सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनाव घोषणाको तयारीमा देउवा, फेरि अर्थ मन्त्रालयमा फर्किए जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादीका पूर्वमन्त्रीहरु गुमनाम !
आइतबार, १५ साउन २०७९, २१ : २६
आइतबार, १५ साउन २०७९

आज २०७९ साउन १५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा ‘क्लिन चिट’ पछि फेरि अर्थ मन्त्रालयमा फर्किए जनार्दन शर्मा, खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प, चुनाव घोषणाको तयारीमा देउवा, नेकपा एकीकृत समाजवादीका पूर्वमन्त्रीहरु गुमनाम !, सम्पत्तिका लागि भाइ–बुहारीको हत्या !, ६२० जनामा कोरोना संक्रमण लगायत छन् ।

१. ‘क्लिन चिट’ पछि फेरि अर्थ मन्त्रालयमा फर्किए जनार्दन शर्मा
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा आइतबार फेरि मन्त्रीकै रुपमा अर्थ मन्त्रालयमा फर्किएका छन् । संसदीय विशेष छानबिन समितिले ‘क्लिन चिट’ दिएपछि शर्मालाई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री शर्माले आइतबार नै शपथ र पदभार ग्रहण गरेका छन् ।

२. खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर आइतबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । 

४. चुनाव घोषणाको तयारीमा देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका छन् । आइतबार आफूलाई भेट्न बालुवाटार आएका काँग्रेसका दुई जिल्ला सभापतिलाई उनले चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । 

नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठको मन्त्री पदबाट बहिर्गमन सहज भएन । पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि लामो समय विवाद हुँदा उनीहरूबारे विभिन्न आशंका र अड्कलबाजी पनि भए । मन्त्रीबाट बाहिरिएपछि भने उनीहरूका गतिविधिलाई पनि सञ्चारमाध्यमले पछ्याउन छोडेका छन् । अहिले उनीहरू ‘गुमनाम’ जस्तै बन्न पुगेका छन् ।

विवेकशील साझाको नेतृत्वको दौडमा तीन जना देखिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै सो पार्टी नेतृत्वविहीन छ । मिश्रको विकल्पका रुपमा विवेकशील साझाका सचिवालय सदस्य प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी, पार्टी संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले दाबी प्रस्तुत गरेका हुन् । 

७. सम्पत्तिका लागि भाइ–बुहारीको हत्या !
बाँकेको कोहलपुर नगरपालिका–१४ मा कृष्ण गडरिया र उनकी पत्नी मञ्जुको हत्या आरोपमा कृष्णका दाजुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सम्पत्तिकै लागि उनीहरुको हत्या भएको प्रहरीको निष्कर्ष छ ।

देशभर थप ६२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

९. सेयर बजार उकालो लाग्दै
सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । 

संघीय राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । 

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।

मधेस प्रदेश सरकारविरुद्ध सडकमै सुतेर सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । आइतबार चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाइमा भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप