बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेसले सक्यो जिल्ला अधिवेशन, विभाजनबाट जोगियो जसपा

सोमबार, ३० फागुन २०७८, २० : २८
सोमबार, ३० फागुन २०७८

 

आज मिति २०७८ साल फागुन महिनाको ३० गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१‍. जसपामा सबै विवाद मिल्यो
जनता समाजवादी पार्टी नेपालले असोज मसान्तभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको समापन बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको समायोजन र विधान अधिवेशनपछि महाधिवेशन गराउनेतिर लाग्ने जानकारी गराएका हुन् । उनले प्रतिनिधि र प्रदेशसभाको चुनावअघि नै पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने जानकारी गराए । त्यसैगरि, पार्टीको निर्णयलाई प्रभावकारी बनाउनका लागि तीन सदस्य मुख्यालय गठन गरिएको छ ।

२. स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।​

३. म्यादी प्रहरीको तलब ३० हजार माथि

स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । ​

४. सुदूरपश्चिम सरकारमा काँग्रेस

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको छ । कैलालीको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् । ​

५. काँग्रेसले सक्यो जिल्ला अधिवेशन

नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको काँग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो । आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै काँग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ ।​

६.  प्रमुख दलहरू पसे गाउँतिर

प्रमुख पार्टीहरूले स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका हुन् ।सत्ताको नेतृत्वको गरेको नेपाली काँग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ । यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चरणको प्रदेशस्तरीय प्रशिक्षण सकेको छ ।

७. जसपामा सबै विवाद मिल्यो

 निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले गर्ने खर्चको सिलिङ तोकेको छ । राजनीतिक दलहरु भने यो सिलिङप्रति सन्तुष्ट छैनन् । तथापि आयोगको निर्णय मान्न दलहरु बाध्य छन् । नेपालको निर्वाचन महंगो र भड्किलो भएको गुनासो स्वयं राजनीतिक दलहरुले नै गर्दै आएका छन् । तर, उनीहरु नै आयोगको सिलिङ कम भएको भन्दै सन्तुष्ट हुन सकेका छैनन् । तोकिएको सीमाभन्दा बढी खर्च गर्ने उम्मेदवारमाथि कारबाही नभएको भन्दै कतिपय राजनीतिक दलले निर्वाचन आयोगप्रति नै असन्तुष्टि जनाएका छन् ।​

८. बैंकहरुको कर्जा लगानी घट्यो​

यस साता बैंकिङ च्यानलमा थप २ अर्ब रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) थपिएको छ । अघिल्लो हप्ता अर्थात गत फागुन १३ गतेदेखि २० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्बले बढेकोमा पछिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्म थप २ अर्बले बढेको हो । ​

९. काठमाडौंमा खुर्सानीको धुलो छर्किएर लुटपाट

काठमाडौंको चुच्चेपाटीमा व्यापारीलाई खुर्सानीको धुलो छर्किएर लुटपाट भएको छ । सो कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।  पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । ​

१‍०. साउदी​का राजकुमार काठमाडौंमा

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिन औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।  निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानीले स्वागत गरेका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप