बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले राष्ट्रिय अखण्डतामा एकजुट हुन आग्रह गरेपछि सरिता गिरी बैठक छाडेर हिँडिन्

शनिबार, ३१ जेठ २०७७, १४ : १४
शनिबार, ३१ जेठ २०७७

काठमाडौं –समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसद सचिवालयमा पेश गरेको संशोधन फिर्ता नलिने अडान पार्टी संसदीय दलको बैठकमा लिएको पाइएको छ । 

आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले संशोधन  फिर्ता लिन आग्रह गरेपछि उनले फिर्ता नलिने अडान दोहोर्याएको सांसद प्रदीप यादवले बताए । 

संविधानको अनुसूची ३ को बारेमा संसदमा छलफल भयो भने मात्र फिर्ता लिने नत्र नलिने उनले बैठकमा कुरा राखेकी थिइन् ।

लगत्तै नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि प्रतिनिधिसभामा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमा मतदान गर्न संसदीय दलले ह्रीप जारी गरेपछि सरिता गिरी बैठक छाडेर हिँडेकी थिइन् । उनी आफ्नो संशोधनको बारेमा संसदमै जवाफ दिने भन्दै बैठकबाट बाहिरिएकी थिइन् ।

तर, बैठकमा सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गरिएन भने पार्टीप्रति नराम्रो सन्देश जाने भन्दै राष्ट्रिय अखण्डताका लागि एकजुट भएर मतदान गर्न उपेन्द्र यादवले बैठकमा आग्रह गरेका थिए । उनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा पार्टीलाई एकजुट हुन आह्वान गर्दा सांसद सरिता गिरीले फेरि पनि संविधानको अनुसूची ३ मा बहसको माग गरेकी थिइन् । 

सरिता गिरी उठेर गएपछि समाजवादी पार्टी संसदीय दलले सभामुखलाई पत्र लेखेर सांसद गिरीले संसद सचिवालयमा पेस गरेको विधेयक अस्वीकृत गर्न आग्रह गरेको थियो । सोहीअनुसार उनको संशोधन प्रस्ताव अस्वीकृत भइसकेको छ।   

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप