथको सुप्रिमकोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् पो काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।

–त्यस्ता मान्छेलाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीहरू प्रचण्ड पथमा हिँड्नु अचम्म लाग्छ ।

३. शेरबहादुर देउवा

– नेपाली काँग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैँ हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।

– शेरबहादुरजीको प्रधानमन्त्री फेरि हुने उत्कट इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनुभयो । जनतामाथिको भरोसा छोड्दिनुभयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो ।

–तर, पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुनुपर्‍यो । जनतामा गएको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट ।

–जनतामा जाने कुरालाई उहाँले कू भन्नुभयो । जनतामा जाने प्रस्ताव कू हो भने १७ सालको चाहिँ के थियो, लोकतान्त्रिक अभ्यास थियो ? नेपाली कांग्रेसले कू भनेको बिर्सिसकेछ । म शेरबहादुर देउवाजीलाई सोध्न चाहान्छु–माघ १९ चाहिँ के थियो ?

–एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिँ के थियो ? कू थियो कि थिएन ? त्यतिबेर त कू भन्ने शव्द उहाँको मुखबाट आउने हिम्मत भएन त ?’

–अहिले जनताको बीचमा जाने संवैधानिक कुरा गर्दा चाहिँ कू भनेको छ, प्रतिगमन भनेको छ । प्रचण्डको भाषासमेत सापटी लिएर, सापटीमात्र होइन त्यो त उहाँले आफ्नै बनाइसक्नुभयो । दया लाग्छ । एउटा लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको एउटा पार्टी यस ढंगले प्रचण्डपन्थी देखेर अचम्म लाग्छ ।

४. राष्ट्रिय जनमोर्चा

–अहिले हामीले हेर्‍यो भने राष्ट्रिय जनमोर्चाको एकजना प्रतिनिधि छ । त्यो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ ? उहाँहरुको राजनीति त्यति हो । हामीसँग हुँदा पनि त्यति हो, अहिले पनि त्यति हो ।

–त्यसका लागि उहाँहरु कहाँ पुग्नुभयो भन्दाखेरि, यताबाट हुँदैन भने काँग्रेसलाई समर्थन गरेर काँग्रेसको नेतृत्वमा सरकार बनार भएपनि मन्त्री हुने ।

–उहाँहरुको राजनीति कहाँ पुग्यो भन्दा विचारको राजनीति रहेन । वर्गीयताको प्रश्न रहेन ।

५. न्यायाधीश र अदालत

–आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन ।

–यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्धान अभिवक्ता ज्यूहरु तपाईंहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमुर्तिहरुले सुझाव पनि राख्न सक्नुहुँदैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप