बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेव गौतम : काँग्रेससँग डर, कम्युनिस्ट एकताको भर

४५ वटा कम्युनिस्ट एकीकरणमा संलग्न छु, फेरि एकतामा जोड
मङ्गलबार, १४ असार २०७९, १७ : ४४
मङ्गलबार, १४ असार २०७९

‘कम्युनिस्ट बाहेक कुनै पनि पार्टीले देशको विकास गर्न सक्दैनन् । यो देशको विकास गर्न कम्युनिस्ट नै चाहिन्छ,’ नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको भनाइ हो यो । मंगलबार नेकपा एकता राष्ट्रिय अभियान पार्टीको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गौतमले कम्युनिस्ट एकता हुनुपर्नेमै अधिकांश समय जोड दिए ।

उनले काँग्रेसको इतिहास हेर्दा पनि सो पार्टीबाट देशको विकास सम्भव नभएको जिकिर गरिरहे । उनले काँग्रेसबाट जनताले सुखी र खुशी हुन नसक्ने उल्लेख गर्दै कम्युनिस्ट एकतामै जनताको अपेक्षा र भरोसा रहेको तर्क गरे । तर कम्युनिस्टहरु धेरै दर्शन पढ्दा विभाजनको अवस्था आउने गरेको तितो यथार्थ कोट्याउँदै उनले आफूले जनताको हित र चाहनालाई मनन् गरेर पुनः कम्युनिस्ट एकतामा जोड दिएको बताए । ‘हिजो एकता गर्न सकियो भने आज सकिन्न भनेर निष्कर्ष निकाल्न सकिन्न,’ उनले भने ।

२०७५ सालमा भएको एमाले र माओवादी केन्द्रबीचको एकता ४६ औं पटकको कम्युनिस्ट एकता भएको उल्लेख गर्दै उनले आफू तीमध्ये ४५ वटा एकीकरणमा संलग्न रहेको धारणा राखे । ‘कम्युनिस्ट पार्टीको ४५ वटा एकीकरणमा म संलग्न छु । यसअघि भएको एकीकरण ४६ औं थियो’, गौतमले भने । उनले नेकपा विभाजन आफूले गरेको नभई त्यसको जिम्मेवार सबैभन्दा बढी केपी ओली र प्रचण्ड नै रहेको बताए । यद्यपि पार्टी विभाजनको एक हिस्सा आफू पनि भएको उनको स्वीकारोक्तिले छ । ‘सचिवालयको म वरिष्ठ सदस्य थिएँ । मैले निष्पक्ष तरिकाले कहिले केपीको त कहिले प्रचण्डको आलोचना गर्थेँ’, उनले भने, ‘मैले जुन आलोचना गर्थेँ । त्यो तथ्यमा आधारित हुन्थ्यो । बाहिरबाट हेर्दा पार्टी छ, भित्रबाट हेर्दा छैनको अवस्थामा थियो र सोहीअनुसारको सुझाव मैले दिने गर्थेँ ।’​

​कम्युनिस्ट आन्दोलनमा जीवनभर लागेकाले आफू अहिले पार्टी जुटाउन लागिपरेको उनको भनाइ थियो । देशभरको मतपरिणाम हेर्ने हो भने काँग्रेस स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्ने अवस्थामा नभएको तर कम्युनिस्टहरु एकजुट नहुँदा उसले त्यो अवसर पाएको गौतमको जिकिर थियो । ‘कम्युनिस्टहरूको काँग्रेसको भन्दा धेरै भोट छ । एक भए कम्युनिस्ट पार्टी आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ उपस्थित हुन सक्छन् । सातै प्रदेशमा कम्युनिस्टले सरकार बनाउन सक्ने अवस्था छ । कम्युनिस्टहरु एकताबद्ध हुन सकेनन् भने काँग्रेस ठूलो पार्टी हुन्छ नै ।’

मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ !

गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गरे । उनले कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उद्घोष पनि गरे । ‘अब देख्दै जानुस्, मैले जुन पार्टीको आज शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ’, उनले भने, ‘लाखौँ व्यक्ति यो पार्टीमा गोलबन्द हुनेछन् । म जुन पार्टीमा जानेछु, त्यो पार्टी त्यस्तै हुनेछ । म जहाँ सामेल भएको छु, इमानदारीका साथ काम गरेको छु ।’

उनले ५ वटा पार्टी आफ्नो साथमा रहेको भन्दै अझै ५–७ वटा पार्टी एकतामा आउने प्रक्रियामा रहेको बताए । उनले काँग्रेसको नेतृत्वमा देश अघि बढ्न नसक्ने जिकिर गर्दै देश विकासका लागि कम्युनिस्ट नै एकजुट हुनुपर्नेमा जोड दिए । पार्टीले यस सम्बन्धमा ३ महिनासम्म आफ्नो प्रयत्नहरु अघि बढाइने बताए ।

काँग्रेससँग डर

गौतमले एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताए । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उनको भनाइ छ । गौतमले भने, ‘एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने या त नेपाली काँग्रेसले बहुमतै ल्याउँछ गठबन्धनबाट । नभएपछि सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा स्थापित हुनेछ ।’

त्यसको ५ वर्षसम्म नेपाली काँग्रेसकै नेतृत्वमा नेपाल र नेपालको संरचनाहरु रहने भन्दै उनले त्यसपछि काँग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने बताए । आफूले यो सबै अनुमान गरेर अहिलेको स्थितिलाई परिवर्तन गर्न कम्युनिस्ट एकताका लागि अभियान थालेको उनले बताए । गौतमले आज जे परिवर्तन भएको छ, त्यसको जग आफूहरुले हालेको दाबी पनि गरेका छन् । एमालेमा हुँदा हरेक संघर्षको मोर्चामा आफू रहेको स्मरण गर्दै गौतमले आफूहरुकै संघर्षको बलमा आजको अवस्थामा आउन सकिएको बताए । पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले जीवनका महत्वपूर्ण समयहरु आन्दोलनमा लागेको तर यो आन्दोलन धरासयी हुने देखिएकाले राजनीतिमा पुनः सक्रिय भएको बताए ।

माओवादी जनयुद्धको स्मरण 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण पनि गरे । गौतमले प्रचण्डसँग द्वन्द्वकै क्रममा आफूले वार्ताको प्रस्ताव गर्दा उनी मौन भएपनि बाबुरामले संसदीय राजनीति नमान्ने भन्दै सुरुमा विरोध गरेको बताएका हुन् ।

‘प्रचण्डजीले हामी हार्ने र जित्नेको अवस्थामा पुग्यौँ भने यस्तो अवस्थामा तपाईँले वार्ता गर्नुपर्छ । शक्ति सुदृढ गर्नुपर्छ भनेर यो विषय पहिलो पटक राखेँ’, गौतमले स्मरण गरे, ‘प्रचण्डजीसँग बाबुराम भट्टराई, मोहन वैद्य पनि हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । मैले प्रताव गर्दा बाबुराम भट्टराईले जुन संसदीय सरकारको विरुद्ध हामीले क्रान्ति सुरु गर्यौँ र जब ५ हजार जनाको बलिदान भइसकेको छ । आज तपाईँले यस्तो प्रस्ताव राख्नुहुन्छ ? भनेर भन्नुभाथ्यो ।’

तर आफूले त्यसबेला साँच्चै सुरक्षित अवतरण चाहने हो भने वार्ता नै गर्नुपर्छ भनेर अडान लिएको उनले स्मरण गरे । आफ्नो सुझावपछि माओवादीले वार्ताको नीति अख्तियार गरेको र पछि जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउन सकेको उनको भनाइ थियो ।

सांगठनिक संरचना कस्तो ?

पार्टी घोषणा कार्यक्रममा पार्टीको सांगठनिक संरचनाका विषयमा पनि जानकारी दिइयो । जानकारी अनुसार संयोजकमा गौतम छन् । हाल पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्नेगरी सदस्य राखिने गौतमले जानकारी दिए ।

गौतमले पार्टी बहुपदीय प्रणालीमा जाने पनि स्पष्ट गरे । तद्नुरुप एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने गौतमको भनाइ छ । पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ भने त्यसका लागि ३ महिने अभियान सञ्चालन गर्ने जानकारी दिइयो । एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने गौतमको भनाइ छ । त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने जानकारी गराइएको छ ।

यस्तै दैनिक कार्यसम्पादनका लागि आवश्यक संख्यामा एक सचिवालय रहने छ भने अन्य पार्टीहरूसँग एकता सम्वादका लागि पार्टी संयोजक गौतमको संयोजकत्वमा सचिवालयका सदस्यहरु सम्मिलित वार्ता टोली छिट्टै निर्माण गरिने जानकारी दिइएको छ । सचिवालयले नै पार्टीको आन्तरिक कार्यक्रम अन्तरगत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन, सामुदायिक संगठन र पेशागत संगठन निर्माण गर्ने जनाइएको छ । पार्टीको केन्द्रीय सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती बिष्ट र युवराज सफल रहने जानकारी दिइएको छ ।

पदलोलुप र परिवारवादको प्रश्नमा वामदेवले दिए प्रष्टीकरण

गौतमले आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको पनि बताएका छन् । पार्टी घोषणा समारोहमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै गौतमले आफूले पदमा बसिरहने तीव्र आकांक्षा पूरा गर्नका लागि पार्टी खोल्न नलागेको बताए । यस्तै परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाए पनि गलत प्रचार भएको जिकिर गरे । ‘दुबै आरोप सत्य होइन । पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबहिनी सबै जति छन्, मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन, कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

उनले आफू ७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा समाहित भएको भन्दै आज ७३ वर्ष हुँदा पनि कम्युनिस्ट आन्दोलनको विकासकै लागि लागेकाले पदलोलुपताको आरोप लगाइनु गलत भएको बताए । ‘म व्यक्तिगत इच्छा पूरा गर्न छाडेर कम्युनिस्ट आन्दोलनको विकासका लागि पूर्णकालीन भएर भूमिगत हिँडेको थिएँ’, उनले भने, ‘कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला नेता पैदा हुनुभएको छ । गण्डकीभन्दा पश्चिम मैले र जिम्मेवारीमा रहँदा नयाँ क्रान्तिकारी वा त्यसबेलाको नेकपा मालेको जग हालिएको थियो । मैले कुनै कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पूरा गर्न आफूलाई लगाएको छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप