बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन ब्रिफिङ : धर्मनिरपेक्षतामाथि प्रश्न, ज्ञानेन्द्रलाई पार्टी खोल्न सुझाव

शुक्रबार, २४ मङ्सिर २०७८, १९ : ३६
शुक्रबार, २४ मङ्सिर २०७८

काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनको शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ । चार दिनसम्म चल्ने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे । काँग्रेस महाधिवेशनको शुभकामना दिन स्वदेशसहित विदेशी राजनीतिक दलका नेताहरू समेत उपस्थित भएका थिए ।

महाधिवेशन समारोहलाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको दाबी गरे । देउवाले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन् । अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ ।’ उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए । उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’  उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे ।

त्यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  काँग्रेसले कसैका एजेण्डा बोक्न जरुरी नभएको बताए । उनले  काँग्रेसकै एजेण्डा सही ढङ्गले अघि बढाउन सके प्रतिपक्षसँग प्रतिस्पर्धा गर्न सक्ने भन्दै पार्टीभित्र जहिले पनि एकताका लागि आफूले प्रयास गरेको भन्दै अन्याय सहेर पनि एकताबद्ध राख्ने कोसिस गरिरहेको दाबी गरे ।

‘मैले अन्याय सहेर पनि पार्टीलाई एकताबद्ध राख्नका लागि, एक बनाएर अघि बढाउनका लागि मैले पनि योगदान दिएको छु’, पौडेलको भनाइ छ । त्यस्तै उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन रहेको पनि बताए ।

‘अहिले भर्खर चितवनमा अधिवेशन सम्पन्न गरेको, प्रतिपक्ष दलको अवस्था अहिले पनि गाउँमा जे देखिरहेका छौ जुन किसिमले विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हामीलाई त्यो स्तरको, पार्टी काँग्रेसलाई सक्षम बनाउन जरुरी छ’, पौडेलको भनाइ छ ।

उपसभापति विमलेन्द्र निधीले काँग्रेस उपसभापति विमलेन्द्र निधिले युवा पुस्तालाई देशको राजनीतिमा प्रक्रियामा सहभागिता गराउनुपर्ने भन्दै त्यो सहभागिता भनेको झोला बोक्ने मात्रै नभएको बताए । ‘त्यो भनेको झोला बोक्ने मात्रै होइन, नेतृत्व विकासका लागि सहजताको भूमिका खेल्ने हो,’ उनले भने, ‘१४ औं महाधिवेशनले यो कार्यभार पूरा गर्नुपर्छ भन्ने लागेको छ ।’

उनले सकेसम्म सर्वसम्मत रूपबाट नेतृत्व चयन गर्नु राम्रो हुने पनि बताए । ‘सकिन्छ भने सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नु राम्रो हो, नभए एउटा प्रतिस्पर्धी म पनि हुँ, मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर सबल नेतृत्व निस्क्यौँ,’ उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपालमा एक मात्रै हो, त्यो भनेको काँग्रेसमात्रै हो ।’

कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौलाले आफ्नोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मा प्रदीप पौडेललाई दिएको भन्दै पौडेलको प्रचार गर्न भ्याए । उनले भने, ‘मेरो थप कुरा भोलि हुन्छ । मैले आफ्नो कुरा राख्छु । हिजो पनि पत्रकार सम्मेलनका क्रममा मेरा केही कुरा राखेको थिएँ । मैले प्रदीप पौडेलजस्ता युवालाई अघि बढाएको भनेको थिएँ । मेरो त्यही स्पिरिट हो । जो युवा मसँग रहिरहन्छ, त्यस्तै प्रकारको साथी अघि बढिरहन्छन् । तिनीहरूको साथमा म रहिरहन्छु ।’

महामन्त्री शशांक कोइरालाले  देश धर्म निरपेक्ष हुन नसक्ने बताए । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको भन्दै भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन ।  न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति देउवालाई देशको चिन्ता गर्न आग्रह गरे । साथै उनले कुनै कुनै पार्टीलाई काँग्रेसको औँला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको भन्दै एमाले राष्ट्रियता र विकासका मुद्दामा दलहरूसँग सहकार्य गर्न तयार रहेको बताए । ओलीले भने, ‘राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौँ ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरङ्कुशता र तानाशाही जन्माउने षडयन्त्र भइरहेको भन्दै त्यसतर्फ सचेत रहनुपर्नेमा जोड दिए । उनले नेताहरूमाथि जनताको दृष्टिकोण राम्रो नभएको भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाइप्रति लक्षित गर्दै  उनले भने, ‘यहाँ निरङ्कुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी नै आउने गर्छ । त्यसकारण हामी सतर्क हुन जरुरी छ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि लिङदेनलाई पूर्व राजाका प्रतिनिधिका रूपमा लिँदै पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिए । ‘राजाले कि राजनीतिक पार्टी खोल्नुस्, कि व्यापार गर्नुस्’नेता नेपालले राजतन्त्र फर्किन्छ भन्ने सपना नदेख्न चेतावनी दिए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका महासचिव सीपी मैनाली, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप