शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

बिहीबार, १२ साउन २०७९, १७ : २७
बिहीबार, १२ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर, अहिले एन्फाका सबै काम पाखा लगाएर नेतृत्वले एक महिनाभन्दा धेरै समय बिताइसकेको छ । एन्फाको पहिलो कार्यसमिति बैठकमा नै एन्फाको महासचिव, विदेश विभाग प्रमुख र कोषाध्यक्ष गरी तीन नियुक्ति भए ।

सोही नियुक्तिको विषयलाई लिएर अहिले एन्फामा बहस चलिरहेको छ । एन्फाको विदेश विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गर्न एक समूह लागेको छ भने एन्फा आफ्नो नियुक्ति सच्याउने योजनामा छैन । त्यस्तै एन्फाको सिईओमा गौरव थापाको नियुक्तिलाई लिएर पनि एन्फामा पछिल्लो समय कार्यसमिति बैठक नै नहुनसकेको अवस्था छ । एन्फाका पूर्व अध्यक्ष गणेश थपाका छोरा भएकै कारण उनालाई नियुक्ति दिन खोजेको भन्दै अध्यक्ष नेम्वाङ पक्ष आलटाल गरिरहेको छ । उता पूर्व अध्यक्ष थापा पक्ष पाँडेलाई बर्खास्त गर्ने र गौरवलाई नियुक्ति दिइसकेपछि मात्र मान्ने पक्षमा छ ।

त्यसैले एन्फाको दोस्रो कार्यसमिति बैठक बस्न सकिरहेको छैन । जबकि दोस्रो कार्यसमिति बैठक गत साउन ५ गतेका लागि राखिएको थियो । अघिल्लो कार्यसमितिको बैठकमा एजेन्डामा प्रवेश गर्न नपाउँदै अध्यक्ष नेम्वाङ बाहिरिए । एन्फा कार्यसमिति बैठकमा प्रवेश गरेका सबै एजेन्डालाई समावेस गर्नुपर्ने सबै सदस्यको माग थियो । तर, अध्यक्ष नेम्वाङले महिला साफ च्याम्पियनसिपको एजेन्डाबाहेक अन्य विषयमा पछिल्लो बैठकले निर्णय गर्ने भन्दा बैठक स्थागित भयो ।

के भएको थियो दोस्रो कार्यसमिति बैठकमा ?

गत साउन २ गतेका लागि राखिएको एन्फाको दोस्रो कार्यसमिति बैठक अध्यक्ष नेम्वाङ विरामी भएर अस्पताल भर्ना हुँदा स्थगित भयो । त्यसपछि एन्फाले साउन ५ गतेका लागि नयाँ मिति तय गर्यो । साउन ५ गते बिहान ७ बजे कार्यसमिति बैठक बस्ने तय थियो ।

कार्यसमिति बैठकमा महासचिव किरण राईले विभिन्न १२ एजेन्डा र पछि थपेका ६ एजेन्डा थप गरी कार्यसमिति बैठकमा पेश गरेका थिए । कार्यसमिति बैठक ढिला गरी बिहान ८ बजे सुरु भएको थियो । कार्यसमिति बैठकमा अध्यक्ष नेम्वाङले महिला साफ च्याम्पियनसिप फुटबल र यु–२० र यु–१७ को प्रशिक्षकको विषय बाहेकका विषयमा छलफल गर्न नसकिने बताए ।

त्यसपछि नेम्वाङको प्रस्तावमा कुनै पनि सदस्यले सहमति जनाउन सकेनन् । एजेन्डा नै प्रस्तुत गरिसकेपछि सबै विषयमा छलफल गर्नुपर्ने थापा पक्षका सदस्यहरुको माग रह्यो । उनीहरुले पहिलो कार्यसमिति बैठकमा प्रस्तुत भएका सबै एजेन्डामा छलफल गर्न पाइने तर, दोस्रो कार्यसमिति बैठकमा एजेन्डा तय गरेर पनि छलफल नै नगर्ने कुरा स्वीकार गर्न सकेनन् ।

नेम्वाङ कार्यसमिति बैठक नै छाडेर बाहिरिए । उक्त कार्यसमिति बैठकमा एन्फाको सीईओ र अन्य पदमा नियुक्त गर्ने विषय थियो । एन्फाको सीईओ वा उप–महासचिव पदमा गौरव थापालाई नियुक्त गर्ने एजेन्डा तय थियो ।‘अध्यक्षज्यूले अन्य एजेन्डामा छलफल नगर्ने भन्नुभयो । हामीले उपस्थितिमा हाजिरी गर्न मानेनौँ । उहाँ बैठक नै छोडेर जानुभयो,’ उपाध्यक्ष वीरबहादुर खड्काले रातोपाटीसँगको कुराकानीमा भने ।

सबै एजेन्डामा प्रवेश नगर्ने भएपछि उपस्थितिमा थापा पक्षका सदस्यहरुले हस्ताक्षर गर्न मानेनन् । त्यसपछि १० जना सदस्यले एन्फामा विदेश विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गर्नका लागि बहुमत हस्ताक्षर गरेर निवेदन दर्ता गराए ।

अहिले एन्फा कार्यसमिति बैठक बस्ने नबस्ने कुरामा अन्यौल छ । यदि एन्फा कार्यसमिति बैठक बस्न अब गौरव ‘इन’ र पाँडे ‘आउट’ हुनुपर्ने अवस्था छ । एन्फा अध्यक्ष नेम्वाङले पाँडेलाई नियुक्त गरेका थिए । उनले पहिलो कार्यसमिति बैठकमा नै पाँडेलाई नियुक्त गर्ने र अर्काे बैठकमा नियुक्तिको विषयलाई नउठाउने भन्दा विवाद निस्केको हो ।

कार्यसमिति बैठक नहुने सम्भावना

एन्फा कार्यसमिति बैठक बस्नलाई अब दुई विषयको गाँठो फुक्नुपर्छ । जसमा गौरव थापालाई एन्फाको सिईओ वा उप–महासचिव बनाउने । अर्काे विषय भनेको नविन पाँडेलाई बर्खास्त गर्ने । यो दुबै पक्ष सुल्झिएपछि मात्र एन्फा कार्यसमिति बैठक बस्ने पक्का छ । अहिले अध्यक्ष नेम्वाङ पाँडेको मुख्य व्यक्ति हुन् । उनलाई हटाएर एन्फाका कार्यसमिति बैठक बस्ने सम्भावना छैन ।

यता गौरव थापालाई नियुक्त नगरेसम्म एन्फाका अन्य एजेन्डाले स्थान पाउने सम्भावना पनि कमै छ । त्यसैले अहिले एन्फामा दुई धारलाई एक धार बनाउन मुस्किल छ ।

यता कर्माछिरिङ शेर्पा प्यानल भने रमिता हेरेर बसेको छ । शेर्पा प्यानलको साथ अहिले नेम्वाङलाई आवश्यक छ । यदि शेर्पा प्यानलले नेम्वाङलाई साथ दिएमा एन्फा कार्यसमिति बैठकमा दुबै पक्षका माग समेटिने अवस्था छ ।

एन्फा कार्यसमिति बैठकको विषयमा कुनै पनि कुरा नउठेको महासचिव किरण राईले बताए । उनले दोस्रो कार्यसमिति बैठक स्थगितपछि एन्फा नेतृत्व साफ च्याम्पियनसिपको आयोजनाको विषयमा तल्लिन भएको बताए ।

‘एन्फा कार्यसमिति बैठकको विषयमा अहिले कुनै कुरा उठेको छैन । हामी छलफलमा नै छौ,’ राईले रातोपाटीसँगको कुराकानीमा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप