मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक यस्ता अभिनेता जसले असाध्यै सुन्दर हुनुको घाटा व्यवहोर्नुपर्‍यो

शुक्रबार, ०४ चैत २०७८, १८ : ०४
शुक्रबार, ०४ चैत २०७८

शशि कपुर आफ्नो जमानामा भारतीय फिल्म जगतका सबैभन्दा ह्यान्डसम फिल्म अभिनेता थिए ।

शर्मिला टेगोरलाई शशि कपुर ‘कश्मिर की कला’ को सेटमा आफ्ना भाइ शम्मी कपुरलाई भेट्न आउँदाको क्षण अहिले पनि निकै राम्रोसँग स्मरण छ । यसबारे उनी भन्छिन्, ‘म त्यतिबेला १८ वर्षकी थिएँ । मैले आफूले आफैंलाई भनेकी थिएँ, ‘ओ माई गड दिस इज शशि कपुर’ । म उनलाई हेरेको हेर्यै भएँ । मैले काम नै गर्न सकिरहेकी थिइनँ र निर्देशक शक्ति सामन्तले बाध्य भएर शशि कपुरलाई सेटबाट जान भन्नुपरेको थियो ।’

शशि कपुरको सुन्दरतामा एक पटक चर्चित इटालियन अभिनेत्री जिना लोलोब्रिजिडा पनि मोहित भएकी थिइन् ।

चर्चित फिल्म निर्देशक इस्माइल मर्चेन्ट आफ्नो आत्मकथा ‘प्यासेज टु इन्डिया’ मा लेख्छन्, ‘शशि कपुरको फिल्म ‘शेक्सपियरवाला’ बर्लिन फिल्म समारोहमा देखाइँदै थियो । शशि कपुर पनि त्यहाँ पुगेका थिए । एकदिन उनी, उनकी हिरोइन मधुर जाफरी र जिना लोलोब्रिजिडा संयोगवश एउटै लिफ्टमा चढे । शशिलाई देख्ने बित्तिकै जिनालाई पहिलो भेटमै माया बस्यो ।’

इस्माइल मर्चेन्ट लेख्छन्, ‘त्यसको भोलिपल्ट उनले​ शशिलाई गुलाबको फूलको एउटा गुच्छा पठाइन् । तर उनलाई शशिको नाम मधुर हो भन्ने लाग्यो त्यसैले त्यो फूल मधुर जाफरी भएठाउँ पुग्यो । जिनालाई आफ्नो प्रणय निवेदन अस्वीकार गरेको हो कि भन्ने शंका लाग्यो त्यसैले समारोहको अन्तिम दिन उनले शशी कपुरलाई ‘तपाईंले मेरो फूलको जवाफ नै दिनुभएन’ भनेर सोधिन् । त्यसपछि मात्रै थाहा भयो कि जिनाको फूलको गुच्छा शशिसम्म पुग्न सकेकै थिएन । यो गलत बुझाईका कारण यति राम्रो मौका हातबाट उम्कियो भनेर शशि कपुरलाई असाध्यै नराम्रो लाग्यो ।’

फारुख इन्जिनियरका कारण अनुहार बेचेः

शशि कपुर र भारतका चर्चित विकेटकिपर रहेका फारुख इन्जिनियर मुम्बईको डन बस्को स्कूलमा एउटै कक्षामा पढ्ने गर्दथे । एकपटक उनी आफ्नो नजिकै बसेका फारुखसँग कुरा गरिरहेका बेला उनका शिक्षकले काठको डस्टरले शशि कपुरको मुखमा ताकेर हिर्काए ।

इन्जिनियर भन्छन्, ‘त्यो डस्टर शशिको आँखामा लाग्थ्यो तर उनको अनुहारको एक इन्च अगाडि बाटै त्यो डस्टर समातेँ । शशिको अनुहार असाध्यै सुन्दर थियो । म उनीसँग ठट्टा गर्दै भन्थेँ कि ‘मैले त्यसदिन यदि त्यो डस्टर नसमातेको भए तिमीले डाँकुको भूमिका मात्रै पाउने थियौ ।’

शशि कपुरकी साली फेलिसिटी केन्डलले आफ्नो आत्मकथा ‘ह्वाइट कार्गो’ मा लेख्छिन्, ‘शशि कपुरभन्दा बढी फ्लर्ट गर्ने व्यक्ति मैले आफ्नो जीवनमै देखेकी छैन । यो मामिलामा उनले कसैलाई पनि छोड्दैनथे, काठको लट्ठीलाई पनि बाँकी राख्दैनथे । उनी असाध्यै दुब्ला व्यक्ति थिए तर उनका आँखा निकै ठूल्ठूला थिए । उनको लामो कपालले धेरैलाई प्रेममा पर्न बाध्य बनाउँथ्यो । उनको सेतो दाँत र डिम्पल पर्ने मुस्कानको त के कुरा गर्नु ! त्यसमाथि उनी अत्यधिक सफल थिए ।’

शबाना आजमीलाई लाग्छ कि शशि कपुरलाई उनको सुन्दर अनुहारका कारण क्षती भएको छ ।

उनी भन्छिन्, ‘वास्तवमा यी असाधारण आकर्षक व्यक्तिलाई देखेर मानिसहरुले बिर्सन्थे कि उनी कति उत्कृष्ट अभिनेता थिए ।’

श्याम बेनेगलले शशि कपुरको जुनुन र कलयुग निर्देशन गरेका थिए । उनी भन्छन्, ‘शशि असाधारण अभिनेता थिए तर उनले अमिताभ बच्चनले जस्तो फिल्म पाउन सकेनन् जसका कारण उनले स्टार र अभिनेता दुबै उपाधि पाउन सकेनन् । उनलाई सधैँ एउटा रोमान्टिक स्टारको रुपमा देखाइयो । मानिसको नजर सधैँ उनको अनुहारमा नै केन्द्रीत हुन्थ्यो । भारतीय फिल्म जगतमा उजत्तिका सुन्दर अभिनेता त्यतिबेला कोही पनि थिएनन् । फलस्वरुप अभिनय ब्याकग्राउन्डमा गयो र उनी सुपर हिरो बन्न सकेनन् ।’

चर्चित निर्देशक कुमार शाहनीले पनि भनेका थिए, ‘भारतीय निर्देशकले शशी कपुरको पूर्ण रुपमा फाइदा उठाएनन् । शशि कपुरमा पनि त्यो किलर इन्स्टिङ्क पनि थिएन जसले कुनै अभिनेतालाई शीर्ष स्थानमा पुर्याउँछ ।’

जेनिफरसँग विवाहः

शशि कपुरले सन् १९५३ देखि १९६० सम्म आफ्ना पिता पृथ्वीराज कपुरसँग पृथ्वी थिएटरमा काम गरे । यतिबेला उनको भेट जेनिफर केन्डलसँग भयो । जेनिफर उनीभन्दा चार वर्ष जेठी थिइन् । जेनिफरका पिता ज्योफरी पनि यो सम्बन्धको पक्षमा थिएनन् ।

शशिको जेनिफरसँग विवाहमा महत्वपूर्ण भूमिका निभाइन् शशि कपुरकी भाउजु र शम्मी कपुरकी श्रीमती गीता बालीले ।

त्यसदिन जेनिफर हैदराबादमा थिइन् र शशि कपुर बंबईमा । शम्मी शशिको मलिन अनुहार देखेपछि ‘किन झोक्रिएको ? याद आइरहेको छ ?’ भनेर सय रुपैयाँको नोट निकालेर उनलाई दिन्थे । त्यतिबेला हैदराबादको हवाई टिकट ७० भारु पर्दथ्यो ।

शशिले तुरुन्तै त्यो पैसाले हैदराबाद जाने टिकट खरिद गर्दथे । शम्मी कपुर र गीता बालीले नै जेनिफरलाई बंबई ल्याएर आफ्नो आमाबुवालाई भेटाउन शशिलाई प्रोत्साहित गरे ।

शशि कपुर आफ्नो किताब पृथ्वीवालाज’ मा लेख्छन्, ‘मैले जेनिफरलाई आफ्ना आमाबुवा भएठाउँ नलगिकन शम्मी कपुर गीता बाली भएठाउँ लिएर गएा । उनीहरुले हामीलाई आफ्नो कार र पैसा दिन्थे ताकि हामी कतै ड्राइभमा जान सकौँ र केही खानेकुरा खान सकौँ । पछि मैले भनेपछि शम्मीले हाम्रो बारे हाम्रा आमा–बुवासँग कुरा गरे । उनीहरुले फकाएपछि नै उहाँहरुले निकै मुश्किलले हाम्रो सम्बन्धलाई स्विकार गर्नुभयो ।’

जुन दिन जेनिफरसँग शशि कपुरको विवाह हुनु थियो, उनका पिता पृथ्वीराज कपुर जयपुरमा मुगल ए आजमको क्लाइमेक्सको सुटिङ गरिरहेका थिए ।

फिल्मका निर्देशक के. आसिफले उनका लागि एउटा चार्टर डकोटा विमानको व्यवस्था गरे । विवाह सम्पन्न भएलगत्तै पृथ्वीराज त्यसै विमानबाट जयपुर फर्किए । त्यतिबेला जयपुरमा नाइट ल्यान्डिङ सुविधा थिएन । विमान जयपुरमा अवतरण भएपछि पृथ्वीराज हवाई अड्डाबाट सिधै सुटिङस्थल पुगेका थिए ।

जेनिफर र शशि कपुरले सँगसँगै राख्थे​ करवाचौथको ब्रतः

जेनिफर कपुर नास्तिक थिइन् तर उनी आफ्नो सासु ससुरालाई खुसी बनाउनका लागि सबै प्रकारको ब्रत राख्ने गर्थिन् । उनीहरुको बच्चामा पनि भारतीय संस्कार आओस् भन्नेकुरामा उनको सँधै कोसिस हुन्थ्यो ।

मधु जैन आफ्नो किताब द फर्ट फ्यामिली आफ इन्डियन सिनेमा, कपुर्स मा लेख्छिन्, ‘जेनिफरले आफ्नी सासुले झैँ करवाचौथको ब्रत राख्थिन् । रोचक कुरा यो छ कि पृथ्वीराज कपुर र शशि कपुर पनि आफ्ना श्रीमतीका लागि करवाचौथको ब्रत बस्दथे । जेनिफर आफ्नी सासु बाँचुञ्जेल यो ब्रत बसिन् ।’

अन्तिम समयमा रोगले घेर्योः

सन् १९८४ मा जेनिफर कपुरको निधन पछि शशि कपुरको बाँच्ने इच्छा नै रहेन । त्यसपछि उनको तौल बढ्न सुरु भयो, जुन कहिल्यै रोकिएन ।

केही वर्षपछि उनी सूमो पहलवानजस्ता देख्न थाले । उनी घरबाहिर निस्कन बन्द गरे । अत्यधिक तौल भएका कारण उनको घुँडामा समस्या देखियो ।

त्यति नै बेला जब उनकी भाउजु निला देवीले उनलाई फोन गर्दा शशि कपुरले उनलाई सोधे, ‘अब म कसका लागि बाँच्ने ?’

उनका पुराना साथी र निर्देशक जेम्स आइवरीले भने, ‘मोटो हुनु शशि कपुरका लागि शोक मनाउने एउटा तरिका थियो ।’

आफ्नो अन्तिम दिनमा शशिको स्मरण शक्ति पनि गुम्यो । सिमी गरेवालले एउटा समारोहमा उनलाई ह्विल चेयरमा बसिरहेको देखेपछि उनलाई भेट्न गइन् । शशिकी छोरी सञ्जनाले उनलाई ‘बुवाको शरीरको एउटा भागमा पक्षघात भइसकेको र उनको हृदयघात पनि भइसकेकोले यदि उहाँले चिन्न सक्नुभएन भने नराम्रो नमान्नुहोस्’ भनेर सम्झाइन् ।

सिमी यति भन्दा पनि उनको अगाडि गइन् । उनी अगाडि झुकिन् र उनले उनको थाकेको अनुहारलाई हेरिन् । शशि कपुरले माथि हेरे र उनले सिमि गरेवाललाई भने, ‘हेलो सिमी ।’ सिमीले आँसु भरिएको आँखाले शशि कपुरलाई अँगालो हालिन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप