शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषिमन्त्री चक्रपाणी खनाल भन्छन–‘जमिनमा भएको खण्डिकरण कृषि उत्पादनको बाधक’

मङ्गलबार, ०२ असोज २०७५, १७ : ५२
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं– कृषिमन्त्री चक्रपाणी खनालले नेपालको भूमि अब राष्ट्रियकरण गर्न सम्भव नभएको बताएका छन् । नेपालमा कृषि उत्पादन बढ्न नसक्नुमा जमिनको अवस्था वाधक रहेको बताउँदै उनले त्यसलाई सुधार गर्न कठिन रहेको उल्लेख गरे ।

मंगलबार काठमाडौंमा कञ्जुमर आई नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले जमिनमा भएको खण्डिकरण कृषि उत्पादनको बाधक रहेको बताएका हुन् । धेरै देशमा जमिन सरकारको रहने भन्दै मन्त्री खनालले व्यक्तिले उपभोग गरेको जमिन सरकारले नियन्त्रणमा लिएर त्यसको व्यवस्थापन गर्न पनि कठिन उल्लेख गरे । 

मन्त्री खनालले खेतीयोग्य जमिन र शहर आसपासका जमिन घडेरीका लागि टुक्र्याइएको र यूवा जनशक्ति बैदेशिक रोजगारीका लागि जाँदा खेत बाँझो रहँदा कृषि उत्पादन घटेको दावी गरे । मन्त्री खनाललले भने– ‘श्रम गर्न सक्ने १८ देखि ४० बर्ष उमेर समूहका यूवा बाहिरिएका छन्, कृषिप्रति मानिसहरुको चासो हराएको छ । हिँउद बर्खा जोतिनुपर्ने अवस्था छ, जसले कृषितिर मन लगायो त्यो गयो भनेर बुझ्नुपर्ने अवस्था छ ।’

उनले भारतबाट आएको बन्दागोभी किन्न लाइन बस्नुपर्ने अवस्था आएको भन्दै जमिनमा भएको खण्डिकरणका कारण कृषि उत्पादन बढ्न नसकेको बताए । कृषि मन्त्रालयमा भूमिसुधार मन्त्रालय पनि जोडिएको बेला आफूले ४ महिना भूमि व्यवस्थापनको लागि पहल गरेको बताउँदै नेपालको कृषिको समस्या जमिनसँग जोडिएको बताएका छन् । 

साना टुक्रे खेतीप्रणाली हुँदा त्यहाँ अत्याधुनिक कृषि औजार प्रयोगमा समस्या रहेको समेत उनले औंल्याए । आधुनिक र व्यवस्थित ढंगले खेती गर्न जमिनको चक्लाबन्दी गर्न पनि कठिन रहेकाले अब सहकारी प्रणालीमार्फत खेती गरी उत्पादन बढाउनुपर्ने उनले बताए । 

मन्त्री खनालले बेमौसमी तरकारी खेतीमा अत्यधिक बिषाधि प्रयोग हुने गरेको बताउँदै त्यसलाई नियन्त्रण गरेर जानुपर्ने बताए । उनले नेपालमा उपभोक्ताका लागि ऐन कानुन भएपनि प्रभावकारी कार्यान्वयन भएर जान नसकेको उल्लेख गर्दै सबैभन्दा बढी काठमाडौं बाहिरबाट र भारतबाट आउने कृषि उपजमा बिषाधियुक्त हुने उल्लेख गरे । 

उनले बाहिरबाट आउने तरकारी तथा माछामा बिषाधि हुने भन्दै त्यसमा सजग रहनुपर्ने उल्लेख गरे । उनले दुधमा आफूले पूर्णरुपमा नियन्त्रण गरेको बताउँदै त्यसमा कुनै सम्झौता नगर्ने बताए ।

उनले भने– ‘३ महिनादेखि दुधमा कुनै मिसावट भएको छैन । अब दुधमा मिसावट भएमा कुनै सम्झौता हुँदैन भनेपछि दुध सुधारिएर आएको छ, बाहिरबाट आउने दुधका उत्पादनहरु रोकिदिएको छु । व्यापार व्यवसाय चौपट भयो भन्दै मन्त्रालयमा धाउनेहरु पनि छन् । एक बर्षलाई पाउडर दुध स्टक गरेर राख्ने, गुणस्तरहिन दुध बेच्नेको व्यापार चौपट भएर केही हुँदैन ।’

कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले औद्योगिक ढंगले कृषिलाई अघि बढाउने हो भने वातावरण र मानव स्वास्थ्यलाई अनुकूल हुने गरी विषाधि प्रयोग गर्नुपर्ने बताए ।

नेपालको तरकारीमा विषाधि छ र जमिन रासायनिक मलले बिग्रियो भन्ने भनाई सत्य नरहेको भन्दै उनले नेपालीले पर्याप्त मात्रामा रासायनिक मल प्रयोग गर्न नपाएको उल्लेख गरे ।

धादिङ, काभ्रे, चितवन, सर्लाही बाहेका ठाँउमा तरकारीमा बिषाधि हाल्ने चलन नरहेको भन्दै नेपालको ९० प्रतिशत भू–भागको तरकारी आर्गानिक हुने उनले बताए । ५ दर्जन जिल्लामा बिषाधी नपुगेको तर्क गर्दै विषाधी प्रयोग गर्ने जिल्लामा यसको नियन्त्रण गर्न कठिन नरहेको बताए । 

कार्यक्रममा कञ्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालले संविधानको धारा ४४ ले उपभोक्ताको मौलिक अधिकार दिएको, उपभोक्ता अधिकार ऐनले ८ वटा अधिकार दिएपनि उपभोक्ताले आफ्नो अधिकार प्रयोग नसकेको बताइन् ।

अध्यक्ष खनालले कञ्जुमर आईले उपभोक्ताको अधिकार प्राप्तिका लागि नीति निर्माणमा सहयोग गर्नुका साथै विभिन्न सरकारी निकायसँग मिलेर संयुक्त रुपमा बजार अनुगमन गरी उपभोक्ताको हितमा काम गर्दै आइरहेको बताइन् ।

उनले कृषिप्रधान देशमा कृषि उपजमा उपभोक्ताले समस्या खेपिरहनुपरेको भन्दै सरकारी निकायलाई झक्झकाइरहेको उल्लेख गरिन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप