शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : देशभरका ७८ नर्सिङ कलेज बन्द, बढ्दै कोरोना र हैजाको सङ्क्रमण

मङ्गलबार, २१ असार २०७९, २१ : ०३
मङ्गलबार, २१ असार २०७९

आज २०७९ असार २१ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

रामेछापमा बस दुर्घटना

रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।  प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । 

देशभरका ७८ नर्सिङ कलेज बन्द

 निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

चलचित्र विकास बोर्ड अध्यक्षका १० दाबेदार

चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? 

लोसपालाई किन बोलाएनन् देउवाले 

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सरकारमा सहभागी हुन पटकपटक आह्वान गर्दै आएका छन् । यस विषयमा प्रधानमन्त्री देउवाले महन्थ ठाकुरसँग कयौं पटक कुराकानी गरिसकेका छन् तर अझै सरकारमा लोसपा सहभागी हुन सकेको छैन ।

१९ जनामा हैजा

काठमाडौं उपत्यकामा २१ दिनको अवधिमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानमा हैजा देखिएको हो ।


काँग्रेस पदाधिकारी बैठक

नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।

एकैदिन ९० जनामा देखियाे कोरोनाकाे संक्रमण

पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशको सिफारिस गर्न अल्टिमेटम

आगामी असार मसान्तभित्र जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस नगरे आन्दोलनमा जाने ट्रेड युनियनहरूले घोषणा गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा दर्ता रहेका चारवटा निजामति ट्रेड युनियनले असार मसान्तभित्रै जिल्ला न्यायाधीशको सिफारिस गर्न माग गर्दै न्याय परिषद् र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् । 

बैंकहरुमा बढ्यो निक्षेप

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । 

बाबुराम भट्टराईले सङ्कलन गरेको हस्ताक्षरको के छ औचित्य ?

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद अन्तिम विन्दुमा गएर अड्केको छ । अन्तिम निर्णय लिनका लागि दुवै पक्ष (उपेन्द्र यादव पक्ष र बाबुराम पक्ष) ले छुट्टा छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप