बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आन्तरिक हवाई उडान खुल्यो, कारोनाबाट ३३ जनाको मृत्यु (भिडियो समाचार)

सरकारविरोधी मोर्चा : सडकमा पुत्ला, संसद्मा आक्रोश
बिहीबार, १७ असार २०७८, २२ : १९
बिहीबार, १७ असार २०७८


आज २०७८ असार १६ गते बिहीबार । आज दिनभरका मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजदेखि माथिल्लो संसद् राष्ट्रियसभाको आठौँ अधिवेशन सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संसद् विघटनको विरोधमा सर्वोच्च अदालतमा बहस चलिरहेकै बेला आजदेखि राष्ट्रियसभामा पनि विपक्षीहरूको मोर्चा खुलेको छ । बिहीबार बैठक प्रारम्भ भएकै दिनदेखि राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको तीव्र आलोचना सुरु भएको छ ।

बिहीबारको अर्को मुख्य घटनाक्रम नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटीको बैठक हो । केपी ओलीद्वारा शुक्रवार बोलाइएको बैठक अवैधानिक भएको भन्दै माधव समूहले त्यसमा सहभागी नहुने निर्णय गरेको छ ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित परेको रिटमा बिहीबार पनि बहस जारी रह्यो ।

काठमाडौँमा बिहीबार विपक्षी दलका युवा–विद्यार्थीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए ।

१. आन्तरिक हवाई उडान सुरु

कोभिड–१९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि सुरु भएको छ । वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबारदेखि आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई काठमाडौँ आउन  र काठमाडौँ बाहिर जान सहज भएको छ ।

उडान खुलेको पहिलो दिन विमानस्थलमा भिडभाड देखिएको छ । हवाई यात्रा मार्फत विभिन्न ठाउँबाट काठमाडौँ उत्रिएका यात्रुहरूले फेसशिल्ड, मास्क र स्यानिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिएका छन् ।

२. कोरोना अपडेट : ३३ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २ हजार ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २ हजार ७३० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा निको हुनेको सङ्ख्या ४ हजार १७ रहेको छ ।

३. राष्ट्रियसभाको अधिवशेन सुरु, सरकारको विरोध

आजदेखि राष्ट्रिय सभाको बर्षे अधिवेशन सुरु भएको छ । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेस गरेको छ ।

राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिकाप्रति प्रश्न उठाए । माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद् विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजेको बताए । शर्माले प्रधानमन्त्रीले अब आत्मालोचना गर्नुपर्ने बताए । बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले सरकारले आफूलाई खोजी खोजी कोरोनाको खोप लगाइदिएको भन्दै ओली सरकारको प्रशंसा गरे । उनले यो पटक कोसीमा सरकारले राम्रो काम गरेका कारण बाढी नआएको बताए ।

 

 

४. बालुवाटार नजाने माधव समूहको निर्णय

बिहीबार बसेको नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको छ । ओली पक्षले शुक्रवार बोलाएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने माधव पक्षले सर्वसम्मत निर्णय गरेको हो । केपी ओली पक्षले शुक्रवार बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी नेताले बताए । बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए ।

 

५. संवैधानिक इजलासमा बहस जारी

 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बिहीबार दिनभर प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।

बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टङ्क दुलाल र रविनारायण खनालले बहस गरे ।

बहसका क्रममा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनी राष्ट्रपतिलाई परमादेश जारी गर्न नमिल्ने जिकिर गरे ।

यस क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र ? भनेर प्रश्न गरे ।

 


 

६. राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

विपक्षी पाँच दलको गठबन्धन निकट विद्यार्थी बिहीबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीले पुत्ला दहन गरेका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

७. नेप्सेमा सुधार

केही दिनयता लगातारको गिरावटपछि बिहीबार नेप्सेमा १९ अङ्क माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १९.१२ अङ्कले बढेर २ हजार ८४३ विन्दुमा उक्लिएको हो ।  आज ‘क’ वर्गका ठुला कम्पनीहरूको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अङ्कले बढेर ५२८.७१ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज निर्जीवन बिमा बाहेकका सबैजसो समूहहरूमा सुधार देखिएको छ ।

 

 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप