बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

यी चार कारण जसले समाजवादी पार्टी र राजपाबीच एकीकरण कठिन

मङ्गलबार, २४ वैशाख २०७६, ११ : १८
मङ्गलबार, २४ वैशाख २०७६

वैशाख २३ गते सोमबार कमलादीस्थित प्रज्ञा भवनमा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘यो शुरुवात मात्र हो । राष्ट्रिय जनता पार्टी नेपालसँग पनि केही कुरा भएका छन् । म यहाँबाट वहाँहरुलाई आह्वान गर्छु आउनुस्, एकतावद्ध होऔँ । परिवर्तनको दिशामा अगाडी बढौँ, यो ठाउँ–ठाउँमा सटर खोलेर ग्राहक आइहाल्छ कि भनेर बस्ने युग अब गयो ।’ 

उनी यतिमा मात्रै रोकिएनन् । उनले थपे, ‘अब आउनुस् मिलौँ, एकताबद्ध भएर अगाडी बढौँ । म राजपा, जनमुक्ति लगायतका पार्टीहरु जो परिवर्तन र पहिचानका पक्षमा हुनुहुन्छ उहाँहरुलाई आह्वान गर्न चाहन्छु, आउनुस् हामी मिलेर अगाडि बढौँ, समाजवादी पार्टी सबैका लागि हो, सबै मिलेर अगाडि बढौँ ।’

नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले यो कुरा भनिरहँदा हलभित्र ताली गुञ्जियो । त्यो आह्वान र तालीको गुञ्जन राजपा नेपालका नेताको कानसम्म पुग्यो पुगेन त्यो त उनीहरुको प्रतिकृया आएपछि मात्रै थाहा हुनेछ । तर यादवले जसरी राजपालाई सार्वजनिक रुपमै एकताका लागि आग्रह गरे त्यो पालाको पँैचौ जस्तो मात्र भएको छ । 

२०७४ वैशाख ७ गते विभिन्न ६ वटा दलको एकीकरण भएर राजपा नेपाल गठन हुँदा सो दलका नेताहरुले तत्कालिन फोरम नेपाललाई यसैगरी एकताका लागि बोलाएका थिए । तर त्यतिबेला फोरम नेपालले वास्ता गरेन । 

यसबाट पुष्टि हुन्छ, यी दुई पार्टी बीचको एकतामा गम्भीरता छैन । यदि एकताका लागि कुनै गतिविधि भइरहेको छ भने त्यो औपचारिकताका लागि मात्र भइरहेको छ भन्ने विश्लेषणहरु भइरहेका छन् । 

वैशाख २० गते तत्कालिन फोरम नेपाल र नयाँ शक्ति नेपालले राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीलाई बोलाएर छलफल गर्नु औपचारिकता मात्र थियो । नयाँ शक्ति नेपाल र फोरम नेपालबीच एकीकरणको अन्तिम समय अर्थात् अन्तिम बिन्दुमा पुगेका बेला ‘राजपा नेपाललाई एकपटक सोधिहालौँ न’ भनेर बोलाएर सोधियो । 

त्यसअघि वार्ता गर्दा कुनै गम्भीरता थिएन, न कुनै योजना थियो । जसरी राजपा नेपाल गठन भएको बेला सो दलका नेताहरुले औपचारिकताका लागि तत्कालिन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सोधेका थिए । ठीक त्यही प्रक्रिया दोहोरियो ।

त्यसबेला अध्यक्ष यादवको प्रतिकृया थियो – ‘ठीक छ तपाईहरु गर्र्दै गर्नुहोस्, म पछि सल्लाह गरेर आउँछु ।’ 

यसले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको सम्भावना कम छ भन्ने देखाउँछ । यदि यी दुई पार्टीबीच एकीकरण भयो भने त्यो भावनात्मक मात्र हुनेछ ।

कति सम्भव छ एकीकरण ?

समाजवादी पार्टीसँग एकीकरणको सम्भावना राजपा नेपालका नेताहरु नै देख्दैँनन् । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले अहिले नै एकीकरण हुने सम्भावना कम रहेको बताउँछन् । 

‘नयाँ शक्ति नेपाल र फोरम नेपालबीच जसरी एकता भएको छ त्यस हिसाबमा तत्कालै एकता हुने सम्भाव छैन’, उनले भने, ‘केही समयपछि वार्ता र संवाद अगाडि बढ्यो भने एकताको सम्भावना हुनसक्छ ।’

वैशाख २० गते फोरम नेपाल र नयाँ शक्ति नेपालसँग छलफल गर्न राजपा नेपालका अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो गएका थिए । त्यहाँ के–के भयो त्यो विषयमा पार्टीमा अहिलेसम्म पनि छलफल भएको छैन । त्यसले गर्दा पनि सो पार्टीमा अन्योल छ । 

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव भन्छन्, ‘नयाँ शक्ति नेपाल र फोरम नेपालले हतार हतारमा एकीकरण गरेको छ । दुई चारदिन ढिलो गरेको भए राजपा नेपाल पनि एकीकरणमा सहभागी हुनसक्थ्यो तर फोरम र नयाँ शक्ति नेपालले प्रतिक्षा नै गरेनन् ।’

दुई दलले राजपा नेपालसँग एकीकरणका लागि वार्ता गरेको भन्दै आइरहेको छ । तर जुन गम्भीरताका साथ राजपा नेपालसँग वार्ता हुनुपर्ने थियो, त्यो गम्भीरता नभएको उनको दावी छ । 

फोरम नेपाल र नयाँ शक्तिबीच जुन गम्भीरताका साथ एकीकरणका लागि छलफल भयो त्यो गम्भीरता राजपा नेपालसँग देखिएको थिएन । ‘यदि दुई चारदिन पर्खेर वार्तालाई गम्भिरता रुपले अगाडि बढाएको भए सायद एकीकरण हुन्थ्यो,’ आफूहरुले केही पर्खन पनि भनेको तर नपर्खेको उनको आरोप छ ।

यसकारणले नहुनसक्छ 

फोरम नेपाल र नयाँ शक्ति बीच एकता भइसकेपछि अब राजपा नेपालसँग एकता हुन सम्भावना धेरै नै कम देखिन्छ । राजपा नेपाल र समाजवादी पार्टीबीच सैद्धान्तिक रुपमा भिन्नता । समाजवादी पार्टीले कार्यकारी राष्ट्रपतिको अवधारणा अघि सारेको छ जसलाई राजपा नेपालले कुनै पनि हालतमा मान्न तयार छैन । 

मधेश मामिलाका जानकार तुलानारायण साह भन्छन्, ‘भावनात्मक रुपमा बाहेक समाजवादी पार्टीसँग एकीकरण हुनसक्दैन ।’ एउटै एजेण्डामा आन्दोलन गरेको, आन्दोलनबाट पार्टी जन्मेका कारणले भावनात्मक रुपाम एकीकरण हुनसक्छ तर त्यसबाहेक अरु कुनै कारण एकीकरण हुन्छ भने कुरा देखिएको छैन ।’ 

अहिलेको अवस्थामा राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण अलिकति अस्वभाविक हुने देखिएको बताउँदै साहले विभिन्न चार कारणले एकीकरण हुन नसक्ने बताए ।

समाजवादी पार्टीसँग राजपा नेपालको एकीकरण हुनुमा नेतृत्व व्यवस्थापनाको समस्या हुनसक्ने बताउँदै साहले राजपा नेपालका छ जना अध्यक्षको व्यवस्थापन यसमा मुख्य चुनौति रहेको जिकिर गरे ।

अर्को कुरा, राजपा नेपालको जन्म फोरम नेपालको विरोधमा भएको हुनाले समाजवादी पार्टीसँग मिल्न त्यति सजिलो नरहेको उनको भनाई छ । 

तेस्रो, साहका अनुसार समाजवादी पार्टी मुलभुत रुपमा नयाँ कम्युनिष्ट पार्टी नै हो । बाबुराम भट्राई, अशोक राई र उपेन्द्र यादव तीनैजना कम्युनिस्ट पृष्ठभूमीका नेता हुन् । राजपा नेपालमा महेन्द्रराय यादव कम्युनिष्ट पृष्ठभूमिका भएपनि अरु बाँकी नेताहरुको सोच र कार्यशैली मिनी काँग्रेसजस्तो रहेको उनले बताए । वैचारिक र व्यवहारिक रुपमा यी दुई शक्तिबीच फरक देखिएको छ ।

‘चौथो कारण भूराजनीतिक हो,’ विश्लेषक तुलानारायण साह भन्छन्, ‘नेपालको राजनीतिमा उपेन्द्र यादवको शक्ति आर्जन भारतका लागि असह्य हुन्छ । भारतको संस्थापन पक्ष उपेन्द्र यादवले शक्ति आर्जन गरोस् भन्ने चाहँदैन ।’ 
‘उपेन्द्र यादवकै विकल्पमा कुनै बेला तमलोपा खडा गरियो भने उनको पार्टीलाई तीन चार टुक्रा पारियो । यी कारणले समाजवादी पार्टीसँग राजपा नेपालको एकीकरण हुने सम्भावना कम देखिन्छ ।’ 

चिठ्ठीमा सिमित
राजपा नेपाल र तत्कालिन फोरम नेपालबीच एकीकरणका लागि हालसम्म औपचारिक वार्ता भएको छैन । दुवै पक्षले चिठ्ठी मात्र आदानप्रदान गरेका छन् । दुवैले एक अर्काको चिठ्ठीलाई जवाफ दिने काम मात्र गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप