शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा २१ दिन यता १९ जनामा हैजा

मङ्गलबार, २१ असार २०७९, १९ : ५९
मङ्गलबार, २१ असार २०७९

काठमाडौं उपत्यकामा २१ दिनको अवधिमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १७ स्थानमा हैजा देखिएको हो ।

१९ जना संक्रमितमध्ये चार वर्षका बालकदेखि ७४ वर्षका ज्येष्ठ नागरिकसम्म छन् । तीन जना बालबालिकामा हैजा संक्रमण पुष्टि भएको छ । उमेर समूहका आधारमा १५ देखि २४ वर्षसम्म दुई महिला र ५ जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको छ । यस्तै २५ देखि ३४  वर्षसम्मका दुई  महिला र दुई पुरुषमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

४५ देखि ५४ वर्षसम्मका एक महिला र दुई पुरुष हैजाबाट संक्रमित पाइएको छ भने ५५ देखि ६४ वर्षसम्मका एक जना र ६५ देखि ७४  उमेर समूहका एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजा संक्रमितमध्ये ५ जना महिला र १४ जना पुरुष छन् ।

हैजा कहाँ-कहाँ देखियो ?

बागबजार बसोबास गर्ने एकै परिवारका दुई जनामा असार २ गते हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रतिवेदनमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार ३ गते ललितपुर महानगर–३ निवासी एक जना र असार ५ गते काठमाडौंको डिल्लीबजार निवासी एक जनामा संक्रमण पुष्टि भएको थियो ।

असार ६ गते काठमाडौं, बूढानीलकण्ठ– १० कपन निवासी एक जना बिरामीमा हैजा पुष्टि भएको प्रतिवेदन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७ गते काठमाडौं–१६, बोहराटारमा र २० गते कागेश्वरी नगरपालिका–६ का दुई बालकलाई हैजा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हाल हैजाका पाँच जना बिरामी उपचाररत छन् ।

हैजाको पहिलो संक्रमण भेटिएकाको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको ४ नमूनामा कोलिफर्म जीवाणु भेटिएको इडीसीडीले जनाएको छ । इडीसीडीले ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमूनामा इकोलाइ फेला परेको जनाएको छ । यस्तै, विभिन्न निकायसँग संयुक्त रुपमा लिइएको ६२ वटा पानीको नमूना परीक्षण गर्दा ४१ वटा नमुनामा इकोलाइ फेला परेको जनाइएको छ ।

संक्रामकजन्य रोग कोरोनासँगै हैजा पनि फैलिएकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्न अतिआवश्यक रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभाव अधिकारी बताउँछन् । शुद्ध र स्वच्छ खाना खाने र नियमित सरसफाइमा विशेष ध्यान दिन उनको आग्रह छ । इडीसीडीका निर्देशक डा. चुमनलाल दासका अनुसार प्राविधिक टोलीको प्रारम्भिक अनुन्धान प्रतिवेदनमा धारा तथा जारको पानी शुद्धीकरण नगरी प्रयोग गरिएका कारण हैजा देखिएको निष्कर्ष निकालेको थियो ।

स्तनपान नराई बोतलको दुध खुवाइने बच्चाहरु, कुपोषित बालबालिका, दूषित खाना र पानी खाएमा, व्यक्तिगत सरसफाइमा ध्यान नदिएमा, खोप नपाएका बच्चाहरु पखाला तथा हैजाको जोमिखमा पर्नसक्ने विज्ञहरुको भनाइ छ । खान तथा पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खा लागेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ ।

इडीसीडीका निर्देशक डा.दासका अनुसार विभिन्न स्थानमा पानीको नमूना संकलन तथा परीक्षण बुथमार्फत निरन्तर निगरानी गरिएको छ । यस्तै, विद्यालय र जोखिममा रहेका समुदायमा सचेतनामुलक अभियान संचालन भइरहेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप