शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टी र राजपा नेपाल एकीकरण गर्न सहमत

आइतबार, १५ असार २०७६, १७ : ५०
आइतबार, १५ असार २०७६

काठमाडौँ । समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणका लागि घनिभूत छलफल भइरहेको छ ।

एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको छ ।

एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् । 

राजपा नेपाल स्रोत भन्छ, ‘ दुई नेताको बीचमा अहिले दिनहुँ जस्तो छलफल हुन्छ । महाधिवेशनभन्दा पहिला नै टुगों लगाउने गरी छलफल शुरु भएको छ । यद्यपि अहिले ठोस विषयमा सहमति भएको छैन ।’

कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति छैन । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने उक्त प्रणालीको पक्षमा छैन । यद्यपि यो विषयमा दुवै दल गभ्मीर भएर छलफल गरे एक घण्टामा टुङ्गिने राजपा नेपालका महासचिव मनिष सुमनले रातोपाटीसँगको अन्तरवार्तामा बताएका थिए ।

त्यसबाहेक, दुवै दलमा रहेका नेताहरुलाई कसरी व्यवस्थापना गर्ने विषयमा नेताहरुको बीचमा छलफल भइरहेको स्रोतको दावी छ । समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा छ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन् ।

एकीकरण भएपछि यी दुवै पक्षका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने दुवै दलका लागि चुनौतिको विषय रहेको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको अध्यक्ष, त्यसपछि बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादव अनि त्यसपछि वरिष्ठ नेताको रुपमा राजेन्द्र महतोलाई राख्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

राजपा नेपालका महेन्द्रराय यादवलाई संसदीय दलका नेता दिने विषयमा पनि छलफल भइरहेको छ । त्यसपछि शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको विषयमा पनि छलफल हुने बताइएको छ । दुई पार्टीको बीचमा एकीकरण हुने सहमति भइसकेको अवस्थामा अब कुन मोडालिटीमा एकीकरण हुने भन्ने विषय मात्र बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।

गत बुधवार राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवास छलफल भएको थियो भने त्यसको भोलिपल्ट उपेन्द्र यादवको निवासमा छलफल भएको थियो । शुक्रबार संसद भवनमा तीन नेताको बीचमा छलफल भएको थियो । पछिल्लो समय एकीकरणका लागि हरेक बैठकमा २–३ घण्टा लामो छलफल हुने गरेको छ ।

समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधामन्त्री उपेन्द्र यादवले एक दैनिक पत्रिकासँगको फेसबुक लाइभमा भनेका छन्, ‘राजपा नेपालका नेताहरुले पनि अब एकता नगरी हुँदैन भनेर महसुश गरिसक्नुभएको छ । त्यसका लागि नेताहरुसँग छलफल चलिरहेको छ ।’

समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भनि भावना सबैमा पाएको बताउँदै उनले नयाँ शक्तिसँग भएको एकीकरण असारभित्र टुङ्गो लगाउने प्रयास भइरहेको बताए ।

यता, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले समाजवादी पार्टीसँग अनौपचारिक छलफल भइरहेको बताएका छन् । तर, ती छलफलमा के के कुरा भयो त्यसबारे आफूलाई केही जानकारी नभएको उनले बताए ।

उनले भने, ‘राजपा नेपालको तर्फबाट वार्ता समितिको संयोजक राजेन्द्र महतोलाई बनाइएको छ, उहाँलाई अनौपचारिक, औपचारिक छलफल गर्न म्याण्डेट दिएको छ । त्यसै आधारमा छलफल गरिरहनु भएको छ ।’

कुन मोडालिटीमा एकीकरण हुने विषयमा जिज्ञासा राख्दा उनले एकीकरण बराबरीको हैसियतमा हुने प्रतिकृया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप