शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तपार्इंले छुटाउनुभयो कि, मंगलबारका मुख्य १० समाचार

मङ्गलबार, ०२ असोज २०७५, ०७ : ००
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं । आज मंगलबार । रातोपाटीबाट दुई सयको हाराहारीमा समाचार प्रकाशित भए । 

पद खोसिएपछि राप्रपामा फेरि विवाद, पूरक बजेटमा अर्थमन्त्रीको  ‘पूरक जवाफ’, अब यस्तो हुनेछ जनकपुरको जानकी मन्दिर जस्ता समाचार चर्चामा रहे । 

रातोपाटी डटकममा प्रकाशित भएका समाचारहरु पाठकहरुले धेरै रुचाए । त्यसमध्ये मुख्य बनेका १० समाचार यहाँ प्रस्तुत गरिएको छ ।

रातोपाटीका पाठकहरुले पढ्न छुटाउनुभयो कि भनेर यहाँ समाचार राखिएको छ । तीमध्ये प्रमुख समाचारको लिंक यसरी प्रस्तुत गरिएको छ । 

अब यस्तो हुनेछ जनकपुरको जानकी मन्दिर (डिजाइनसहित)

काठमाडौं–विश्व सम्पदा सूचीमा सूचिकृत हुने प्रतिक्षामा रहेको जनकपुरको जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको छ ।

हिन्दूहरुको आस्थाको केन्द्र रहेको सो मन्दीरलाई मन्दिरलाई थप आकर्षक बनाउन प्रदेश सरकार अग्रसर भएको हो । प्रदेश सरकारले अगाडि बढाएको ‘मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत’ जानकी मन्दिर सौन्दर्यीकरणको योजना अघि सारिएको मुख्यमन्त्री लालबाबु राउतका प्रेस सहयोगी आतिश मिश्राले जानकारी दिए ।

प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरस्थित जानकी मन्दिरमा विश्वभरीकै हिन्दुहरुलाई कम्तीमा एकपटक आउनै पर्ने वातावरण बनाउने घोषणा गरेका मुख्यमन्त्री राउतले पहिलो चरणमा जानकी मन्दिरको प्राङ्गण लगायतको क्षेत्रलाई थप सौन्दर्यीकरण गर्ने योजना अघि सारेका छन् । 

पद खोसिएपछि राप्रपामा फेरि विवाद, असन्तुष्ट समूहद्वारा बैठक वहिस्कार

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाभित्रकाे असन्तुष्टि फेरि सतहमा आएको छ ।  व्यक्तिगत टकरावले एकपछि अर्को गर्दै क्षति व्यहोर्दैै आएको राप्रपाभित्र पछिल्लो पटक गरिएको पदाधिकारी विघटनले विवाद निम्तिएको हो । 

राप्रपाको गत भदौ ४ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष कमल थापाले आफूबाहेक सबै पदाधिकारीलाई पदमुक्त गराएसँगै असन्तुष्टि चुलिएको नेताहरु बताउँछन् । 

भदौ ४ को बैठकले पार्टीको नयाँ विधान लागू गरेको जनाउ दिँदै सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरेको थियो ।  भदौ ४ मा पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘राप्रपाको संशोधित विधानको भावनाअनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त’ गरिएको उल्लेख छ । 

पूरक बजेटमा अर्थमन्त्रीको  ‘पूरक जवाफ’

काठमाडौं–नेकपा नेतृत्वको सरकारले बजेटमा छुटेका विषयलाई समेट्ने गरी पूरक बजेट ल्याउने विषयले पछिल्लो समय निकै चर्चा पाएको छ । नेकपाकै अध्यक्ष प्रचण्डले बृद्धभत्ताको विषय पूरक बजेट ल्याएर भएपनि  सम्बोधन गर्नुपर्ने विभिन्न फोरमहरु मार्फत भनेपछि यो विषयले चर्चा पाएको हो । 

तर, अर्थमन्त्री  डा. युवराज खतिवडा पूरक बजेटका विषयमा सरकारभित्र कुनै पनि छलफल नभएको बताउँछन् । 

अर्थसचिव राजन खनालले पूरक बजेटका बारेमा संविधानले नै स्पष्ट व्यवस्था गरेकाले आपूmले यस विषयमा धेरै बोलिरहनु नपर्ने बताउँदा अर्थमन्त्रीले भने ‘पूरक बजेटमा मेरो पूरक उत्तर’ भन्दै सरकारभित्र यसबारे कुनैपनि छलफल नभएको उल्लेख गरे ।

'जब राजनीति घुस्छ, आपराधिक समस्या जटिल बन्छ'

परिवारमा उसले ठीक तरिकाको शिक्षा पाएको छ, नैतिक शिक्षा पाएको छ, घरमा धार्मिक वातावरण पनि छ भने परिवारले उसलाई राम्रो बाटोमा लैजानलाई सहयोग पु¥याएको हुन्छ । 

बालबालिकाले धेरै कुरा परिवारबाट सिक्छन् । त्यसको अतिरिक्त स्कुल, छिमेकीबाट सिकिरहेका हुन्छन् । त्यसपछि आउँछ सामाजिक भूमिकाको कुरा । सामाजिक भूमिका कस्तो छ त्यो पनि महत्वपूर्ण हुन्छ । सामजिक भूमिका भन्नाले बाह्य जगत हो । 

सञ्चारका साधनको विकासका आधारमा मिडियाको पनि विकास भएको छ । त्यसबाट प्राप्त भएका सामग्रीले पनि उसको मनोविज्ञानलाई असर गर्छ । ती सामग्री उसको अध्ययनको रुचिको विषय बन्नेछ ।

त्यसबाहेक अर्को पनि तत्व छ । त्यो भनेको राजनीतिक क्रियाकलाप र वातावरण हो । राजनीतिमा अपराध घुसेको छ भने अथवा अपराधमा राजनीति घुसेको छ भने पनि आपराधिक समस्या जटिल बनेर जान्छ । 
किनभने उसले म पक्राउ भइहालेँ भने पनि मलाई राजनीतिक वृत्तबाट संरक्षण हुन्छ भन्ने के सोच्छ । त्यो स्थितिमा पनि ऊ कानुन मान्न तयार हुँदैन र अपराध बढ्ने गर्छ । 

व्यापारमा युद्ध चर्केमा अमेरिकालाई थला पार्न सक्ने चीनका यी चार हतियार

बीबीसी । अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । हालसम्म यो युद्ध दुई देशले एकअर्को देशबाट आउने सामाग्रीहरुमा भंसार बढाउनेमा सीमित रहेको छ । 

संसारका दुई ठूला आर्थिक शक्तिहरु अमेरिका र चीन एक अर्कोको उत्पादनमा कर बढाइरहेका छन् । अहिले दुबै पक्ष कुनै संयम अपनाउने पक्षमा छैनन् । 

फेरि यो परिघटना अमेरिका उत्तर कोरियासँग परमाणु मामलामा संवाद गरिरहेको बेला शुरु भएको छ । यस्तो समयमा अमेरिकाले उत्तर कोरियाको प्रमुख सहयोगी चीनमाथि ठूलो स्तरमा भंसार कर बढाएको छ । 

अहिले यो कार्य एक तर्फि छैन । यसमा अहिलैनै कसैको पल्ला भारी देखिदैन र दबवै पक्ष झुक्न तयार पनि देखिदैन । तर चीनसँग यस्ता केही आर्थिक हतियार छन् जसले अमेरिकाको आर्थिक व्यवस्थालाई चोट पु¥याउन सक्छ । 

‘अस्तव्यस्त’ छाडेर शीर्ष नेता विदेश शयरमा व्यस्त !

काठमाडौँ । इतिहासकै शक्तिशाली भनिएको केपी ओली नेतृत्वको सरकार गठन भएको ६ महिना मात्रै भएको छ । यो अवधिमा जनसरोकार र जनचासोलाई सम्बोधन गर्नुपर्ने विषयहरु ज्युँका त्युँ छन् । तर, यहिवेला सत्तापक्षदेखि प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरु विदेश भ्रमण गर्न व्यस्त छन् । 

एकपछि अर्को गर्दै नेताहरुको विदेश भ्रमण मोहले नेपालको आन्तरिक व्यवस्थापन भने छायाँमा परेको छ । सत्तारुढ पार्टीको एकता प्रकृया, प्रमुख प्रतिपक्षसँगको सम्वाद र सहकार्य तथा समाजमा भएका हत्या हिंसाजस्ता विषयमा न्युनिकरण एवम् विकास निर्माणलाई तीव्रता दिनुपर्ने बेलामा नेताहरु भने विदेश शयरमा रमाउन थालेपछि उनीहरुले आन्तरिक व्यवस्थापनप्रति वेवास्ता गरेको हो कि भन्ने सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।

विदेश भ्रमणको यो लर्कोमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुबीच प्रतिस्पर्धा नै चलेजस्तो देखिन्छ । प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष तथा केपी ओली यहि असोज ६ गते अमेरिका भ्रमणमा जाँदैछन् । 

प्रदेश नं. ५ बुटवलमा रातोपाटीको प्रदेश कार्यालय शुरु

बुटवल । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा स्थापना गरिएको छ । प्रदेश नम्बर  ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार बिहान उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले राजनैतिक रुपमा परिवर्तन जति सजिलो हुन्छ, सामााजिक परिवर्तन त्यति सजिलो नभएको बताए । ‘संघीयता कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको छैन,’ उनले भने ।

मुख्यमन्त्री पोख्रेलले कामका आधारमा आलोचना नभएको पनि गुनासो गरे । ‘संघीयता महंगो भयो भन्ने आरोप पनि आएको छ,’ उनले भने, ‘अढाई सय वर्षसम्मको इतिहासले किन समृद्धि  आएन खोज्न सकेनौँ । तर, छ  महिनामै संघीयताप्रति नकारात्मक टिप्पणी आयो । अहिले संघीयताको सफलता र असफलता भनेर मूल्याकंन गर्ने समय भइसकेको छैन ।’

कृषिमन्त्री चक्रपाणी खनाल भन्छन–‘नेपालको जमिन अब राष्ट्रियकरण गर्न सम्भव छैन’

काठमाडौं– कृषिमन्त्री चक्रपाणी खनालले नेपालको भूमि अब राष्ट्रियकरण गर्न सम्भव नभएको बताएका छन् । नेपालमा कृषि उत्पादन बढ्न नसक्नुमा जमिनको अवस्था वाधक रहेको बताउँदै उनले त्यसलाई सुधार गर्न कठिन रहेको उल्लेख गरे ।

मंगलबार काठमाडौंमा कञ्जुमर आई नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले जमिनमा भएको खण्डिकरण कृषि उत्पादनको बाधक रहेको बताएका हुन् । धेरै देशमा जमिन सरकारको रहने भन्दै मन्त्री खनालले व्यक्तिले उपभोग गरेको जमिन सरकारले नियन्त्रणमा लिएर त्यसको व्यवस्थापन गर्न पनि कठिन उल्लेख गरे । 

मन्त्री खनालले खेतीयोग्य जमिन र शहर आसपासका जमिन घडेरीका लागि टुक्र्याइएको र यूवा जनशक्ति बैदेशिक रोजगारीका लागि जाँदा खेत बाँझो रहँदा कृषि उत्पादन घटेको दावी गरे । मन्त्री खनाललले भने– ‘श्रम गर्न सक्ने १८ देखि ४० बर्ष उमेर समूहका यूवा बाहिरिएका छन्, कृषिप्रति मानिसहरुको चासो हराएको छ । हिँउद बर्खा जोतिनुपर्ने अवस्था छ, जसले कृषितिर मन लगायो त्यो गयो भनेर बुझ्नुपर्ने अवस्था छ ।’

स्वयम्भुमा कारभित्र मृत भेटिएका श्यामले ‘शेयर कारोबार’ डुबेपछि आत्महत्या गरेको प्रहरीको आशंका

काठमाडौँ । राजधानीको स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको कारभित्र मृत फेला परेका ‘शेयर कारोबारी’ श्याम कुमार श्रेष्ठको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

भदौ २१ गते स्वयम्भु हाइट स्थित पार्किङ गरिराखेको बा. ७ च ७०२१ नम्बरको आफ्नै स्विफ्ट कारभित्र पछाडिको सिटमा घोप्टो परेको अवस्थामा श्यामको शव फेला परेको थियो ।

नेपाली शेयर बजारका उम्दा कारोबारी  श्यामले शेयर बजार ओराले लागेपछि अत्महत्या गरेको आशंका गरिएको छ । मकवानपुरको मार्खु–७ स्थायी घर भई काठमाडौँको नैकाप बस्दै आएका २६ वर्षीय श्यामले

शेयर ठूलो रकम लगानी गरेर लाखौँ आम्दानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, पछिल्लो समय शेयर बजार ओरालो लागेपछि उनमा वितृष्णा छाएको बताइएको छ ।

सेयर बजारमा सामान्य बृद्धि, कारोबारमा छैन उत्साह

काठमाडौं– मंगलबार सेयर बजारमा सामान्य बृद्धि देखिएको छ । २.४१ अंकले बढेको बजारमा १२५८.८१  अंकमा अडिएको छ । 

तर कारोबार रकम भने हिजोको भन्दा कम छ । यस दिन ४५ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिले दिन ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  बैंकिङ समुह २.१३ अंकले घटेको छ भने होटल समुह २५.९३ अंकले घटेको छ । फाइनान्स समुह १.८५ अंकले घटेको छ । 

विकास बैंक, जलविद्युत, फाइनान्स, नीर्जिवन बिमा कम्पनी, उत्पादन तथा प्रशोधन,  माइक्रोफाइनान्स, जीवन बिमा कम्पनी  र अन्य समुहमा बढोत्तरी छ । 

सबैभन्दा बढी निर्जिवन बिमा समुह ७३.९५ अंकले बढेको छ । आज नेको इन्सुरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यसको  ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनएमबी बैंकको  २ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप