सप्तकोशीको कहरः

बस्ती पसेको कोशी छेक्न सक्ने सामर्थ्य हामीसँग छैन : मन्त्री कार्की

person explore access_timeसाउन १८, २०७९ chat_bubble_outline0

उदयपुरको बेलकास्थित सप्तकोशी नदी बाँध कटान गर्दै बस्ती पसेको समाचारले देश तरङ्गित बनिरहेको छ । दिनभरजसो सप्तकोशीको कटानकै विषयमा सञ्चारमाध्यम केन्द्रित देखिए । संघीय सरकारका स्थानीय संयन्त्रहरु कटान क्षेत्रमा उद्धार र राहत कार्यमा जुटिरहँदा प्रदेश १ सरकारका दुई जना मन्त्री दिनभर सोही स्थानमा देखिए ।


प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की बिहान १० बजेतिरै सो क्षेत्रमा पुगेर सरकारी संयन्त्रलाई परिचालित गर्दै थिए । स्थानीयको उद्धार र राहतमा जुट्न प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की पनि खटिएका थिए ।



कोशी कटानले कस्तो रूप लेला ? अहिले देखिएको क्षति बढ्ने वा घट्ने सम्भावना के हुन्छ भन्ने कुरा वर्षाले निर्धारण गर्नेछ । तर, कोशी कटानको सुरुवातदेखि बुधबार अबेरसम्मको अवस्थाले के संकेत गर्छ ? सरकारी संयन्त्रले के गर्दैछन् ? उद्धार गरिएका सर्वसाधारणको व्यवस्थापन कसरी गरिएको छ ? जहाँबाट कोशीले कटान गरेर एउटा भँगालो वस्तीतिर पसेको छ, त्यसलाई अहिले नै नियन्त्रण गर्न सकिएला कि नसकिएला ? लगायत विषयमा रातोपाटी सम्वाददाता अर्जुन आचार्यले प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश–



सप्तकोशीको कटान निरीक्षणका क्रममा दिनभर बेलकामै रहनुभयो । त्यहाँको वास्तविक अवस्था कस्तो पाउनुभयो ?

आज बिहान ४ बजे सप्तकोशीको बहाव पश्चिमपट्टी बगेर बेलका नगरपालिकामा पहिले बगेको भँगालोतिर आएको छ । जहाँ एक महिना अगाडि म पनि गएको थिएँ । त्यसपछि हामीले नै प्रयास गरेर बाढी नपसोस् भनेर कोशी बक्राहा आयोजनाले एक महिनादेखि त्यसको अस्थायी बाँध बाध्न सुरु गरेको थियो । तर, बाँधले थामेन । त्यो भँगालो बस्तीमा आज बिहान छिरिसकेपछि जनमानस आतङ्कित भयो । तर, धेरै बस्ती डुब्न पाएको छैन । केही घर डुबेको हामीले पाएका छौं । कोशी र भँगालोको बीचका बस्तीचाहिँ अत्यन्तै जोखिममा छन् । त्यहाँ हिजो दिउँसैदेखि पानी पस्छ कि भन्ने अनुमान थियो । त्यहाँको नगरपालिकासँग कुरा गरेर हिजै बस्ती सार्ने मेलोमेसो गर्नुहोस् भनेर मैले भनेको थिएँ ।

नगरपालिकाले सामुदायिक भवन, वनका भवन, विद्यालयहरुमा अस्थायी शिविर बनाउने काम हिजैदेखि थालेको थियो । त्यसले गर्दा पनि हामीलाई आज सजिलो भयो । केही मानिस अझै घरबाट निस्कन मान्नु भएको छैन । हामी अग्लो ठाउँमा छौं, पानी रहन्छ भन्ने केही मान्छेको कुरा छ । सुनसरीको बराहक्षेत्रको २ वटा वडा पनि कोशी पारी नै पर्छ । उहाँहरु एक जना पनि आउन चाहनु भएन । उहाँहरुको कुरा हामी उँचो ठाउँमा छौं, हामीलाई उद्धार गर्नु पर्दैन भन्ने छ । बाँकी त्यहाँका चौपाया, खाद्यान्न, बालबालिका तथा महिलाहरु, वृद्धवृद्धाहरुलाई एपीएफ, जनपथ र नेपाली सेनालगायतले सारेको अवस्था छ । मानवीय क्षति अहिलेसम्म शून्य छ ।

अझै पानी बढे पनि मानवीय क्षति हुन नदिन हामी भरमग्दुर प्रयत्न गरिरहने छौं । यो बाढी जहाँबाट प्रवेश ग¥यो त्योचाहिँ बेलकाकै १ र २ नम्बर वडा भागलपुर क्षेत्रमा बढी क्षति गर्छ कि भन्ने हामीले अनुमान गरेका छौं । यो बाढी अझै बढ्यो भने यसले मधेस प्रदेशको कञ्चनरुप नगरपालिकाको केही भाग र सप्तकोशी नगरपालिकाको केही भागमा पनि असर गर्छ । अहिले अन्नबालीलाई धेरै क्षति गरिरहेको छ । भागलपुर क्षेत्रमा ओल र पिँडालु खेती बढी छ, त्यसलाई पनि क्षति गर्ने देखिएको छ ।

गाउँमा बाढी गाउँमा पसिसकेपछि कतिपय त्यहीँ छन्, कतिपय बाहिर आएका छन् । अहिलेसम्म ठ्याक्कै विस्थापित संख्या कति हो ? कति प्रभावित हुन् ?

म आफै स्थलगत निरीक्षणमा गएँ । विपद् व्यवस्थापन समितिको बैठकमा आएको तथ्याङ्क अनुसार पनि अहिले तत्कालै १५ सय घर परिवारलाई हामीले सारेका छौं । बाढी धेरै बढ्यो भने २५ सय घर परिवार हामीले सार्नुपर्ने देखिन्छ । त्यसका लागि हामीले बस्ने, खाने व्यवस्था गरिसकेका छौं । त्यसमा हामी कुनै कमी हुन दिँदैनौँ ।

खाने बस्ने व्यवस्था कसरी मिलाउनु भएको छ ?

हामीले ड्राइफुड पनि व्यवस्था गरेका छौं । चिउरा, चाउचाउ, भुजा । चामल, दाल, तेल, नुन पनि हामीले पठाएका छौं । अहिलेसम्म ८ हजार किलो चामल हामीले पठाएका छौं । आवश्यकता अनुसार खाद्यान्न वितरण गर्न सक्छौँ ।

प्रभावित परिवारले पकाएर खान सक्ने अवस्थाचाहिँ छ ?

उहाँहरुले आफ्ना भाँडाकुँडा र ग्यास पनि ल्याउनु भएको छ । अधिकांश परिवारले दाउरा प्रयोग गर्ने भएकोले दाउरा पनि उपलब्ध छ । त्यसकारण पकाउने कुरामा धेरै ठूलो समस्या छैन ।

अर्को कुरा, सामुदायिक भवन, विद्यालयमा बस्ने भएकाले पनि समस्या छैन । रेडक्रसले आवश्यक पर्ने त्रिपालहरु दिएको छ । एपीएफ, जनपथ प्रहरी र नेपाल आर्मी, रेडक्रसको सहित गरेर हामीले बोटहरु तयारी अवस्थामा राखेका छौं ।

बालबालिका, सुत्केरी महिला र बुढाबुढीका लागि के व्यवस्थापन भएको छ ?

हामीले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई प्राथमिकतामा राखेर उहाँहरुको उद्धार गरेका छौं । उहाँहरुलाई कोठामै राख्छौँ । त्रिपालमा राख्दैनौँ । स्वास्थ्य शिविर पनि हामी त्यहाँ केन्द्रित गरेका छौँ । पहिलेको जस्तो उद्धार ग¥यो ल्यायो, स्कुलमा राख्यो, छोड्यो जस्तो भएको छैन । हामीले राम्रो तयारी गर्न पाएका कारण धेरै व्यवस्थित छ ।

पानी घट्ने वा बढ्ने अवस्थाबारे तपाईहरुलाई के जानकारी छ ? जोखिम कस्तो छ ?

अहिले पहाडमा वर्षा रोकिएको छ । तलको पानीभन्दा पनि पहाडी क्षेत्रमा परेको पानीको बहावको यो प्रभाव हो । अर्को कुरा के देखिन्छ भने पानीको प्रेसर कोशी ब्यारेजको हो कि भनेर शंका गर्ने ठाउँ दिँदैन । बहाव नै त्यसरी आएको छ । केही वर्ष अगाडिदेखि नै कोशीको धार परिवर्तन भएर पश्चिमतिर गइरहेको देखिन्छ । म आजभन्दा डेढ महिना अगाडि त्यहाँ जाँदा पनि पानीको बहाव पश्चिमतिरै बढेको कारण त्यसतर्फ सतर्कता अपनाउन अस्थायी बाँध निर्माण थालिएको थियो । तर, बाँध नै फुटाएर लगेको छ । त्यहाँ अर्को रिपोर्टिङ काम गर्न धेरै गाह्रो छ । अब पानी रहेपछि त्यहाँ अस्थायी र स्थायी खालको बाँध निर्माणमा हामी पहल गर्छौँ ।

अहिले वस्तीतिर पसेको त्यो भँगालो नियन्त्रण गर्ने र अहिलेको कोशीको धारतिरै परिवर्तन गराउने उपाय केही छ ?

तत्कालै त्यो हामीले देखिरहेका छैनौँ । पानीको बहाव झनै बढ्यो भने त्यो सम्भव नै हुँदैन । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले धेरै प्रयास गरेको पनि देखिएको छ । त्यो प्रयास गर्दागर्दै पनि कोशीको प्रवाह जुन गतिले आएको छ, अहिले तत्कालै छेक्न सक्ने सामर्थ्य कम छ ।​

स्थानीयवासीचाहिँ बस्तीमा सप्तकोशी पस्नुमा सरकार जिम्मेवार रहेको भन्दै रुष्ट देखिए । सरकारका मान्छे आउँछन्, हेर्छन्, केही गर्दैनन्, यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो भन्ने उनीहरुको भनाइ छ । यसबारे के भन्नुहुन्छ ?

स्थानीयले त्यहाँ बाँध बाँधेको देख्नुभएन होला । प्रदेश सरकारको पहलमा त्यहाँ बाँध निर्माण भइरहेको थियो नि । त्यहाँ अहिले गएर हेर्दा पनि हुन्छ नि । त्यहाँ क्षति हुन्छ भनेरै नयाँ आउने मेयरसहितले पहल गरेर यो काम सुरु गरेको हो । अब कोशीले भत्कायो । त्यसको बहाव छेक्न सकेन । प्रकृतिसँग हाम्रो के लाग्छ र ? तर हामी हिजोदेखि नै तयारी गरिरहेका थियौँ । त्यही भएर पनि अहिले राम्रोसँग उहाँहरुको उद्धार गर्न सक्यौँ नि । त्यो क्षेत्रमा आज बिहानैदेखि उद्धार गर्न कोसिस गरिरहेका थियौँ । तर त्यहाँका मानिस कोशी टप्पुबाट सरकारले भगाउन लागेको हो, त्यसकारण हामी जाँदैनौं, पानी आएकै छैन भनेर अडान लिइरहेका छन् । त्यहाँ त्रासचाहिँ बाढीको बहाना लगाएर त्यहाँबाट हामीलाई निकाल्छ कि ! सरकारी जग्गा खाली गराउँछ कि भन्ने कुराले बनाएको छ । त्यहाँ बिगौं बिगाहा जग्गामा बसेर जनताले उब्जनी गरिरहनु भएको छ ।​


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।