बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मङ्गलबार, १८ वैशाख २०७५, १५ : ०२
मङ्गलबार, १८ वैशाख २०७५

एसके यादव
काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण आउन लागेको विषय ‘हट’ बनेको छ ।

त्यसमा जनकपुर भ्रमण पनि जोडिएकाले भ्रमण झन ‘हट इस्यू’ बनेको छ । 

मोदी भ्रमणको तयारी तीब्र छ ।

वैशाख २८ गते प्रधानमन्त्री नरेन्द्रको मोदीको भ्रमण हुन थालेको छ । 

त्यसअघि उनका कान्छो भाइ प्रल्हाद मोदीले जनकपुरको धार्मिक भ्रमण गरिसकेका छन् । 

जतिवेला प्रल्हाद मोदी जनकपुरमा थिए, त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा दिल्ली थिए ।

जनकपुरमा आयोजित एक धार्मिक कार्यक्रममा भाग लिन आएका प्रल्हाद मोदीसँग त्यति बेला एक पत्रकार सोधेका थिए, ‘तपाईं जनकपुरको भ्रमण गर्नुभयो, तपाईंका दाई अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिल्यै आउनुहुन्छ ।’

त्यसको जवाफमा उनले यसको जवाफ ‘नरेन्द्र मोदीले नै दिने’ छोटो जवाफ दिएका थिए ।

जनकपुर भ्रमण दुई पटक असफल

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो पटक नेपाल भ्रमण हुँदैछ । 

भारतको प्रधानमन्त्री चयन भएको दुई महिनापछि उनले पहिलो पटक नेपालको भ्रमण गरेका थिए । 

२०७२ साउन १८ गते नेपाल भ्रमणमा आएका नरेन्द्र मोदीले त्यतिबेला पनि जनकपुरको भ्रमण गर्ने रुची देखाएका थिए ।

भारतीय दूतावासले मोदीको जनकपुर भ्रमण हुनेवारे जानकी मन्दिरका महन्थलाई जानकारी  दिएको थियो । 

त्यसपछि मोदीको जनकपुर भ्रमणको तयारी पनि शुरु भइसकेको थियो । 

जनकपुरको सरसफाई देखि लिएर ठाउँ ठाउँमा प्रवेशद्धार पनि बनाइएको थियो । 

तर, सुरक्षाको कारण देखाउँदै अन्तिम अवस्थामा मोदीको भ्रमण रद्द भएको थियो ।

त्यतिबेला नै प्रधानमन्त्री मोदीले चार पाँच महिनापछि पुनः नेपाल आउन लागेको र त्यतिबेला अवश्य जनकपुरको भ्रमण गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसपछि सार्कको १८औं सम्मेलनमा भाग लिन उनी पाँच महिनापछि पुनः नेपाल आए । 

२०७१ साउन ९ गते नेपाल आएका मोदीले यसपटक जसरी पनि जनकपुर र लुम्बिनीको भ्रमण गर्ने तयारी गरेका थिए ।

उनी त्यतिबेला पनि भारत विहारको पटनाहुँदै सडककोबाटो जनकपुर जाने तयारीमा थिए । त्यसका लागि भारत सुरसण्डमा हेलिकप्टर ओराल्ने सम्पूर्ण तयारी पूरा भइसकेको थियो ।

बाटोघाटो बनाउनेदेखि लिएर घर रंगरोगनसमेत पूरा भइसकेको थियो । 

तर, अन्तिममा आएर जनकपुर भ्रमण रद्द भयो । 

त्यतिबेला मोदीको जनकपुर भ्रमण भारतीय दूतावासमार्फत रद्द भएको दावी सरकारले गरेको थियो ।

भारतीय दूतावासले मोदीको जनकपुर भ्रमण नेपाल सरकारले रद्द गरेको भन्दै दुख मनाउ गरेको थियो ।
तत्कालिन भौतिक योजना मन्त्री विमलेन्द्र निधिले २०७१ मंसिर ४ गते एक विज्ञप्ति जारी गरि मोदीको जनकपुर भ्रमण रद्द भएको जानकारी गराएका थिए ।

सो विज्ञप्तिमा उनले माओवादी केन्द्र र मधेशवादी दलको कारण मोदीको जनकपुर भ्रमण रद्द भएको उल्लेख गरेका थिए ।

भ्रमणको तयारी चलिरहँदा मधेशवादी दल र माओवादी केन्द्रका नेताहरुले मोदीको जनकपुर भ्रमणको तयारीको बारेमा आफूहरुलाई कुनै जानकारी नगराएको तथा केही व्यक्तिले एकलौटी ढंगबाट मोदी भ्रमणको तयारीमा लागेको भनि विरोध जनाएका थिए । 

त्यसका लागि ती दलका केही नेताहरुले जिल्ला प्रशासन कार्यालय धनुषा र भारतीय कन्सुलर कार्यालय वीरगञ्जमा ज्ञापनपत्र पनि बुझाएको निधिले विज्ञप्तिमार्फत आरोप लगाएका थिए ।

मोदी जनकपुरमा जानकी मन्दीरमा पुजा पाठ गर्नुको साथै नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुने तय भएको थियो । विद्यार्थीलाई तीन हजार साइकल पनि बाँड्ने तयारी थियो । तर, अन्त्यमा आएर सबै कार्यक्रम रद्द भयो ।

मोदीले यो तेस्रो पटक जनकपुरको भ्रमणको योजना बनाएका हुन् । त्यसको तयारी तीब्र रुपमा भइरहेको छ । प्रदेश सरकार त्यसको तयारीमा जुटेको छ । सबै तयारी पुरा भएपनि दुई पटक अन्तिम समयमा आएर भ्रमण स्थगित भएको जनकपुरवासी यसपटक पनि ढुक्क छैन । 

मोदी जनकपुर आउन अझै १० दिन बाँकी छ ।

जनकपुर भ्रमण 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमण दुईपटक स्थगित भएपनि यसपटक हुनेमा धेरैजना आशावादी छन् । 

यद्यपी यसअघि भारतका राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च तहका व्यक्तिहरुले जनकपुरको भ्रमण गरिसकेका छन् ।

२०७३ कात्तिक १९ गते तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणमा आएको बेला जनकपुरको भ्रमण गरेका थिए । 

उनी १८ वर्षपछि नेपालको भ्रमण गर्ने पहिलो राष्ट्रपति थिए ।

त्यसअघि पनि एकजना भारतीय प्रधानमन्त्री र तीनजना राष्ट्रपतिहरुको जनकपुर भ्रमण भइसकेको हो ।

भारतका पूर्वराष्ट्रपतिहरु निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर र नेता अटल विहारी बाजपेयीले जनकपुरका भ्रमण गरिसकेका छन् । 

सन् १९७७ जुलाई २५ देखि १९८२ जुलाई २५ सम्म भारतको राष्ट्रपति रहिसकेका निलम संजिवा रेड्डीले जानकी मन्दिरको दर्शन गरिसकेका छन् । 

जनकपुर विमानस्थलमा ओर्लने बित्तिकै उनले आफ्नो जुत्ता खोलेका थिए । र, एयरपोर्टमै जनकपुरको माटो लिई आफ्नो टाउकोमा टिका लगाएको जनकपुरका वरिष्ठ पत्रकार राजेश्वर नेपालीले बताए ।

उनको स्वागतका लागि एयरपोर्टदेखि जानकी मन्दिरसम्म सर्वसाधारणको भिड थियो । जनताको सम्मानमा उनी हात हलाउँदै केही दुरीसम्म पैदल पनि हिडेका थिए । 

जानकी मन्दिरको दर्शनपछि उनले सर्वसाधारन जनतालाई सम्बोधन गर्दै जानकी मन्दिरको छेउमा एउटा धर्मशाला बनाउने घोषणा गरेका थिए र पछि त्यो निर्माण पनि भयो । 

रेडीपछि राष्ट्रपति बनेका ज्ञानी जेल सिंह पनि जानकी मन्दिरको दर्शन गरेका थिए । 

त्यसपछि भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले पनि २०४७ सालमा जनकपुर आइ जानकी मन्दिरको दर्शन गरेका थिए । 

काठमाडौ हुँदै जनकपुर आएका चन्द्रशेखर त्यतिबेला विकासका केही कुरा घोषणा गरेका थिए ।

पत्रकार नेपाली भन्छन्, भर्खर भर्खर प्रजातन्त्र स्थापना भएका हुनाले विकास निर्माण सम्बन्धि केही घोषणा गर्नुभएन । उनलाई जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दन गरेको थियो ।

त्यसैगरि भारतीय लोकसभाको तत्कालिन विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयीले पनि आई जानकी मन्दिरको दर्शन गरेका थिए । २

०४९ सालमा जनकपुर आएका बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा एक रात विताएका थिए । पछि उनी भारतका प्रधानमन्त्री पनि भएका थिए । 

थप समाचार

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप