शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी र राजपा बीचको एकीकरणः छेपारोको कथा

मङ्गलबार, २१ साउन २०७६, १५ : ३८
मङ्गलबार, २१ साउन २०७६

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच हुने भनिएको एकीकरण दिनदिनै अन्योलमा पर्दै गइरहेको छ ।

साउन १४ गते बसेको राजपा नेपालको सचिवालय बैठकले समाजवादी पार्टी एकीकरणका लागि गम्भीर नरहेको निष्कर्ष निकालेपछि यो अन्योलता थप बढेको हो ।

यसअघि, राजपा नेपालको तर्फबाट बनेको वार्ता समितिको संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफलमा थिए । छलफलका बारेमा   प्रश्न गर्दा ‘वार्ता सकारात्मक रुपमा अगाडि बढी रहेको’ दावी गरिएको थियो ।

तर, राजपा नेपालको बैठकले ती सबै ‘हल्ला’ मात्र रहेको कुरा पुष्टि भएको छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले भने, ‘हाम्रो पार्टीबाट राजेन्द्र महतोजीले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिरहनु भएको थियो । सो वार्ताको बारेमा विभिन्न समाचारहरु आइरहेका थिए । वार्तामा के प्रगति भइरहेको छ भनेर हामीले अध्यक्षमण्डलको बैठकमा वार्ता समितिका संयाजक राजेन्द्र महतोजीसँग सोधेका थियौँ । त्यसको जवाफमा उहाँले छलफल भइरहेको छ तर प्रगति केही भएको छैन भन्नुभयो । यसबाट पुष्टि हुन्छ कि मिडियामा आएका कुराहरु सबै सुनियोजित थियो ।’

अध्यक्षमण्डलका सदस्यसमेत रहेका वार्ता समितिका संयोजक महतोसँग कुरा बुझ्दा राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरणमा एक प्रतिशत पनि प्रगति नभएको झाको दाबीको रहेको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले पनि पार्टीको महाधिवेशनपछि एकीकरण हुने धारणा सार्वजनिक गरेपछि दुई दलबीच भइरहेको एकीकरणको चर्चा पनि सेलाएको छ ।

यता, समाजवादी पार्टीका सह–महासचिव प्रकाश अधिकारी राजपा नेपालले महाधिवेशनपछि एकीकरण गर्ने भनेर उठाएको कुरा सकारात्मक भएको बताउँछन् ।

गत साउन ११ गते समाजवादी पाटीको बैठक बसेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहमहासचिव अधिकारीलाई गरिएको प्रश्नमा उनले एकीकरणका लागि दलहरुको बीचमा छलफल भइरहेको र महाधिवेशनपछि एकीकरण भए झनै राम्रो हुने प्रतिकृया दिएका थिए ।

तर, राजपा नेपालकै अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादव भन्छन्, ‘पहिला एकता त्यसपछि एकता महाधिवेशन हुनुपर्छ ।’ उनी भने महाधिवेशन भन्दा पहिला नै एकीकराण हुने दावी गर्छन् ।

‘एकता र महाधिवेशनको विषयमा पार्टीले पनि निर्णय गरेका कारण पहिले एकता हुन्छ त्यसपछि मात्र महाधिवेशन हुन्छ,’ उनले भने, ‘दुई दलको बीचमा सकारात्मक रुपमा कुराकानी अगाडि बढिरहेको छ । महाधिवेशनभन्दा पहिले एकता हुन्छ ।’


समाजवादी पार्टी र राजपा नेपाल एकीकरण गर्न सहमत

समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्दै, राजपासँग वार्ता पहल

यी चार कारण जसले समाजवादी पार्टी र राजपाबीच एकीकरण कठिन

अन्तिम समयमा आएर उपेन्द्र र बाबुरामले किन सम्झे राजपा नेपाललाई ?

राजपा बैठक : उपेन्द्रमाथि आशंका, बाबुरामको नयाँ शक्तिसँग एकता गर्न सकारात्मक !

राजपा र फोरमबीच एकीकरण हुन कठिन छ


शीर्ष नेताहरुको बीचमा आफै कुरा बाझिएपछि एकीकरणको प्रकृयाको अन्यौलतालाई दर्शाउँछ ।

राजपा नेपालमा छ जना अध्यक्ष रहेका छन् । उनीहरुकै बीचमा एकीकरणको बारेमा एकमत छैन । कोेही एकीकरणका लागि लागी परेका छन् भने कोही यो एकीकरण नहोस् भनेर भाँड्नका लागि दौडधुपमा छन् ।

१० वर्षदेखि यस्तै

समाजवादी पार्टी र राजपा नेपालबीच यसरी एकताको प्रयास विगत १० वर्षदेखि नै हुँदै आएको छ । तत्कालिन मधेशी जनअधिकार फोरम, राजपा नेपालमा रहेका तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच २०६६ सालदेखि नै एकीकरणका लागि कुरा चलेको थियो ।

जुनबेलादेखि यी दलहरुको बीचमा वार्ता शुरु भएको हो, त्यो बेला सबै दलहरु छुट्टा छुट्टै थिए । अहिलेको समाजवादी पार्टी मधेशी जनअधिकार फोरम नेपाल थियो । र, अहिलेको राजपा नेपाल बनाएका तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टी अलग–अलग थिए ।

उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीबीच एकीकरणका लागि वार्ता र संवाद शुरु भएको थियो । यी दुई दलको बीचमा पटक–पटक छलफल भयो । धेरै कुरा अगाडि बढिसकेको थियो । तर, त्यही बीचमा तत्कालिन तमलोपासँग पनि एकीकरण गर्ने भनेर तीनवटै दलको बीचमा वार्ता प्रारम्भ भयो ।

त्यतिबेला पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, राजनीतिक दस्तावेजमा समेत कुरा मिलिसकेको थियो । तर पार्टीको नेतृत्व कसले गर्ने विषयमा कुरा नमिल्दा एकीकरणमा पूर्ण विराम लागेको थियो ।

त्यतिबेला तत्कालिन फोरमबाट उपेन्द्र यादवले नेतृत्व गर्ने दावी गरिरहेका थिए भने उताबाट महन्थ ठाकुरलाई अध्यक्ष बनाउने दावी गरिएको थियो । महन्थ ठाकुरलाई वरिष्ठ नेता वा अभिभावक रुपमा स्वीकार गर्ने तर अध्यक्षमा स्वीकार नगर्ने उपेन्द्रको अडान थियो । त्यही भएर त्यतिबेला एकता हुन सकेन ।

त्यतिबेला तत्कालिन सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र तत्कालिन तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी एकीकरणप्रति सकारात्मक थिएनन् । कारण थियो, त्रिपाठीले राजेन्द्र महतोलाई नेता स्वीकार गर्ने पक्षमा थिएनन् भने उता लक्ष्मणलाल कर्णले पनि आफ्नो पद सुरक्षित नदेखेका कारण एकीकरण प्रति सकारात्मक थिएनन् ।

उनीहरु सकारात्मक नभएपनि नेतृत्वमा कुरा मिलेको भए त्रिपाठी र कर्णलाई साइड लगाएर पनि एकीकरण हुने अवस्था थियो । तर, नेतृत्वमा नै कुरा नमिलेको कारण एकीकरण हुन सकेन ।

अहिले पनि एकीकरणमा त्यही समस्या दोहोरिएको छ । महन्थ ठाकुरलाई एकीकृत पार्टीको नेतृत्व दिनुपर्ने राजपा नेपालको प्रस्ताव छ तर समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव त्यो प्रस्ताव मान्न तयार देखिएका छैनन् ।

त्यतिबेला तत्कालिन फोरम नेपालले मधेश केन्द्रीत दलसँग एकीकरण नगरेर एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण गर्न पुग्यो । एकीकरण पछि मधेशी जनअधिकार फोरम नेपाल संघीय समाजवादी फोरम नेपाल बन्यो । यो एकीकरण त्यतिबेला भयो जतिबेला तत्कालिन तमलोपा र सद्भावना पार्टीसँग एकीकरणको कुरा जारी नै थियो ।

संवाद र वार्ता जारी नै थियो । सँगै मिलेर दुवै दलले आन्दोलन पनि गरे । आन्दोलन सकिएसँगै २०७४ वैशाख ७ गते तमलोपा, सद्भावना, रामसपा, फोरम गणतान्त्रिक, संघीय सद्भावना, तमसपा मिलेर राजपा नेपाल बन्यो । सो एकीकरणमा ती दलका नेताहरुले उपेन्द्र यादवलाई पनि सहभागी हुन आग्रह गरेका थिए, तर उपेन्द्र यादवले आफू पछि सहभागी हुने भनेर पछि हटेका थिए ।

अहिले पनि त्यही नियति दोहोरिएको छ । राजपा नेपालसँग एकीकरणको कुरा चलिरहँदा फोरम नेपालले नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी पार्टी बनाएको छ । नयाँ शक्तिसँग एकीकरण हुने बेला फोरम नेपालले राजपा नेपाललाई बोलाएर एकीकरणमा सहभागी हुन आग्रह गरेको थियो । त्यसको जवाफमा राजपा नेपालका नेताहरुले ‘केही दिन पर्खौँ छलफल गरौँ’ भनेपछि यादवले हतार हतारमा नयाँ शक्तिसँग एकीकरण गरेका थिए ।

एकीकरण गरेको पहिलो बैठकबाट समाजवादी पार्टीले वार्ता समिति गठन गरी राजपा नेपालसँग एकीकरणका लागि वार्ता शुरु गरेको थियो । तर, हालसम्म औपचारिक वार्ता पनि शुरु भएको छैन ।

अन्य दलहरुको बीचमा एकीकरण हुने तर उपेन्द्र यादवले नेतृत्व गरेको दल र राजपा नेपालमा रहेका दलहरुसँग एकीकरण हुन नसक्नु आफैमा सोचनीय कुरा हो ।

यसको बारेमा राजपा नेपालका महासचिव जितेन्द्र सोनलसँग जिज्ञासा राख्दा उनी भन्छन्, ‘अन्य दलहरुसँग एकीकरण भइ नै रहेको छ, ढिलो चाँडो समाजवादी पार्टीसँग पनि हुन्छ ।’

‘कुनै कुराको सही समय हुन्छ । अहिले एकीकरणको मौसम छैन त्यही भएर सायद ढिलाई भइरहेको छ,’ उनको प्रतिकृया थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप