बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

बुधबार, १९ वैशाख २०७५, १६ : ३८
बुधबार, १९ वैशाख २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वैशाख २८ गतेदेखि दुई दिन नेपालको भ्रमण गर्ने तय भएको छ । 

सरकार भित्रभित्रै त्यसको तयारीमा जुटेको छ तर नेपाली जनतामा त्यसको कुनै उत्साह छैन ।

बरु, नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीको खुलेर बिरोध हुन थालेको छ । 

दुई नम्बर प्रदेशबाहेक अरु कुनै ठाउँमा मोदी भ्रमणलाई स्वागत गर्न आतुर देखिएको छैन ।

समाजिक सञ्जालदेखि लिएर लेख रचनामार्फत मोदीको नेपाल भ्रमणको विरोध भइरहेको छ ।

तीन वर्षअघि नेपालमा लागेको नाकाबन्दीको दोषी मोदीलाई मान्दै नेपालमा त्यसको विरोध शुरु भएको हो । 

वरिष्ठ पत्रकारदेखि लिएर लेखक, नागरिक समाजका अगुवा, बुद्धिजिवी, वकिल, साहित्यकार, विद्यार्थी, प्रध्यापक, शिक्षक हरेक तह-तप्काका व्यक्तिले मोदी भ्रमणको विरोध गरिरहेका छन् ।

केहीले नाकाबन्दी लगाएको कारण मोदीले माफी माग्नु पर्ने भनिरहेका छन् भने केहीले नेपालले नाकाबन्दी गरेर मोदीलाई उतै रोक्नुपर्ने भन्दै अक्रोश पोखिरहेका छन् ।

केहीले कालो झण्डा देखाउने तयारी गरेको पनि बताइरहेका छन् ।

बानेश्वरमा आन्दोलन गर्ने कुराहरु पनि उठिरहेको छ ।

नाकाबन्दीका समयमा नेपाली जनताले भोगेका पीडाका तस्वीरहरु ट्वीटर तथा फेसबुकमा राखेर मोदीको विरोध भइरहेको छ ।

मोदीको यसरी खुलेर विरोध हुँदा सरकारी स्तरबाट यसको कुनै प्रतिकृया आएको छैन । 

बीबसी नेपाली सेवाले मे १ तारिख अर्थात् वैशाख १८ गते राती साढे नौ बजे आफ्नो आधिकारी ट्वीटरमा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्त्यमा जनकपुरबाट आफ्नो तेस्रो नेपाल भ्रमण शुरु गर्न लागेको तपाईलाई कस्तो लागेको छ ? कृपया आफ्नो विचार राख्नुस्’ भनेर आफ्ना पाठकहरुसँग प्रतिक्रिया मागेको छ ।

त्यसमा बुधबार डेढ बजे यो समाचार तयार पार्दासम्म ९६ जनाले कमेन्ट गरेका छन् ।

जसमा दुई–तीनजना बाहेक सबैले मोदी भ्रमणको विरोध गरेका छन् । 

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

अन्तर्राष्ट्रिय मिडियासँग जोडिएका तथा नेपालमा लामो समयसम्म अन्तर्राष्ट्रिय बीटमा काम गरेका सन्तोष घिमिरेले लेखेका छन्,‘तीन वर्षअघि जनताले भाेगेको माेदी सरकारको चर्को नाकाबन्दीको पीडामा नुन्चुक हाल्ने गरी सरकारी तहबाट हुन लागेको यो सरकारी अभिनन्दन आम नेपाली जनतालाई मान्य हुनै सक्दैन ।’

त्यही सुमन ढकाल लेख्छन्, ‘मित्र राष्ट्रको भ्रमण गर्नु राम्रो हो तर मोदीले नाकाबन्दी गर्नु गल्ती थियो भनेर आत्मालोचना र प्रयाश्चित गरेर आउनुपर्छ । अनि यस्ता अमानवीय व्यवहार अब हुँदैनन् भन्ने विश्वास दिलाएर आउनुपर्छ ।’

लेखक जुगल भुर्तेलले पनि आफ्नो ट्वीटरमा एउटा फोटो राखेर यस्तो लेखेका छन्,‘म अकिञ्चनका तर्फबाट नेपाल भ्रमणमा पाल्नु हुने महान गौरक्षक ‘माननीय श्री नरेन्द्र मोदीज्यूलाई नागरिक अभिनन्दनमा ‘सप्रेम’ उपहार दिन यो गौमुत्र तयार गरियो ।’

अर्का लेखक रमेश कोइरालाले पनि आफ्नो ट्वीटरमा यस्तो लेखेका छन्, ‘अकिल बहादुरहरु भन्नुहुन्छ, ‘नाकाबन्दी बिर्सन हुन्न तर सम्बन्ध पनि सुधार्नुछ त्यसैले मोदी–भ्रमणको विरोध गर्नुहुन्न ।’ अनि सर, ईख नराख्ने हो भने त्यो सम्झिने चै के का लागि ?’ अर्का पत्रकार रमेश कँडेल लेख्छन्–‘आफैले समर्थन गरेको मधेशमा मोदीलाई कति डर गाँठे । जनकपुरमा चाहिँ आफ्नै सुरक्षा दस्ता ल्याउनु परेको छ ।’

यसरी थुप्रै व्यक्तिले भारतीय प्रधानमन्त्री मोदीको विरोध गरेका छन् । 

ट्वीटरमा ‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ट्रेन्ड नै चलाएको छ ।

यसमा हजारौँ ट्वीटर प्रयोगकर्ताहरु जोडिएका छन् ।

यस्तो किन ?

संविधानमा आफ्नो अधिकार सुनिश्चितताका लागि मधेशवादी दलले आन्दोलन गरिरहेको बेला भारतले केही दिनका लागि संविधान निर्माण स्थगित गर्न आग्रह गरेको थियो ।

त्यो आग्रहलाई स्वीकार नगरी तीन ठूला दलले संविधान जारी गरेपछि भारतले रिसाएर नाकाबन्दी लगाएको थियो ।

तर, भारतले यो कुराको पटक–पटक खण्डन गर्दै आएको छ । ‘नाकाबान्दी आफूहरुले नभएर मधेश आन्दोलनका कारण भएको’ उसको तर्क रहेको छ । 

तर, भारतको कारण यो नाकाबन्दी लागेको र दुःख पाएको बुझेका नेपाली जनताले अहिले मोदीले नेपाल भ्रमण गर्न लाग्दा त्यसको विरोध हुन थालेको छ ।

विरोधको कारण सुरक्षा कडा

यसअघि दुई पटक नेपालको भ्रमण गरिसकेका मोदीले नेपाली जनताको वाहवाही लिएका थिए ।

संविधानसभामा नेपाली भाषामा मन्तव्य राख्दा होस् वा वानेश्वर र गौशालामा गाडीबाट ओर्ले नेपाली जनतासँग हात मिलाउँदा होस्, नरेन्द्र मोदीको त्यसबेला निकै प्रशंसा भएको थियो ।

तर, नाकाबन्दीपछि भारतीय प्रधानमन्त्री मादीबारे आम नेपाली जनताको भावनामा १८० डिग्रीको परिवर्तन आएको छ ।

कुनै बेला मोदीलाई स्वागत गर्न आतुर हुने नेपाली जनतामा विरोधका स्वर सुनिन थालेपछि यसपटक  विगतको भन्दा मोदीको सुरक्षा कडा पारिएको छ ।  

उनको सुरक्षा बन्दोबस्त मिलाउनका लागि दिल्लीबाट डीआइजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मी नेपाल आइपुगेको छ । 

अहिले सो टोलीले जनकपुरको सुरक्षा व्यवस्था मिलाउनमा व्यस्त छन् ।

त्यसपछि त्यो टोली मुक्तिनाथ र काठमाडौँको सुरक्षा व्यवस्था तयारीमा लाग्नेछ ।  

थप समाचार

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप