शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् टप १० समाचार

बिहीबार, १२ साउन २०७९, २१ : ३४
बिहीबार, १२ साउन २०७९

आज मिति २०७९ साल साउन महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. छानबिन समितिको प्रतिवेदन तयार

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार  बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो ।

समितिले १७ दिनको अध्ययनपछि प्रतिवेदन तयार गरेको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवधि पाएको थियो । तर तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेको थियो । प्रतिवेदनमा शर्मा विरुद्ध कुनै प्रमाण नभेटिएको निष्कर्ष निकालिएको छ ।

​२. नागरिकता विधेयक पारित

नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।

​३. बाबुरामको नयाँ पार्टी

तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्।

​४. चुनाव घोषणाको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए ।

​५. अमेरिकी सहायक विदेशमन्त्री नेपालमा

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो ।

​६. सीके राउतको नयाँ रुप

कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।

तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् । 

​७. नेप्से बढ्यो

विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो । यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

​८. बैंकको नाफा

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंकमध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेकामध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् ।

​यसैबीच गत आर्थिक वर्षमा नेपालले दक्षिण एसियाका अधिकांश मुलुकसँग वैदेशिक व्यापार घाटा ब्यहोरेको छ । गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथ्याङ्कअनुसार नेपालले दक्षिण एसियाका सबैजसो मुलुकसँग उच्च अंकको व्यापार घाटा ब्यहोरेको हो ।

​९. बढ्दै कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ । ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

​१०. यो पनि...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो ।

​नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए ।

​बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप