सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा पार्टीलाई प्रभावकारी बनाउने भूमिका खेल्न उपेन्द्रको निर्देशन

सोमबार, ३० फागुन २०७८, १८ : ०१
सोमबार, ३० फागुन २०७८

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सोमवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् ।

उनले प्रत्येक केन्द्रीय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष यादवले भने, ‘प्रत्येक केन्द्रीय सदस्यहरु एउटा पालिकामा, नगर, महानगरमा निर्वाचन अभियन्ताको रुपमा निर्वाचन अभियानलाई सञ्चालन गर्न संघीय परिषद्का साथीहरु, प्रदेशका साथीहरु, जिल्लाका साथीहरु, गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहमा काम गर्ने साथीहरुसँग समन्वय गरेर अभियान चलाऔँ । यसरी गयौँ भने मलाई के लाग्छ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौँ । आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपूर प्रयास गरौँ । यो दुई महिना वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्नेछौँ । त्यसपछि फेरि हामी नयाँ निर्णयहरु हुने नै छन् । चुनाव अघि आएको हुनाले र पार्टीलाई स्थापित गर्नको लागि स्थानीय निर्वाचन महत्वपूर्ण भएकोले यसलाई हामीले अधिक से अधिक पालिकामा, पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताए । उनले आजको बैठकमा नेताहरुले पार्टीको संगठनात्मक कुराहरुमा आफ्नो धारणा राखेको बताए । केन्द्रीय सदस्य थापाले आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जित दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको पनि बताए ।

केन्द्रीय सदस्य थापाले भने, ‘हिजो २९ गते जसपाको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले बनाएको निर्वाचन निर्देशिका र निर्वाचनमा जाँदा केन्द्रीय सदस्यले इलेक्शन फाइट गर्दा के–के गर्नुपर्छ ? भन्ने आचारसंहितादेखि लिएर निर्वाचन प्रक्रियामा होमिँदा अपनाउनुपर्ने सावधानी साथै निर्वाचन आयोगको निर्देशिकालाई कसरी पालन गर्ने ? र आगामी स्थानीय निर्वाचनमा अन्य राजनीतिक दलसँग कसरी तालमेल गर्ने भन्ने हकमा हामीले छलफल गरेका थियौँ र प्रस्ताव पारित गर्यौं । आजको दिन विशेष गरेर पार्टीको संगठनात्मक बहस गर्दै सबै ५०५ जना केन्द्रीय सदस्यहरुलाई स्थानीय निर्वाचनमा बकाइदा जिम्मेवारी दिने कार्य भइरहेको छ । आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रलाई आफ्नै केन्द्रीय कार्यसमितिको बैठकबाट तोकिएर निर्वाचनमा जाने निर्णय पार्टीले गरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप