बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

डम्पिङ साइट सँधैका लागि बन्द गर्ने बञ्चरेडाँडाका स्थानीयवासीको चेतावनी

बिहीबार, १२ साउन २०७९, १७ : ५०
बिहीबार, १२ साउन २०७९

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो ।

फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने लगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन नगरे आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरु ल्याण्डफिल साइटमा लैजान सधैँका लागि बन्द गरिने बताए । 

कार्यक्रममा बोल्दै बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले राज्यका सम्बन्धित अंगहरूले फोहोरमैला व्यवस्थापनका नाममा आजभन्दा करिव ५० वर्ष अघिदेखि सत्ता प्राप्तिको मुद्दा बनाएर स्थानीयलाई पीडा र समस्या दिइरहेको बताए । उनले नागरिकहरुको सम्पतिमा पौडी खेलेर ओखर पौवाका जनताको हक, अधिकारलाई काठमाडौं महानगरपालिका लगायतका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे । 
पत्रकार सम्मेलनमा स्थानीय राजन न्यौपानेले काठमाडौंमा यमबुद्धको सालिक बनाउने मेयर बालेन शाहले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तथा कार्यक्रम तर्जुमा नगरेको ? भन्दै प्रश्न गरे । उनले नयाँ र स्वतन्त्र मेयरबाट फोहोर व्यवस्थापनको आश गरेपनि त्यो सत्य हुन नसकेको बताए । 

स्थानीयवासीहरुले मानवबस्ती रहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहोरमैला प्रदूषणरहित, मानवबस्ती विकास क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै ल्याण्डफिल साइटमा अस्पतालजन्य फोहोरमैला, विषाधीजन्य फोहोरमैला, मृत पशुपंक्षी फोहोरमैला, ब्याट्री, विद्युतीय सामग्रीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला, तेजाव तथा रसायनजन्य फोहोरमैला, होटल तथा रेष्टुराँबाट उत्पादित कुहिने फोहोरमैला प्रतिबन्ध गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १, २, ३ लाई र धादिङको धुनीबेंसी नगरपालिका १ कोल्पुखोला आधार क्षेत्रलाई विशेष संवेदनशील घोषणा गर्नुपर्ने तथा तारकेश्वर नगरपालिका ३ को त्रिशुली रोड तथा पासाङ ल्हामू राजमार्गको पश्चिम तर्फका भूभागलाई समेत संवेदनशील घोषणा गर्नुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप