बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन शाहको ५० दिन : फोहोर र शौचालय व्यवस्थापनमै अलमलिए

बिहीबार, १२ साउन २०७९, १७ : ५९
बिहीबार, १२ साउन २०७९

काठमाडौंका मेयर बालेन शाहले शपथ लिएको ५० दिन पुरा भएको छ । अनेक आरोह र अवरोहबीच बितेका ५० दिन कस्तो भयो ? बालेनका मतदाताहरूको मनोदशामा केही परिर्वतन आयो कि आएन ? बालेनले गरिरहेका क्रियाकलापमाथि उनका प्रशंसक एवम् मतदाताहरू खुशी छन् त ? यहाँ यी प्रश्नको उत्तर खोतल्ने प्रयास गरिएको छ ।

मेयरका रुपमा बालेनले पद सम्हालेको पनि ५० दिन पार गर्दै गर्दा उनको उदयका बहुल कारणहरु पनि हामीमाझ छन् । वैकल्पिक शक्तिको चिनारी लिएर आएका बालेनले मेयर हुनु अघि भनेका थुप्रै कुराहरु यतिबेला जनतामाझ विशाल विम्ब बनेका छन् । तिनै विम्बले विकासको आकार बनाएका जनताले यी ५० दिनको गतिविधि मिहिन ढंगले अध्ययन गरिरहेका छन् । बालेनको निम्ति चुनावी र्‍यालीमा नारा लगाउँदै हिँडेको जनसागर र राष्ट्रिय सभा गृह बाहिर मतपरिणाम पर्खिएको त्यो हुलले अहिले बालेनको काम र गतिविधिलाई ‘वाच डग’ बनेर हेरिरहेको छ ।

विशाल आकांक्षा र चाहनालाई परिपूर्ति गर्नको निम्ति मेयर बनेको हुँ भन्ने बालेन र केही गतिलो काम नगरेसम्म खादा र माला लगाउँदिन भन्ने बालेन पछिल्लो समय आलोचनाका सिकार हुने क्रम भने बढेको छ । कुनै पनि पार्टी र सम्मेलनमा सरिक हुन्न भन्ने बालेन शाह पछिल्लो समय हरिहर अधिकारी र नायिका नीता ढुंगानाको विवाह समारोहमा देखिएपछि उनको आलोचना नहुने कुरै भएन । यद्यपि, बालेनप्रति सकारात्मक हुँदै खेलकुद पत्रकार एवम् कमेन्टेटर आभास घिमिरे भन्छन्, ‘कसैले पनि  जनभावना सोहोर्नको निम्ति अनावश्यक पपुलिष्ट कदम चाल्नुहुन्न । तर बालेनले अहिले जे गरिरहेका छन्, त्यसमा म आशावादी नै छु । तथापि, जनताको चाहना एकदम धेरै भएकोले हामी तुरुन्तै नतिजा खोजिरहेका छौँ । तर उनी आफ्नो काममा छन् र त्यसको नतिजा निकट भविष्यमा देखिनेछ । उनको समीक्षा गर्न अहिले नै हतार हुनेछ । ५ वर्षे कार्यकालको समयले मात्र समीक्षाको सार्थकता बोक्ला ।’

चावहिल युवा संघका उपाध्यक्ष एवम् युवा नेताको रुपमा कामनपा–७ मा परिचित रमन पौडेल बालेन जनभावनालाई सम्बोधन गर्ने सवालमा उच्च देखिएको धारणा राख्छन् । तर, उनको कार्यकाल सुरु भएपश्चात् उनका एजेण्डाले लिनुपर्ने गति लिन नसकेको तर्क गर्छन् । उनी भन्छन्, ‘बालेन आफैँ नै सर्वोच्च हो भन्ने मेरो तर्क हैन । तर, बालेनमा पनि चुनावको अघि र चुनावको पछि देखिएको बहुल रंगसँग  मेरो असहमति छ । फोहोर व्यवस्थापन नगरेसम्म खादा लाउँदिन भन्ने बालेनले अल्पकालीन रुपमा नै भएपनि फोहोर व्यवस्थापनको एउटा निष्कर्ष भेट्नुपर्छ ।’

पौडेलका अनुसार फोहोर व्यस्थापन सधैँको मुद्धा हो र अहिले अल्पकालीन ढंगबाट यसको पूर्ण निकास निस्किदैन । तर मेयर बालेन हालसम्म अत्यन्तै सुस्त देखिएका छन् । फोहोर व्यवस्थापन मेयर शाहका लागि फलामको चिउरा सरह हुने देखिएको छ । किनकि काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने पत्रकार सम्मलेन गर्दै घोषणा गरेको हो । महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो ।

के भन्छन् महानगरका प्रवक्ता ?

काठमाडौं महानगरले हालसम्म आफ्ना कामहरुको कुनै रिपोर्ट बनाएको छैन । वडा न १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार बालेन्द्र शाहको मेयर कार्यकाल सुरु भएपश्चात् ६० दिनको रिपोर्ट बनाउने भन्ने योजना छ । त्यसअनुसार आफूहरु रिपोर्टको पहिलो चरणमै रहेको उनी बताउँछन् । महानगरले हालसम्म गरेका कामबारे उनी भन्छन्, ‘महानगरले हाल रेष्टुराँ एवम् होटलहरुसँग सहकार्य गरेर सार्वजनिक शौचालयको काम अगाडि बढाएकोमा त्यसको निकै राम्रो प्रतिक्रिया आएको छ ।’

प्रवक्ता मानन्धरका अनुसार १०० वटा भन्दा बढी प्राइभेट रेष्टुराँ एवम् होटलले सार्वजनिक शौचालयको लागि सहकार्य गरिरहेका छन् । यससँगै, महानगरले आफ्नै पहलमा सार्वजनिक शौचालय निर्माणमा पनि विशेष ध्यान दिएको छ । सार्वजनिक शौचालयलाई महानगरले निजी क्षेत्रसँग सहकार्य गरी मर्मत संहार गरिरहेको छ । हाल स्वयम्भु, नयाँबजार, मैतिदेवी, नयाँबानेश्वर लगायतका १० वटा ठाउँमा स्मार्ट शौचालय बन्दै छन् ।

फोहोर व्यवस्थापनबारे महानगरले नास्टसँग सहकार्य गरिरहेको छ । ‘फोहोर तथा सिसडोलको माटोको बारेमा नास्टले अनुसन्धान गरेको हो । त्यसको रिपोर्ट हालसम्म आइपुगेको छैन । त्यो पछि नै बाँकी काम अघि बढ्न सक्छ,’ महानगरका प्रवक्ता मानन्धर भन्छन्, ‘सिसडोलको बाटो बिग्रिएकाले हाल काठमाडौंका फोहोर नउठेको हो । हामी दीर्घकालीन समाधानकै लागि लागिपरेका छौँ ।’ 

महानगरले जेठको अन्तिम सातादेखि पूर्वाधार एम्बुलेन्स सुरु गरेर राम्रो कामको थालनी गरेको छ । महानगरका अनुसार डेढ महिनामा १८ स्थानका दुई सय खाल्टा खुल्टी टालिएको छ । काठमाडौं महानगरको हटलाइन नम्बरमा दैनिक औसत ३० वटा फोन आउँछ । तर, महानगरले जेनतेन दैनिक चार ठाउँको मात्रै खाल्टा पुर्न सकेको छ । खाल्टा टाल्न भन्दै मासिक पाँच सय भन्दा बढी गुनासा आउने गरेकोमा सबै सम्बोधन गर्न सकेको छैन । सबै गुनासोका आधारमा खाल्टा पुर्न आवश्यक जनशक्तिकै अभाव रहेको महानगरले जनाएको छ ।

जथाभावी टाँगिएका व्यानर एवम् फुटपाथ व्यवस्थापन लगायतका मुद्धामा पनि महानगरले गृहकार्य गरिरहेको र त्यसको नतिजा निकट भविष्यमा देखा पर्ने महानगरले जनाएको छ ।

औसत खालको मेयर

महानगरका ४२ वटा सार्वजनिक शौचालयमध्ये थुप्रै शौचालय उपयोग गर्ने अवस्थामा छैनन् । चावहिलको मन्दिरवर, भृकुटीमण्डप तथा नयाँ बानेश्वरको शौचालयको अवस्था निकै नाजुक छ । महानगरले आफ्नै शौचालयलाई असरल्ल छोडेर प्राइभेट क्षेत्रसँग शौचालयको निम्ति सहकार्य गरेको कुरा अलि अमिल्दो देखिन्छ ।

व्यापारीहरुले ठेक्कामा लिने र त्यसलाई आफ्नो कमाई खाने भाँडो बनाएको अवस्था छ । महानगर आफैँसँग भएको शौचालय मासिक लाखौं भाडामा दिएर कमाई खाने भाँडो बनाएको छ । सर्वसाधारणसँग पैसा उठाएर सार्वजनिक शौचालय प्रयोग गर्न दिने अनि निशुल्क शौचालयका लागि भने प्राइभेट सेक्टरका शौचालय धाउने यो प्रवृत्ति बेठीक रहेको तर्क राख्छन् लेखक आर मानन्धर ।

बालेनको क्रियाकलाप मिहिन ढंगले अध्ययन गरिरहेका आर मानन्धर भन्छन्, ‘महानगरसँग आफ्नो शौचालय व्यवस्थापनको कुनै योजना छैन । तर प्राइभेट क्षेत्रसँग सहकार्य गर्नमा भने लागिपरेको छ, जुन सरासर हेर्दा निकै असान्दर्भिक हो । निमुखा एवम् सहरमा मजदुरी गर्ने तमाम मजदुर, भरिया, रिक्सा चलाउने व्यक्तिहरु आज पनि जति नै प्राइभेट क्षेत्रमा शौचालय भएपनि प्रयोग गर्न जान सक्दैनन् । किनभने उनीहरुको निम्ति त्यो पायक पर्दैन । साथै, यो समाधानको बाटो पनि हैन । ’

लेखक मानन्धरका अनुसार नेपाली समाज युक्तिसंगत भन्दा पनि भावावेशमा बहने समाज हो । भावनाले बहकिनेहरु चमत्कारिक नेताको खोजीमा रहन्छन् । तर धरातलीय यथार्थभन्दा परको हवाइ भावना धेरै समय टिक्दैन । चर्चा र लोकप्रियतामा रुमल्लिएका बालेन शाहको अहिलेको अवस्था त्यही हो । परिवर्तनको लागि दिगो योजना चाहिन्छ । लहर र सनकले विकास हुने होइन । हुटहुटीसँगै परिपक्वता चाहिन्छ । त्यसको लक्षण देखिएको छैन । कामले उनी एउटा औसत खालको मेयर देखिएको छ । बालेनमा युवा जोश छ । फोहर व्यवस्थापनमा प्रयास गरेकै छन् । फुटपाथ पसल हटाउन पनि खोजेकै थिए । तर परिपक्व योजनासाथ अघि बढेको देखिँदैन । उनले गरेका प्रयास अघिका सबै मेयरले पनि गर्दै आएका थिए । चर्चामा आउनु र नआउनु मात्रै फरक हो ।

र्यापरको शालिक निर्माणको निर्णय र ईस्पोर्टसलाई सघाउने निर्णयले उनमा प्राथमिकता ठम्याउने क्षमतामा अपरिपक्वता झल्किएको लेखक मानन्धरको ठम्याइ छ । काठमाडौंको संस्कृति त्यसभन्दा बढी महत्त्वको विषय धेरै छ, जुन उनले चुनावमा उठाएका थिए । त्यतातिर केही उच्चारण गरेको सुनिँदैन । हुन त उनले आफूलाई प्रमाणित गर्न अझै धेरै समय छ । केही आशावादी पनि हुन सकिएला । तर अहिलेको शैलीले त्यो लक्षण देखाइरहेको छैन । उनीप्रति जुन जन उत्साह थियो, त्यो सेलाएर विस्तारै उनी सामान्य किसिमले ठीकठाकैको मेयर मात्र प्रमाणित हुने हो कि ? त्यस्तो नहोस् भन्ने हाम्रो चाहना हो । गरेर देखाउने समय त अझै धेरै छ ।

निष्कर्षमा पुग्ने समय त हैन यो । तर, सही दिशा पनि नदेखिएको तर्कसँग सहमति जनाउँछन् बालेनसँग उम्मेदवार रहेका केशव स्थापित पनि । बालेनले उनको घरमा भेट्न गएको कुरा पनि सामाजिक सञ्जालमा यत्रतत्र छरिएको थियो । बालेन भरिएर आएका थिए र उनी सुन्ने मुडमा थिएनन् भन्दै स्थापित उनीसँग निराश भएका थिए ।

त्यसो त आफ्नो प्रतिद्वन्द्वीसँग सहिष्णु भावना राख्न नसक्नु नेपाली नेताहरुको निम्ति निकै ठुलो चुनौती हो । यद्यपि, स्थापितले बालेन जोसिलो युवा भएपनि गरी खाँदैनन् कि भन्ने आशंका व्यक्त गरेका छन् । के पूर्व मेयर स्थापितको कुराले सार्थकता पाउला ? या बालेन सफल मेयरको रुपमा स्थापित हुनेछन् ? यो समयले देखाउने नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप