बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय विशेष समितिले भेटेन अर्थमन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने प्रमाण

सत्तापक्ष र प्रतिपक्षीका सांसदको मत बाझियो
बिहीबार, १२ साउन २०७९, २० : ५४
बिहीबार, १२ साउन २०७९

संसदीय विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन असफल बनेको छ । संसदीय विशेष समितिले १७ दिन लामो छानबिनबाट तयार पारेको प्रतिवेदनमा अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि गर्ने आधार फेला नपारेको हो ।

अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जेठ १४ गते राती अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोप लागेको थियो । सो आरोप लागेसँगै उपभोक्ता अधिकार सम्बन्धि संस्थाले जेठ १४ गतेको सीसीटीभी फुटेज माग गर्दै अर्थमन्त्रालयमा सूचनाको हकसम्बन्धि निवेदन दिएको थियो । सो निवेदनको जवाफ दिँदै मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको र मन्त्रालयमा १३ दिनभन्दा धेरै स्टोर गर्ने क्षमता नभएको जानकारी दियो । यससँगै, अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपको चौतर्फि विरोध सुरू भएपछि उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सोहीदिन उनीमाथि लागेको आरोप सम्बन्धी छानबिन गर्न ११ सदस्यीय सर्वदलीय संसदीय विशेष समिति गठन भएको थियो । सो समितिलाई सुरूमा १० कार्य दिन दिइएपनि तोकिएको समयमा आवश्यक काम नसकिएपछि थप ७ दिन म्याद थपिएको थियो । जसको म्याद भोली शुक्रबार सकिँदैछ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन लेखनको काम सम्पन्न गरिसकेको छ । र, भोली प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन पेस गर्नेछ । १७ दिन लगाएर तयार पारिएको प्रतिवेदनमा अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि गर्ने कुनै आधार नभेटिएको समितिका एक सदस्यले जानकारी दिए ।

यसबीचमा समितिले अर्थमन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, राजश्व विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो । यस्तै, अर्थमन्त्री शर्मासँग समेत साढे ३ घन्टा लामो बयान लिइएको थियो । तर, अर्थमन्त्रालयका सम्पूर्ण प्रतिनिधिसँग लिइएको बयानका क्रममा बजेट बनाउँदा लागेको आरोप पुष्टि गर्ने कुनै आधार भेटिएन । ‘बयानका क्रममा कुनै पनि प्रतिनिधिले बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिको संलग्नता रहेको स्वीकारेनन्,’ अर्का एक सदस्यले भने, ‘उनीहरू सबैले बजेट बनाउने क्रममा कोही पनि अनाधिकृत व्यक्तिको संलग्नता हुनै नसक्ने बताइरहे ।’

यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । तर, त्यसमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने प्रमाण भेटिएन ।

यसैगरी, नेपाल प्रहरीले तयार पारेको फरेन्सिक ल्याबको रिपोर्टमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने आधार नदेखिएको एक सदस्य बताउँछन् । ‘१७ दिन लामो अध्ययनबाट अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुन सकेन,’ उनले भने, ‘हामीले प्रतिवेदन लेखन सकेका छौं । भोली सभामुखलाई बुझाउँछौं ।’

यद्यपी, प्रतिवेदन लेखनमा सत्तापक्ष सांसद र प्रतिपक्ष सांसदको विचार भने बाँझिएको छ । प्रतिपक्ष दल नेकपा एमालेका सांसदले सत्तापक्ष दलका सांसदले लेखेको प्रतिवेदन चित्त बुझाएका छैनन् । जसले गर्दा उनीहरू आफ्नो छुट्टै प्रतिवेदन लेखन गर्ने तयारीमा लागेको बताइएको छ । तर, भोलिसम्ममा प्रतिवेदन तयार हुने/नहुने बारे केही जानकारी दिइएको छैन । ‘प्रतिपक्षी दलको हैसियतले उहाँहरूले फरक मत राख्नु स्वभाविक हो,’ एक सदस्य भन्छन्, ‘आज समितिको अन्तिम बैठकमा पनि उहाँहरुले फरक मत राख्नुभयो । तर, समितिका बहुमत सांसदको सहभागितामा प्रतिवेदन लेखन कार्य सकिइसकेको छ ।’​


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप