बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले माफी माग्नुपर्छः उपेन्द्र यादव

शनिबार, ३१ जेठ २०७७, १५ : २२
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् । 

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले माफी माग्नुपर्ने बताए । सुगौली सन्धिले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख भएको उनले बताए । 

उनले भने, ‘‘नेपाल इष्ट इण्डीया कम्पनी र नेपालबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपर्यो । नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डीया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो । काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु हुनुहुन्थ्यो, अहिलेका प्रधानमन्त्री पनि हुनुहुन्छ । महाकाली नदीबाट पश्चिमका भागको दावी नेपालले छोडेको हो सुगौली सन्धिमा तर महाकाली नदिको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ । महाकाली नदीको अधिकांश भाग दुई मुलुको सीमा नदी भएको स्वीकार गर्दै भनेर लेखिएको छ । सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने कुरा उल्लेख छ । जवाफ दिनुप¥यो कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरुले जवाफ दिनुप¥यो । यसका लागि हामी सबैले माफी किन नमाग्ने ? राष्ट्रवादीको नारा हामी दिन्छौँ, मधेशीलाइ गाली गर्छौँ, यिनीहरु भारतीय हुन् भनेर भन्छौ भनेर माफी माग्नुपर्यो नि ।’’

उनले महाकाली सन्धि गर्दा मुहानको टुंगो किन लगाइन भन्दै प्रश्न समेत गरे ।  नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भएको उल्लेख गर्दै उनले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने बताए । 

कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उनले सन् १९६५ मा पनि सन्धि भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उनले बताए ।  

राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उनले बताए । नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप