बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक निर्णय : अद्यावधिक नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित

शनिबार, ३१ जेठ २०७७, १७ : ५७
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’  दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । 

शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो ।   संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । 

जसअनुसार संविधान संशोधनका लागि भएकाे मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । 

संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । 

यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराइएको थियो ।


प्रतिनिधिसभाको नियमावलियको नियम १ सय ३७ को उपनियम ९ मा “संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ ।”

त्यसैगरी उपनियमा १० “संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजनद्वारा हुनेछ ।”

मतविभाजनमा जानु अघि ५ मिनेट सम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराईएको थियो ।  २७५ सदस्सीय संसदमा मतदानबाट २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएकाे हाे ।

नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । 

नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप