शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऋण प्रवाहमा प्राइम बैंकको मनपरी : ९.५ प्रतिशतको ब्याज १४.०८ प्रतिशतसम्म पुग्यो

ग्राहकलाई थाहै नदिई प्रिमियममै परिवर्तन !
बिहीबार, १२ साउन २०७९, १५ : १९
बिहीबार, १२ साउन २०७९

चाँगुनारायण नगरपालिका–६, भक्तपुरकी यशोदा खनाल र विष्णुप्रसाद खनालले २०७७ फागुन १३ गते प्राइम बैंकबाट एक करोड रुपैयाँ ऋण लिए । तत्कालीन समयमा ९ दशमलब ५ प्रतिशत ब्याज भनेर लिइएको ऋणको ब्याजदर त्यसको तेस्रो महिनाबाटै बढ्न सुरु गर्‍यो। ९ दशमलब ५ प्रतिशतमा लिइएको ऋण एक वर्ष नपुग्दै १४ प्रतिशत पु¥याइयो तर ऋणीलाई ब्याज बढेको जानकारीसमेत दिइएन ।

प्राइम कमर्सियल बैंकको कोटेश्वर शाखाबाट २०७७ फागुन १३ गते स्वीकृत गराइएको एक करोडको ऋण आवास कर्जा अर्थात् होम लोनमा लिइएको थियो । महालक्ष्मी नगरपालिका–४, इमाडोलमा रहेको जग्गासहितको घर धितोमा राखेर ऋण लिँदा बैंकले तत्कालका लागि ब्याजदर ९ दशमलब ५ हुने र बेस रेट अर्थात् बैंकको आधार दर बढ्दा ब्याजदर परिवर्तन हुनसक्ने कुरा उल्लेख गरेको थियो ।

बैंकसँग ऋण लिने समयमा २० वर्षे किस्ताका लागि भनेर मासिक ९३ हजार रुपैयाँ किस्ता तिर्ने गरी लिइएको ऋण तेस्रो महिनाबाटै ब्याजदर बढेपछि मासिक किस्ता १ लाख ७ हजार पु¥याइयो र हाल मासिक १ लाख २० हजार ५ सय रुपैयाँको किस्ता तिर्नुपरेको ऋणी जमानी रहेका यशोदाका श्रीमान विष्णुप्रसाद खनालले रातोपाटीलाई बताए । अहिले फेरि ब्याजदर बढ्ने भनेर बैंकबाट फोन आएको उनको भनाइ छ ।

बैंकले ऋण जारी गर्दा ७ दशमलब ८५ प्रतिशत आधार दर र १ दशमलब ६५ प्रतिशत प्रिमियम जोडेर हुन आउने ९ दशमलब ५ प्रतिशत ब्याज कायम गरेको थियो । यसबीचमा बैंकमा तरलता अभावका कारण कयौंपटक आधार दर परिवर्तन भएको छ । ग्राहकसँग सम्झौता गरिसकेको ऋणमा ग्राहकसँग सहमति नलिई प्रिमियममा परिवर्तन गर्न नपाउने व्यवस्था छ । तर प्राइम बैंकले भने ग्राहकसँग छलफल नै नगरी प्रिमियममा समेत आफूखुसी परिवर्तन गरेको पाइएको छ ।

विष्णुप्रसादका अनुसार प्राइम बैंकले छलफल नै नगरी प्रिमियममा समेत परिवर्तन गरेर बैंकको ब्याजदर १४ दशमलब ०८ प्रतिशत पु¥याएको छ । एक साता अगाडिमात्रै प्राइम बैंकको कोटेश्वर शाखाबाट ग्राहकलाई आएको फोनमा ब्याजदरमा परिवर्तन हुनेबारे जानकारी गराइएको थियो । विष्णुका अनुसार साउन महिनादेखि ऋणको ब्याजदर १४ दशमलब ०८ प्रतिशत हुने जानकारी बैंकले दिएको छ ।

आफ्नै सम्झौता विपरीत प्रिमियममै परिवर्तन !

प्राइम बैंकको कोटेश्वर शाखामा गरिएको सम्झौतापत्रमा कोटेश्वर शाखाका प्रमुख विशालमणि भण्डारी तथा कर्जा शाखाबाट पवित्रा पौडेल र ऋणीका तर्फबाट यशोदा खनालले हस्ताक्षर गरेका छन् । बैंकले ऋणीसँग गरेको सम्झौताको बुँदा नम्बर २ मा ब्याजदरबारे उल्लेख छ । उक्त बुँदामा आधार दर र त्यसमा १ दशमलब ६५ प्रतिशत प्रिमियम जोडिने कुरा उल्लेख छ ।

सम्झौतामा लेखिएको छ– वार्षिक ९.५०% (२०७७ साल पौष महिनाको आधार दर ७.८५% मा १.६५% प्रिमियम दर थप भएको) । आधार दर प्रत्येक त्रैमास (असोज, पौैष, चैत्र र असार)को गणना गरी ने.रा. बैंकको निर्देशानुसार प्रकाशित हुने र सोही आधार दरमा तोकिएको दर थप गरी प्रत्येक त्रैमासमा ब्याजदर समायोजन गरिनेछ । बैंक र ऋणीबीचको आपसी सहमतिबाट तोकिएको प्रिमियम दरमा हेरफेर गर्न सकिनेछ ।’

यसरी बैंक र ऋणीबीच भएको सम्झौतापत्रमा आधार दरमा परिवर्तन हुँदा प्रत्येक तीन महिनामा ब्याजदर परिवर्तन हुनसक्ने र प्रिमियमका सम्बन्धमा परिवर्तन गर्नुपर्ने भएमा बैंक र ऋणीबीच आपसी सहमतिबाट परिवर्तन गर्न सकिने उल्लेख छ ।

तर प्राइम बैंकले भने ग्राहकलाई थाहै नदिई आधार दरमा भएको परिवर्तनका आधारमा मात्रै ब्याजदर परिवर्तन गरेन, सहमति विपरीत प्रिमियममै पनि आफुखुसी परिवर्तन गरिदियो ।

रातोपाटीले सम्पर्क गरी यशोदा खनालले लिएको ऋणको ब्याजदर कति प्रतिशत हो र त्यसमा के के जोडिएको हो, हालको प्रिमियम कति हो भनी प्रश्न गर्दा प्राइम बैंकको कोटेश्वर शाखाले त्यसबारे केही बताउन नमिल्ने जवाफ दिएको छ । ब्याजको प्रतिशत बढेको स्वीकार गर्दै बैंकका तर्फबाट आफूहरुले फिक्स्ड डिपोजिटमै १२ प्रतिशत ब्याज दिएकाले ब्याजको प्रतिशत बढाउनु परेको जवाफ दिइयो ।

प्राइम कमर्सियल बैंकको २०७८ चैत महिनाको बेस रेट ९ दशमलब ६८ प्रतिशत छ । सोही आधारमा बैंकले २०७९ साउन १ गतेबाट लागु हुने गरी ब्याजको रेट सार्वजनिक गरेको छ । बैंकले जारी गरेको रेट अनुसार होम लोन अर्थात् आवास कर्जामा बेस रेटमा ६ दशमलब ९९ प्रतिशतसम्म थप गर्न सकिने उल्लेख छ । यसलाई आधार मान्ने हो भने बैंकले उल्लेख गरेको बेस रेट ९ दशमलब ६८ मा ६ दशमलब ९९ प्रतिशत जोडेर हुन आउने १६ दशमलब ६७ प्रतिशतसम्म ब्याज लिई ऋण दिन सक्ने देखिन्छ ।

तर बैंकले यसअघि नै ग्राहकसँग १ दशमलब ६५ प्रतिशतमात्रै प्रिमियम लिने भनी सम्झौता गरिसकेका कारण ग्राहकसँग अर्को सम्झौता वा सहमति नगरी प्रिमियममा परिवर्तन गर्न पाउँदैन । नयाँ ऋण प्रवाह गर्ने सम्बन्धमा १६ दशमलब ६७ प्रतिशतसम्म लिन सक्ने देखिए पनि यस ऋणमा गरिएको सम्झौता अनुसार बैंकले ग्राहकसँग हालको बेस रेट अर्थात् ९ दशमलब ६८ प्रतिशतमा १ दशमलब ६५ प्रतिशत प्रिमियम जोडेर हुन आउने ११ दशमलब ३३ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने हो, तर यतिबेला बैंकले १४ दशमलब ०८ प्रतिशत ब्याज लिनेबारे आफूलाई जानकारी गराएको ऋणी जमानी विष्णु प्रसाद खनालले रातोपाटीलाई बताए ।

आफूखुसी ४ दशमलब १ प्रतिशत पुर्‍याइयो प्रिमियम

विष्णुका अनुसार गत महिनासम्म बैंकको ब्याजदर १३ दशमलब ७८ प्रतिशत पुर्‍याइएको थियो । गत महिना बैंकको आधार दर ९ दशमलब ६८ प्रतिशत रहेकामा त्यसमा ४ दशमलब १० प्रतिशत प्रिमियम जोडेर १३ दशमलब ७८ प्रतिशत पु¥याइएको थियो । जबकि सम्झौतामा भने १ दशमलब ६५ प्रतिशतमात्रै प्रिमियम जोड्ने उल्लेख थियो । यो तथ्यांकलाई हेर्दा बैंकले आफूखुसी लामो समयदेखि २ दशमलब ४५ प्रतिशत प्रिमियम थप गरेको पाइएको छ ।

बैंक भन्छ– आधार दर फेरि बढ्यो

यशोदा खनालको ऋण र आफूखुसी ब्याज बढाएको सम्बन्धमा प्राइम बैंकका कोटेश्वर शाखाका प्रमुख विशालमणि भण्डारीलाई सम्पर्क गर्दा उनले ब्याजदर बढेको स्वीकार गरे । भण्डारीले रातोपाटीसँग भने, ‘हामीले अहिले फिक्स्ड डिपोपिजटमै १२ प्रतिशत ब्याज दिएका छौँ, त्यसकारण ऋणको ब्याज पनि बढ्नु स्वाभाविकै हो । उहाँलाई मर्का परेको छ भने हामी ब्याज घटाउछौँ ।’

भण्डारीका अनुसार साउन महिनादेखि आधार दर पनि बढेको छ । पहिले ९ दशमलब ६८ प्रतिशत रहेको आधार दर बढेर अहिले ९ दशमलब ९८ प्रतिशत पुगेको छ । सोही आधारमा ब्याज दर समायोजन हुने भण्डारीले बताए ।

तर के कति सहमति वा सम्झौताका आधारमा प्रिमियममा परिवर्तन गरिएको हो भन्ने रातोपाटीको प्रश्नमा भण्डारीले गोलमटोल जवाफ दिँदै अब ब्याजदर घटाइदिने प्रतिवद्धता जनाए । ‘हामीले ब्याजदर घटाइदिनका लागि अनुरोध गर्दै फोन गरेका होइनौं, प्रिमियम बढ्नुको आधार र कारण खोजेका हौं’ भन्ने रातोपाटीको जिज्ञासामा भण्डारीले ‘हेड अफिसमा पनि कुरा भइसकेको रहेछ, अब ब्याजदर घटेर आउँछ’ भन्दै अब ११ दशमलब ६३ प्रतिशत ब्याजदर कायम हुने बताए । यद्यपि प्रिमियमसमेत परिवर्तन गरिनुको कारणबारे उनले केही बताएनन् ।

बैंकले एक साताअघि फोन गरी बैंकको ब्याजदर १४ दशमलब ०८ प्रतिशत पुग्यो भन्नुको अर्थ बैंकको आधार दर बढेर ९ दशमलब ९८ प्रतिशत पुगेकामा त्यसमा ४ दशमलब १० प्रतिशत प्रिमियम जोडिएर कायम हुने ब्याजदर हो । तर सम्झौता विपरीत प्रिमियम सहित ब्याजदरसमेत परिवर्तन हुँदा समेत ग्राहकलाई सोबारे जानकारी नदिई बैंकले अर्को महिनादेखि ब्याज घट्छमात्रै भनेर झुक्याएको विष्णुप्रसाद खनालले रातोपाटीलाई बताए ।

उनले भने, ‘ब्याज बढ्यो, किन बढ्यो भन्दा जहिले पनि अर्को महिनाबाट घट्छ भनेर शाखा प्रमुखले भनिरहे, तर प्रत्येक पटक ब्याजदर बढिरह्यो । कुरा गर्दा हेड अफिसमा कुरा भइसकेको छ, अर्को महिना घट्छ भन्छन्, तर कहिल्यै घटेन । अति भएपछि म मिडियासम्म आउनु परेको हो ।’

क्षतिपूर्तिसमेत माग्ने तयारी

प्राइम बैंकले ग्राहकलाई जानकारीसमेत नदिई आफूखुसी प्रिमियमसमेत बढाएको बारे समाचारका लागि प्राइम कमर्सियल बैंकको प्रधान कार्यालय र कोटेश्वर शाखामा सम्पर्क गरेपछि कोटेश्वर शाखाबाट ऋणी यशोदा खनाललाई फोन गरेर ब्याजदर तत्कालै घटाई ११ दशमलब ६७ प्रतिशत कायम गर्ने बताइएको छ । तर यशोदाका श्रीमान् विष्णुप्रसाद खनाल भने अब तत्कालका लागि ब्याजदर घटाउने मात्रै नभई पहिले प्रिमियम दरमा भएको परिवर्तनबाट बढी तिरिएको रकम र त्यसको क्षतिपूर्तिसमेत दाबी गर्ने तयारीमा छन् ।

बुधबार साँझ रातोपाटीसँग विष्णुले भने, ‘अहिले त ब्याज घटाइदिन्छु भने । बेस रेटका विषयमा केही भन्नु छैन, तर पहिले बढाएको प्रिमियमको क्षतिपूर्ति कसले दिन्छ ? त्यो रकम फिर्ता दिन्छ कि दिँदैन ? त्यो पनि त कुरा हुनुप¥यो नि ! प्रिमियम बढाएर लिइएको बढी रकम बैंकले सहमतिमै फिर्ता नगरे कानुनी उपचारमा जान्छु ।’

राष्ट्र बैंक भन्छ– कारवाही हुन्छ

बैंकले ग्राहकसँग सम्पर्क र समन्वय नै नगरी आफूखुसी प्रिमियम दरमा समेत परिवर्तन गरिएको सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई सम्पर्क गर्दा बैंकले प्रिमियममा परिवर्तन गर्न नपाउने बताए । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकहरुको आधार दर बढ्दा ब्याजदर बढ्न सक्ने तर आफुखुसी प्रिमियम दरमै परिवर्तन गर्न नपाउने बताए । उनले भने, ‘बेस रेट बढ्न सक्छ, त्यसो हुँदा ब्याजदरमा परिवर्तन आउन सक्छ । तर प्रिमियममा परिवर्तन गर्न पाउँदैन । कुनै बैंकले प्रिमियममै परिवर्तन गरेको छ भने उनीहरुलाई कारवाही हुन्छ ।’

प्रवक्ता भट्टले कुनै बैंकले प्रिमियममै परिवर्तन गरेको भए त्यसबारे राष्ट्र बैंकमा उजुरी गर्न र राष्ट्र बैंकको वेभसाइटमा गएर गुनासो पठाउन सकिने बताए । गुनासो प्राप्त भएपछि बैंकले छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने प्रवक्ता भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप