बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया–रणबीरको विवाह : जसले बलिउडको एउटा पुरानो डर हटाइदियो

बिहीबार, ०१ वैशाख २०७९, १४ : ३२
बिहीबार, ०१ वैशाख २०७९

वन्दना

हुन त कुरा आलिया भट्टको विवाहको हो, यो उनका लागि कुनै नीजि उत्सव मात्रै हुनुपर्छ तर यो विवाहको भिन्न अर्थ छ किनभने एक समय यस्तो थियो जब हिन्दी फिल्मकी हिरोइनसँग विवाह वा करियरमध्ये एउटा मात्रै छान्ने विकल्प हुन्थ्यो ।

पछिल्लो केही वर्षमा करिना, अनुष्का, दीपिका, प्रियंका, कट्रिना र अब आलिया भट्टको विवाहले यसलाई धेरै हदसम्म सामान्य बनाइदिएको छ ।

तर ८० देखि नयाँ शताब्दीको पहिलो दशकको अवधि एक अनौठो अवधि थियो, जहाँ एक फिल्मी हिरोइनको करियर उनको विवाह र उनी आमा बन्ने ग्राफसँगै उतार–चढाव हुन्थ्यो ।

यसको एउटा सानो उदाहरण ९० को दशकमा भेटिन्छ । यो उदाहरणमा माधुरी र जुही चावलाजस्ता हिरोइन पर्छन् ।

जुही एकपछि अर्को हिट फिल्म दिइरहेकी थिइन् तर आमाको अचानक निधनपछि उनी नीजि जीवनमा असाध्यै कठिन समयसँग गुज्रिइन् । त्यति नै बेला उनको भेट जय मेहतासँग भयो । दुबैबीच निकटता बढ्यो र जुहीले विवाह गरिन् । तर यो विवाह एक सिक्रेट थियो । जुहीले लामो समयसम्म यसबारे कुनै जाहिर बाहिर आउन दिइनन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Juhi Chawla (@iamjuhichawla)

वर्षौंपछि जुही चावलाले यसबारे थुप्रै पटक कुरा गरिन् । पूर्व पत्रकार राजिव मसन्दसँगको अन्तर्वार्तामा जुहीले भनेकी थिइन्, ‘त्यतिबेला मैले फिल्म इन्डष्ट्रिमा आफ्नो भिन्न पहिचान बनाएको थिएँ र म निकै राम्रो काम गरिरहेको थिएँ । त्यतिबेला जय मेरो जीवनमा आए । मेरो करियर डुब्ला भन्ने डर थियो । म काम गरिरहन चाहन्थेँ त्यसैले विवाह लुकाउनु नै मुनासिव ठानेँ ।’

अर्थात् एक सफल अभिनेत्रीले करियर बचाउनका लागि मात्रै यस्तो सोच्नुपर्यो ? जबकी उनीसँगका हिरो– चाहे आमिर होउन् वा शाहरुख वा अरु कोही, उनीहरुले यसरी आफ्नो विवाहको खबर लुकाउनु परेन ।

वर्षौंदेखि फिल्मी दुनियाँबारे खबर लेख्दै आएकी वरिष्ठ पत्रकार भारती दुबे भन्छिन्, ‘८० को दशकदेखि नयाँ शताब्दिको पहिलो दशकसम्म हिन्दी फिल्म एक अचम्मको अवस्थाबाट गुज्रियो, जहाँ विवाहपछि अभिनेत्रीको करियर समाप्त नै हुन्छ भन्ने धारणा बन्यो ।’

यद्यपि, ८० को दशकदेखि अहिलेसम्म, विशेषगरी ५०, ६०, ७० को दशकमा हिन्दी फिल्मका हिरोइन यो कुरामा बढी स्वतन्त्र भएको देखिन्छन् । यसलाई बुझ्नका लागि हामीले थोरै अतितलाई पनि हेर्नुपर्छ ।

केही दशकअघि कस्तो थियो माहौल ?

५० को दशकमा नूतनले ‘नागिन’, ‘हम लोग’ जस्ता फिल्मबाट आफ्नो करियरको सुरुवात गरिन् र सन् १९५२ मा उनी मिस इन्डिया बनिन् । सन् १९५५ मा आएकी सीमा र सन् १९५९ मा आएकी सुजातापछि उनी शीर्ष हिरोइनमा गनिइन् ।

यसैबीच सन् १९५९ मा नूतनले रजनीश बहलसँग विवाह गरिन् । तर उनको करियरमाथि एक नजर दौडाउने हो भने उनको करियरका उत्कृष्ट फिल्म विवाहपछि नै रिलिज भए र उनले अन्तसम्म काम गरिरहिन् ।

छलिया, बंदिनी, सरस्वती चन्द्र, मिलन, सौदागर, मै तुलसी तेरे आंगन की, मेरी जंगलगायतका फिल्म विवाहपछि रिलिज भए जसमा धेरैजसो कमर्सियल फिल्म थिए र नूतन यसको मुख्य नायिका थिइनन् र उनले थुप्रै फिल्मफेयर अवार्ड पनि जितिन् ।

बंदिनीमा एउटा कैदीको भूमिका निभाउने नूतनले सन् १९६४ मा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पाएकी थिइन् । बिमल रोयको यो फिल्मको सुटिङका बेला त नूतन गर्भवती थिइन् र त्यतिबेला पनि उनले फिल्म सुटिङ गरिन् ।

नूतनकै साथी कलाकार मिना कुमारीले पनि ५० को दशकमा कमाल अमरोहीससँग विवाह गरिन् । त्यसको १०–१५ वर्षमा मिना कुमारीले फिल्ममा एकसे एक भूमिका निर्वाह गरिन् ।

यद्यपि,  सफलताको शिखरमा बसेकी मिना कुमारीले फिल्ममा काम गरिरहेकोले कमाल अमरोही र उनीबीच दरार आएको भन्ने अफवाह सधैँ रह्यो


तर विवाहित भएकै कारण मिना कुरमारीले फिल्ममा भूमिका नपाएको भन्ने चाहिँ छैन । उनले त्यसपछि पनि कोहिनुर, आजाद, साहिब बिबी र गुलाम, आरती वा दिल अपना र प्रीत पराईजस्ता फिल्ममा उनले दमदार भूमिका पाइन् । सन् १९७२ मा रिलिज भएको पाकिजा उनको अन्तिम फिल्म रह्यो ।

७० को दशक आउँदा आउँदै शर्मिला टेगोरजस्ता अभिनेत्रीको समय आइसकेको थियो । सुपरस्टार राजेश खन्नासँग उनको जोडी सुपरहिट थियो । सेप्टेम्बर सन् १९६९ मा रिलिज भएको आराधनाले धुम मच्चाएको थियो । त्यसको तीन महिनापछि शर्मिला टेगोरले मंसुर अली पटौदीसँग विवाह गरिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Saba (@sabapataudi)

तर शर्मिलाले आफ्नो उत्कृष्ट काम विवाह पछि नै गरिन् र सबै ठूला अभिनेतासँग काम गरिन् । अमर प्रेम, मौसम, सफर, दाग, आविष्कार, चुपके चुपके यी सबै फिल्म उनको विवाहपछिको हो ।

असित सेनको फिल्म सफरको सुटिङका बेला उनी गर्भवती थिइन् । वास्तवमा, विवाहपछि शर्मिला टेगोर पहिलाभन्दा बढी सफल हुँदै गइन् ।

फर्स्ट पोस्टमा पत्रकार सुभाष के झालाई दिएको अन्तर्वार्तामा शर्मिला टेगोरले भनेकी थिइन्, ‘फिल्म ‘बेशर्म’ सुटिङ चलिरहेका बेला सबा जन्मिन लागेकी थिइन् । मानिसहरु सायद यस्तो सोच्छन् कि केही दर्शक विवाहित अभिनेत्रीलाई फिल्ममा हेर्न रुचाउँदैनन् । तर मलाई के लाग्छ भने यदि तपाईं दर्शकलाई एउटा राम्रो कहानी र राम्रो फिल्म दिनुहुन्छ भने उनीहरुले तपाईंलाई नजरअन्दाज गर्न सक्दैनन् । त्यतिबेला समाजले एक महिलाले घरमा बच्चा छोडेर काममा गएको पचाउन सक्दैनथ्यो ।’

 


 

यहाँसम्म कि आफ्नो ग्ल्यामरस र भ्याम्प रोलका लागि चर्चित बिन्दु पनि जब फिल्ममा आइन् तब उनको विवाह भइसकेको थियो ।

त्यतिबेला उनी साह्रै साथी थिइन् तर निर्देशक राज खोसलाले उनलाई सन् १९६९ मा रिलिज भएको ‘दो रास्ते’ मा मुमताजसँग मुख्य भूमिका निभाएकी थिइन् । हेर्दा हेर्दै उनले इत्तेफाक, आया सावन झुम के, अभिमान, कटी पतंगमा साइन गरिन् जसमा उनको क्याबरे निकै चर्चित रह्यो ।

यो त्यो पनि समय थियो जब सन् १९७३ मा राज कपुरको टिनएज रोमान्स भएको फिल्म बबी रिलिज भएको थियो । १६ वर्षकी डिम्पल कपाडियाले तुरुन्त राजेश खन्नाले विवाह गरिन् र फिल्मबाट बिदा भइन् तर राजेश खन्नासँग अलग भएर सन् १९८४ मा जख्मी शेरमार्फत् कमब्याक गरिन् । सागर, काश, रामलखन, रुदाली यस्ता फिल्ममा अभिनय गरिन् ।

तर यहाँ ८० को दशकदेखि नयाँ शताब्दिको पहिलो दशक केही अचम्मको दशक रह्यो जहाँ फिल्मी हिरोइनको करियर उनीहरुको विवाह र आमा बन्ने ग्राफसँगै घटबढ हुन्थ्यो ।

यो त्यो समय पनि थियो जहाँ एंग्री यंग म्यानको जमानामा या त नायकको अगाडि चर्चा खासै हुँदैनथ्यो वा धेरै फिल्ममा हिरोइन रोमान्समा मात्रै सिमित रहन्थे ।

नितू कपुरले पनि ऋषि कपुरसँग विवाहपछि फिल्म छोडिदिइन् । वास्तवमा, करिष्मा वा करिना कपुर अघिसम्म त यतिसम्म भनिन्थ्यो कि – विवाहपछि कपुर खानदानका छोरीहरु फिल्ममा काम गर्दैनन् चाहे त्यो नितू होउन् वा बबिता  ।

वरिष्ठ पत्रकार भारती दुबे भन्छिन्, ‘मौसम चटर्जीकै उदाहरण हेरौँ न । उनले विवाहपछि पनि फिल्ममा अभिनय गरिन् । तर त्यसपछि एक समय यस्तो पनि आयो जब अभिनेत्रीका लागि विवाह गर्नु र करियर बनाउनु सम्भव थिएन । त्यतिबेला फिल्मको एउटा यस्तो माध्यम थियो जसमा मानिस हिरोइनबारे एक विशेष खालको कल्पना गर्दथे । त्यतिबेला यदि कोही नायिकाले करियरका बेला विवाह गरिहाल्छन् भने पनि नायिकाले ५ देखि १० वर्षसम्म आफ्नो विवाहलाई गोप्य राख्दथे ।’

‘त्यसैले निर्माताले यस्ता अभिनेत्रीलाई फिल्ममा साइन गराउन चाहँदैनथे र सन् २००० सम्म यस्तै चलन चल्यो । केही नायिका फिल्ममा आइहाले पनि उनीहरुले सधैँ सकारात्मक प्रतिक्रिया पाउँदैनथे । माधुरी दिक्षित पनि फर्किइन् तर सुरुवातमा उनले खासै राम्रो प्रतिक्रिया पाइनन् ।’

तर नयाँ जमानाका हिरोइनले यी पुराना स्क्रिप्टका स्क्रिनप्लाई क्रमशः परिवर्तन गरेका छन् ।

 


 

आज यदि विकी कौशल र रणवीर सिंहजस्ता शीर्ष हिरो विवाहपछि करियरलाई अघि बढाइरहेका छन् भने कट्रिना र दीपिकाले पनि त्यस्तै गरिरहेका छन् ।

प्रियंका चोपडाले पनि करियरको यस्तो समयमा विवाह गरेकी थिइन् जब उनी बलिउड मात्रै होइन हलिउडसम्म पुगेकी थिइन् ।

बीबीसी मराठीसँग कुरा गर्दै भारती दुबे भन्छिन्, ‘अब समाज फेरिएको छ, विवाहको घोषणा खुल्ला रुपमा गरिँदै छन् । दीपिका पादुकोणको हालैको फिल्म गहराइयांलाई हेर्ने हो भने तपाईंले बुझ्नुहुन्छ कि विवाहपछि इन्टिमेट सीन दिनु कुनै ठूलो कुरा होइन । आलियाको कुरा गर्ने हो भने आलिया र उनका प्रशंसक उनको विवाहबाट प्रभावित हुँदैनन् । उल्टै, यो कुरा उनीहरुका लागि खुसीको कुरा हो ।’

यसअघि सन् २०१२ मा करिना कपुरले विवाह गरेकी थिइन् र उनी लगातार काम गरिरहेकी छिन् र आमा बनेपछि पनि उनको यो यात्रा अघि बढिरहेको छ । आज उनका भाइ रणबीर कपुरले विवाह गरिरहेका छन्, उनकी श्रीमती आलिया भट्ट सफलताको शिखरमा बसेकी छिन् ।

यद्यपि, विवाहपछि कसैले आफ्नो करियरलाई कस्तो दिशा दिने भन्ने नितान्त नीजि निर्णय हो । तर आफ्नो मर्जीले फिल्म नगर्नु र विवाहपछि फिल्म नपाउनुमा आकाश–पातालको फरक छ ।

हुन त आलिया भट्टको विवाह कोही अन्य युवतीको विवाहजस्तै एउटा कार्यक्रम मात्रै हो र यसमा विश्लेषण गर्नुपर्छ भन्ने कुरा छैन ।

तर नचाहँदा नचाहँदै पनि, हाइवे, राजी र गंगुबाईजस्ता आफ्नो लिकबाट हटेर गरिएको अभिनयजस्तै आलिया भट्ट ग्ल्यामर वर्ल्ड र महिलासँग सम्बन्धित स्टेरियोटाइपलाई आफ्नै तरिकाले हटाइरहेकी त छिन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप