आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘अस्तव्यस्त’ छाडेर शीर्ष नेता विदेश शयरमा व्यस्त !

मङ्गलबार, ०२ असोज २०७५, १५ : ४४
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँ । इतिहासकै शक्तिशाली भनिएको केपी ओली नेतृत्वको सरकार गठन भएको ६ महिना मात्रै भएको छ । यो अवधिमा जनसरोकार र जनचासोलाई सम्बोधन गर्नुपर्ने विषयहरु ज्युँका त्युँ छन् । तर, यहिवेला सत्तापक्षदेखि प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरु विदेश भ्रमण गर्न व्यस्त छन् । 

एकपछि अर्को गर्दै नेताहरुको विदेश भ्रमण मोहले नेपालको आन्तरिक व्यवस्थापन भने छायाँमा परेको छ । सत्तारुढ पार्टीको एकता प्रकृया, प्रमुख प्रतिपक्षसँगको सम्वाद र सहकार्य तथा समाजमा भएका हत्या हिंसाजस्ता विषयमा न्युनिकरण एवम् विकास निर्माणलाई तीव्रता दिनुपर्ने बेलामा नेताहरु भने विदेश शयरमा रमाउन थालेपछि उनीहरुले आन्तरिक व्यवस्थापनप्रति वेवास्ता गरेको हो कि भन्ने सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।

विदेश भ्रमणको यो लर्कोमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुबीच प्रतिस्पर्धा नै चलेजस्तो देखिन्छ । 

प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष तथा केपी ओली यहि असोज ६ गते अमेरिका भ्रमणमा जाँदैछन् । 

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली उच्चस्तरीय टोलीसहित त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने तयारीमा छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔँ : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक मंगलबारबाट न्यूयोर्कमा शुरु हुँदैछ । महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उता, नेकपाकै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चार दिने विदेश भ्रमणका क्रममा हाल उत्तरी छिमेकी देश चीनमा छन् । चिनियाँ कम्युनिष्ट पार्टीको बिशेष निमन्त्रणामा प्रचण्ड शनिबार दिउँसो चीनतर्फ गएका हुन् ।

चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तारका लागि चीन जान लागेको जानकारी गराएका थिए । अघिल्लो सातामात्र भारत भ्रमण गरेका प्रचण्डको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग भेट गरेका थिए । प्रचण्डभन्दा २ दिन अघिमात्रै सोही पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणम गएका छन् । 

सत्तारुढ दलका नेता मात्रै होइन, प्रमुख प्रतिपक्ष दलका नेता पनि विदेश शयरमा मस्त छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हाल दुई साता लामो युरोप भ्रमणमा छन् । 

उनी भदौ २९ गते दुई साताका लागि युरोप प्रस्थान गरेका हुन् । 

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी युरोप भ्रमणमा गएको काँग्रेसले जनाएको छ । 

नेता पौडेल युरोपमा रँहदा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी भइरहेका छन् । पौडेल यही असोज १० गते मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

संयोग नै मान्नुपर्छ यहिबेला नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि अमेरिका भ्रमणमा छन् । उनी झण्डै एक महिना अमेरिका बस्ने गरी धर्मपत्नी हिसिला यमीसहित गत भदौ २६ गते प्राज्ञिक भ्रमणका लागि भन्दै संयुक्त राज्य अमेरिका प्रस्थान गरेका हुन् । 

भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने उनका सहयोगीहरुले बताएका छन् ।

यता, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पनि भोलिबाट चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीन जान लागेका हुन् । उपराष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हो । यसअघि पहिलो पटक उपराष्ट्रपति हुँदा पनि उनले एक पटक चीन भ्रमण गरेका थिए । उपराष्ट्रपतिमा दोस्रो पटक चयन भएपछि भने उनको यो नै पहिलो वैदेशिक भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागीता जजनाउने बुभmिभएको छ ।

असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्ने बुझिएको छ । त्यस्तै, उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दुमा आयोजित डिजिटल फोरमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा उनले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नुका साथै सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्ने बताइएको छ । उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत रहनेछन् । 

यसअघि नेकपाकै अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि भर्खरमात्रै अमेरिका भ्रमणबाट फर्किएका छन् ।

नेपाल इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेता नेपाल भदौ १४ गते अमेरिका गएका थिए । भदौ १५ देखि १७ गतेसम्म अमेरिकामा आयोजना भएको सम्मेलनमा भाग लिएर नेता नेपाल भदौ २० मा मात्रै नेपाल आएका हुन् । 

त्यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि हाल्रैमात्र भारत भ्रमण गरेर स्वदेश फर्किएका छन् । 

सञ्चार तथा सूूचना प्रविधिमन्त्री गोकुुल बास्कोटा ईथियोपियाको आदिस अबाबामा सम्पन्न विश्व हुुलाक संघको दोस्रो सम्मेलनमा सहभागी भई भदौ २३ गते मात्रै स्वदेश फर्किएका छन् । 

मन्त्री बास्कोटा भदौ १८ देखि भदौ २२ सम्म भएको विश्व हुुलाक संघको दोस्रो सम्मेलनमा सहभागि हुन त्यसतर्फ गएका थिए । 

मुख्यमन्त्री पनि लाइनमा 
शीर्ष नेता मात्रै होइन, प्रदेशका मुख्यमन्त्रीको पनि विदेश शयरमा जाने भएका छन् । गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाँदैछन् । गुरुङ सेप्टेम्बर २५ देखि अक्टोबर १ सम्म चीनको हैनान प्रान्तको भ्रमण गर्दैछन् भने अर्का मुख्यमन्त्री शाहीले सेप्टेम्बर २४ देखि ३० सम्म चीनको सिचुआन प्रान्तको भ्रमण गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप